म बलियो छु, मलाई त कोरोना लाग्दैन भन्ने भ्रम नपाल्न सुझाव

|

दमक : झापा जिल्लामा पहिलो पटक गएको वैशाख दोस्रो साता कोरोना संक्रमण देखिएको थियो। जिल्लामा पहिलो पटक पुष्टि भएका कोरोना संक्रमित दमक नगरपालिकाका थिए। त्यही दमकमा कातिक दोस्रो साता बित्दै गर्दा ५ सय भन्दा बढी संक्रमित देखा परिसकेका छन् भने २१ जना संक्रमितको मृत्यु पनि भइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरसमेत रहेको दमकमा समुदायस्तरमा तीव्ररूपमा कोरोना फैलिएपछि स्थानीय सरकारले पटक-पटक पूर्ण र आंशिक लकडाउन गरिसकेको छ। तर पनि कोरोना झनै फैलिइरहेको छ। यस अवस्थामा स्थानीय सरकार के गरिरहेको छ र आगामी योजना के छन् त? यसै सन्दर्भमा रहेर दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसँग थाहाकर्मी गोपाल झापालीले गरेको कुराकानी :

जिल्लामा पहिलो पटक दमकमा कोरोना संक्रमण देखिएको थियो। ६ महिना पुग्दा त संक्रमण जिल्लाकै उच्च अवस्था पुग्यो नि?

हो। हामी यो तथ्यबाट अलग छैनौं। तीनै तहका सरकारको समन्वय, स्थानीय सरकारको क्रियाशिलता र नगरबासीको प्रयासका बाबजुद पनि कोरोना फैलिइरहेको छ। अब यसको नियन्त्रणका लागि कुनै तहको सरकार, जनप्रतिनिधि वा कुनै एक क्षेत्रको मात्र प्रयासले सम्भव छैन। सकेसम्म जोगिनु, बच्नु र बचाउनु नै एक मात्र विकल्प देखियो।

नियन्त्रणका लागि स्थानीय सरकारले जति गर्नुपर्ने थियो, त्यति गर्न सकेन भन्ने गुनासो पनि छ नि?

गुनासो वा आरोप त जे पनि हुन सक्छ। तर, त्यो सरासर गलत कुरा मात्रै हो। हामीले समुदायस्तरमा कोरोना फैलिनुअघि नै क्वारेन्टाइन सञ्चालन गर्यौं। क्वारेन्टाइनलाई पनि सहज र सुविधायुक्त बनाउन महिलाका लागि अलग्गै व्यवस्था गर्यौं।

प्रारम्भिक चरणमा राहत वितरणको काम पनि भयो। जनचेतना अभिवृद्धिमा सिंगो समुदाय नै परिचालित भयो। संघीय सरकारले चैत ११ देखि लगाएको लकडाउन खुकुलो पारेपछि यहाँ पुनः कोरोना फैलियो। त्यस बेला नगरबासीकै आग्रमा केहि समय लकडाउन पनि गरियो।

तर, लकडाउनले मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नभएपछि त्यसलाई हटाइयो। अहिले फेरि संक्रमण उच्च भएपछि साँझ ४ बजेदेखि बिहान ७ बजेसम्मलाई लकडाउन गरिएको छ। जिल्ला प्रशासनलाई निषेधाज्ञाका लागि आग्रह गरियो। त्यसपछि प्रशासन पनि परिचालित भएको छ। जनजीवनलाई सहज बनाउनेतर्फ पनि हामी लागिरहेका छौं। केही गरिएन भन्ने कुरा त कसरी सही भयो र।

तर दिनभरि खुल्ला छोड्ने र साँझदेखि रातभरि निषेधाज्ञा गर्दा महामारी नियन्त्रणमा के सहयोग पुग्ला ?

अब पुरापुर समय ठप्प पारेर लकडाउन र निषेधाज्ञा गरेर मात्र पनि नहुने रहेछ। हामीले चैत ११ गतेदेखि नै यसको अभ्यास पनि गरेकै हो नि। तर साँझ र बिहानको समयमा अत्यावश्यक काम नपरे पनि हिँड्डुल गर्ने, बजार घुम्न निस्कने जस्ता कार्यले चाँहि जोखिम बढेको पाइयो।

कम्तीमा साँझ र बिहानको समयमा हुने अनावश्यक भिड रोक्न सकियो भने पनि केहि हदसम्म महामारी फैलिनबाट रोक्न सकिन्छ कि भनेर यो अभ्यास गरिएको हो।

फेरि अहिले चाडपर्वको समय पनि छ। साँझदेखि राति अबेरसम्म पनि हिँडडुल गर्ने, समूह बनाएर निस्कने जस्ता कार्य पनि हुने गर्छन्। त्यसैले जनजीवनलाई सकेसम्म न्यून असर पर्ने तर अनावश्यक चहलपहल हुन नदिने उद्देश्यले साँझदेखि बिहानसम्म लकडाउन गरिएको हो।

यहाँका उद्योगी, व्यवसायीहरूले त यस्तो अधुरो लकडाउनले महामारी रोक्दैन। बरु केही दिन ठप्पै पार्नुपर्छ भनेर सुझाव दिइरहेको पनि सुनियो नि?

सुझाव त धेरै प्रकारका आएका छन्। हामीले निजी क्षेत्रको साझा संस्था उद्योग वाणिज्य संघसँग पनि छलफल गरेका छौं। त्यहाँ पनि पूरै ठप्प पार्ने कि आंशिक मात्र गर्ने भन्ने दुवै ढंगका कुरा भए। हामीले सबै प्रकारका सुझाव लियौं र अधिक सुझावको संवोधन हुने गरी आंशिक समयलाई लकडाउन गरेका हौं।

अब आलोचनाको कुरा गर्नुहुन्छ भने त, पूरै समय लकडाउन गर्दा पनि के लकडाउन मात्र कोरोना नियन्त्रणको उपाय हो र, यसले त जनजीवनलाई झनै समस्यामा पार्छ भन्ने पनि आलोचना हुन्छ। केहि नगर्दा पनि केहि गरेन भन्ने गुनासो भई हाल्छ।

त्यसैले कसो गर्दा महामारी फैलिनबाट जोगाउन सकिन्छ र कसो गर्दा नागरिकलाई कमभन्दा कम समस्या पर्छ त्यो कुरा बुझेरनै जनप्रतिनिधी तथा सरकारहरुले निर्णय गर्नुपर्छ भन्ने लाग्छ। 

अहिले अन्य सरकारी मात्रै होइन निजी अस्पतालमा पनि उपचार पाउन सकिने अवस्था छैन। तर, दमकमा लामो समयको प्रतीक्षापछि मात्र कोभिड उपचार केन्द्र सञ्चालनमा आयो। किन यति ढिला?

केही ढिलो भएको त हो। तर, चाहेर ढिला भएको होइन। कोभिड अस्पताल तथा उपचार केन्द्र सञ्चालन सुरुमै स्थानीयस्तरमा गर्नुपर्छ भनिएन। प्रदेशस्तरमै सञ्चालनमा आए। प्रदेशस्तरबाट मात्र थेग्न नसकिएपछि स्थानीयस्तरमा पनि तयारी गर्न भनियो। यसले गर्दा पनि केही ढिला हुन पुगेको हो।

तर, हामीले हाम्रो क्षमताले भ्याएसम्म अक्सिजनको सुविधा, स्वास्थ्यकर्मी आदिको समेत व्यवस्था गर्नतर्फ लागेकाले केही समय लागेको हो। 

भर्खरै मात्र दमकको बेलडाँगीमा कोभिड उपचार केन्द्र सञ्चालनमा त आयो। तर, यसमा कस्ता सुविधा रहन्छन्? कस्तो प्रकारको बनाउनु भएको छ?

हामीले दमक २ को बेलडाँगीमा कोभिड उपचार केन्द्र सुरु गरेका हौं। भुटानी शरणार्थीहरूको रेखदेख तथा समन्वय गर्ने निकायको रूपमा रहेको शरणार्थी समन्वय इकाइको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको हो। यहाँ  अक्सिजनसहित  ३० बेडको प्रबन्ध गरिएको छ।

यस्तै, ४ बेडलाई थप सुविधायुक्त बनाइएको छ। यो दमकमै रहेको हाम्रो सरकारी अस्पताल  दमक अस्पतालअन्तर्गत रहनेछ। हाम्रो स्रोतसाधनले भ्याएसम्म र प्रदेश तथा संघीय सरकारबाट सहयोग प्राप्त भएसम्म निरन्तर स्तरवृद्धि गर्दै लैजाने हाम्रो लक्ष्य छ। 

यो त प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गृहनगर हो। तर, प्रधानमन्त्रीकै गृहनगरमा पनि कोरोना नियन्त्रण प्रभावकारी भएन भनेर आलोचना पनि भइरहेको छ नि?

कोरोना महामारीलाई हामीले मात्रै नियन्त्रण गर्न नसकेका होइनौँ नि। विश्वका शक्तिशाली राष्ट्रहरू पनि हायलकायल भइरहेका छन्। प्रधानमन्त्रीको गृहनगर भन्दैमा यहाँ महामारी नहुने होइन।

प्रधानमन्त्रीकै सचिवालयका धेरैजना संक्रमित हुनुभयो। संघीय राजधानी काठमाडौमा झनै संक्रमण उच्च छ। त्यसैले प्रधानमन्त्रीको कार्यालय, निवाश वा गृहनगर भएकै कारण छुट्टै केही हुने होइन। यहाँ हामी निरन्तर जुटिरहेका छौं।

संघीय सरकार, प्रदेश सरकार पनि जुटिरहेको छ। जिल्ला समन्वय समिति तथा अन्य दाताहरूले पनि सहयोग र समन्वय गरिरहनु भएको छ। त्यसैले यो महामारीका बेला प्रधानमन्त्रीको क्षेत्र वा गृहनगर भनेर जोडिरहनुपर्छ भन्ने लाग्दैन। 

तपाई आफैँ पनि संक्रमित हुनुभयो। श्रीमती र परिवारका अन्य सदस्यहरूलाई पनि संक्रमण देखियो। कसरी तपाईं र तपाईंको परिवारसम्म संक्रमण पुग्यो? केही अनुमान गर्नु भएको छ?

म ठ्याक्कै त भन्न सक्दिनँ। म सावधानीपूर्वकनै मेरो नियमित काममा खटिने गरेको थिएँ। तर मैले दिनभरि धेरै मानिसहरुसँग भेट्नैपर्छ, कुरा गर्नैपर्छ। मसँग कुराकानीका क्रममा नजिक भएका व्यक्तिहरुलाई संक्रमण भएको सुन्दा म पनि झसंग हुन्थेँ।

त्यही क्रममा मलाई पनि लक्षणहरु देखिए र परीक्षण गराउँदा संक्रमण पुष्टि भयो। सायद मैले नै मेरो परिवारका अन्य सदस्यसम्म संक्रमण पुर्‍याएँ होला भन्ने लाग्छ। 

तपाईंहरू दम्पती नै लामो समय अस्पताल बस्नुपर्‍यो। तपाई आफैँलाई चाँहि स्वास्थ्यमा कत्तिको जटिलताहरु देखिए?

सुरुमा मलाई सामान्य लक्षणहरु देखिए। घाँटी दुख्ने, जिउ दुख्ने, ज्वरो आउने लगायतका समस्या भए। तर मेरो श्रीमतीलाई अलिक बढी जटिलता देखापर्‍यो। उनलाई केही दिन ओछ्यानमै खाना तथा औषधी खुवाउनुपर्ने अवस्था पनि आयो। तर, दुवैजनालाई एकैपटक संक्रमण देखिएकाले अस्पतालमा सँगै रहँदा मनोबल गिर्न पाएन। उपचारमा रहँदा मलाई उनको साथ र उनलाई मेरो साथ रहेको भान पनि भयो। जसले गर्दा पनि आत्मबल गिर्न पाएन। 

नगरवासीलाई तपाईंको के सुझाव छ?

जसरी हामी निरन्तर रूपमा यो विश्वव्यापी महामारीसँग जुध्दै आएका छौं, अहिले नै ढुक्क हुने बेला भएको छैन। दैनिक जीवनयापन, जीवनशैली, गुजरादेखि विकास निर्माणसम्ममा पनि यसले प्रभाव पारेको छ। तर, यसको कुनै खास निदानको उपाय नआएकाले हामीले सजगता अपनाउनु, सुरक्षाका उपाय अवलम्बन गर्नु बाहेक अरु केहि छैन पनि।

तीनै तहका सरकार यसको नियन्त्रणमा लगातार जुटिरहेका छन्। त्यसैले अनावश्यक भिडभाड नगरौं, खानपानमा सजगता अपनाऔं। म बलियो छु, मलाई त कोरोना लाग्दैन, लागि हाले पनि म पचाइदिन सक्छु भन्ने भ्रम कसैले नपालौं। म आँफै पनि यसको भुक्तभोगी हुँ। समग्रतामा भन्नु पर्दा हामी सबै एकजुट भएर यो महामारीलाई परास्त गरौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.