पटक-पटक म्याद थप्दा ठेकेदारलाई फाइदा, स्थानीयलाई सकस

|

काठमाडौं : कतै सडकका बीच भागमा गिटी थुपारिएका छन् त कतै माटोको पहाड लगाइएको छ। ढलका खाल्डा ह्वाङ्‌गै छन्‌। अहिले पानी पर्ने मौसम होइन, तैपनि पानी जमेका खाडलका कारण सडक पोखरीजस्तै देखिन्छ। 

जोरपाटी-सुन्दरीजल सडक टेक्नेले अहिले यस्तै-यस्तै दृश्य देख्नुपर्छ। जोरपाटी-सुन्दरीजल सडकको ७ किलोमिटर निर्माणका लागि आशिष/सिएम जेभीसँग २०७३ सालमै २०७५ साल असोज महिनामा काम सक्ने गरी करिब ५४ करोड लागतमा ठेक्का सम्झौता भएको थियो।

तर, सम्झौता मिति सकिएको दुई वर्ष बित्दा पनि कामले गति लिन सकेको छैन। सडक अस्तव्यस्त हुँदा  सवारीसाधन जाम हुने समस्या दिनहुँ बढ्दैछ।

सास्तीमाथि सास्ती

तालुक निकाय र ठेकेदारको साँठगाँठका कारण समयमै सडक निर्माण सम्पन्न नहुँदाको मार स्थानीयले नै बढी खेपिरहेका छन्‌।

​गोकर्ण अत्तरखेलका स्थानीय राम भण्डारी भन्छन्‌, ‘निर्माण गर्न भन्दै पाँच वर्षदेखि सडक अस्तव्यस्त पारेको छ, कहिल्यै सडकको काम सकिँदैन, वर्षातको बेला भेल घरभित्रै पस्छ,’ उनले थपे, ‘सडक विस्तारका लागि सडकमा गिटी थुपारिएको दुई महिनाभन्दा बढी भैसक्यो। तर, अहिलेसम्म कालोपत्रे (पीच) गरिएको छैन। सडक बीचमै यसरी निर्माण सामग्री थुपारिँदा एक घण्टासम्म सवारी जाम हुन थालेको छ।’

अहिले पनि सडकका विभिन्न ठाउँमा पानी चुहिएकाले सडक हिलाम्मे र पोखरी बनेको, तर मर्मतमा कुनै निकायले चासो नदेखाएको उनी बताउँछन्‌।

चैतभित्र कालोपत्रे हुन्छ

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले अहिले तीव्र गतिमा काम भैरहेको जानकारी दिँदै चैत महिनाभित्रमा जोरपाटी-सुन्दरीजल सडक कालोपत्रे गरिने बताए।

​उनले भने, ‘अहिले सडक रेखांकन,ढल हाल्ने काम भैरहेको छ। सडक रेखाङ्कनको काम भैसकेको ठाउँमा सडक कालोपत्रेका लागि बेस हालिसकेका छौँ। ८० प्रतिशत काम सम्पन्न भएको छ। चैतसम्ममा सबै काम सकिन्छ।’

घरको मुआब्जाका कारण समयमा सडक बन्न नसकेको उनको भनाई छ। उनका अनुसार अहिले पनि स्थानीयले मुआब्जा पाएका छैनन्। तर पनि उनीहरूकै स्वीकृति र स्वेच्छाले धमाधम सडक विस्तारको काम भैरहेको छ।

वर्षौंदेखी अलपत्र बनेको सडक जोरपाटी-सन्दरीजल खण्डमात्रै होइन। उपत्यकाका चक्रपथ बाहिर जोरपाटी-साँखु सडक, इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक, कर्मनाशा खोला-हरिसिद्धी-गोदावरी कुण्डलगायत अन्य सडक पनि अस्तव्यस्त पारिएको छ। 

जोरपाटी-साँखु सडकको यो हालत

जोरपाटी-साँखु सडक निर्माण गर्ने आश्वासन पनि एकादेशको कथा नै बन्न लागेको छ। सडक विस्तार योजनामध्ये यो सडकको हालतले पनि धेरै कुख्याती कमाएको छ। तालुक निकायका अधिकारीहरू र ठेकेदार यसको कलंक बोक्न तयार छन्‌, तर सडक निर्माण गर्न कहिल्यै तात्दैनन्‌।

२०७५ साउन २४ मा चाबहिल-साँखु सडक निरीक्षणमा पुगेका पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ १२ गतेपछि सडकमा खाल्डा नदेखिने बताएका थिए। 

निरीक्षणकै बेला मन्त्री महासेठले तत्कालका लागि भने सडकका खाल्डा पुर्न उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीलाई निर्देशन दिएका थिए। तर, निर्देशन र मन्त्रीको प्रतिबद्धता कार्यान्वयन हुन सकेन।

१२ किलोमिटर लम्बाइ रहेको सो सडक चौडा विस्तार गरेर चार लेन फराकिलो बनाउने र सडकका दुवैतर्फ फुटपाथ र दुर्-दुई मिटर अपांगमैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउनको लागि २०७२ सालमै सम्झौता भएको थियो। सडक विस्तार आयोजनाका अनुसार एक अर्ब ७५ करोड रूपैयाँ लगानीमा यो काम गर्ने सम्झौता भएको छ।

सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु/च्याङमिला/खानी जेभी, बज्रगुरु/बिरुवा/खानी जेभी र बिटी/सुनकोसी/वर्ल्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।

पछि लामा/ समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ। ठेक्का सम्झौता अनुसार २०७४ सम्ममा सडक विस्तार काम सम्पन्न गर्नुपर्ने थियो। तर, सडक कालोपत्रे हुन सकेन। 

म्याद सकिएपनि उपत्यकाका सडक निर्माणमा पटक-पटक म्याद काम हुन्छ। तर , थप म्याद पाएको ठेकेदार कामै नगरी अर्कोपटक म्याद थप्ने चलखेलमा लाग्छ। सडक व्यवस्थित गर्नतर्फ इमान्दारीपर्वक काम हुने गरेको छैन।

सडक अस्तव्यस्त बन्नुको मुख्य कारक नै राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्नु रहेको निगरानीकर्ता निकायका अधिकारीहरू बताउँछन्‌। सरकारले बेलैमा काम नगर्ने ठेकेदारलाई कारबाही गरेको भए अहिले आम नागरिकले सुरक्षितसाथ सडकमा यात्रा गर्न पाइरहेका हुन्थे भने शररी सौन्दर्य पनि कायम हुन्थ्यो। 

शंखरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङका अनुसार जोरपाटी-साँखु सडक अन्तर्गतको इन्द्रायणी, ब्रम्हखेल लगायत ठाउँको करिब चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन। 

घरधनी पनि बाधक

प्रवक्ता तामाङले सडक विस्तारका लागि घरधनीले संरचना हटाउन नदिँदा समयमा काम सम्पन्न हुन नसकेको बताए‌। उनले भने, ‘स्थानीयले घरटहरा भत्काउन नदिँदा समयमा काम हुन सकेन। अहिले फेरी म्याद थपिएको छ। बाँकी काम आगामी बैशाखसम्ममा सकिन्छ।’ 

इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक

इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक विस्तारका लागि तीन चरण गरी ठेक्का सम्झौता भएको छ। पहिलो करिब ३ किलोमिटर सडक निर्माणका लागि २०७७ जेठ २० गते नै सम्पन्न गर्ने गरी २७ करोड ३ लाख ठेक्का रकममा २०७३ जेठ २६ गते डाँफे/समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। तर, ठेक्का म्याद सकिँदा पनि काम हुन सकेन।

दोस्रो चरणको काम गर्न करिब ३ किलोमिटर सडक निर्माणका लागि २०७६ चैत २९ गते नै सम्पन्न गर्नेगरी ११ करोड ४८ लाख ठेक्का रकममा २०७४ असार ३० गते आशिष/सि.एम./ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो। समयमा काम हुन नसकेपछि फेरी म्याद थप गर्ने प्रकृयामा छ।

तेस्रो चरणको चार किमी सडक निर्माणका लागि २०७७ पुस २८ गते सम्पन्न गर्नेगरी ५४ करोड ५० लाख रुपैयाँमा २०७४ असार ३० गते लामा/समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो। काम नभएपछि यसको पनि म्याद थप गर्ने प्रकृयामा छ। 

नागरिकलाई धुलो र हिलो उपहार

समयमा लुभु सडक निर्माण हुन नसक्दा स्थानीय मारमा परेका छन्। लुभुका स्थानीय दिनेश महर्जनले धुलोका कारण स्वास्थ्यमा समेत असर परेको बताए।

‘सडक नबनेको पाँच वर्ष हुन लागिसक्यो,’ उनले भने, ‘जताततै सडक निर्माणका संरचना राखिएका छन्‌। धुलोले बस्न सकिने अवस्था नै छैन। दैनिकी नै बिथोलिन्छ।’ उनले तत्काल सडक कालोपत्रे गर्नुपर्ने माग राखे। 

सडक विस्तार आयोजनाका अनुसार उक्त सडक खण्डको पहिलो चरणको भौतिक प्रगति विवरण ६५ प्रतिशत छ। दोस्रो चरणको ९५ प्रतिशत र तेस्रो चरणको भौतिक प्रगति ८० प्रतिशत छ। 

मुआब्जा विवादले काममा ढिलाई 

सडक विस्तार आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी अशोक यादवले घरको मुआब्जा विवादका कारणले इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडकको काम समयमा सम्पन्न हुन नसकेको बताए।

उनले भने, ‘सर्वाेच्व अदालतको फैसला,अन्तरिम आदेशले मुआब्जा दिएर मात्र घर भत्काउनु भनेपछि स्थानीयले घर भत्काउन दिएनन्। त्यसैले काम ढिलाई भयो।’ उनका अनुसार अहिले स्थानीय निकायसँग समन्वय गरी मन्त्रिपरिषदको निर्णयअनुसार उपलब्ध चौडाइमा काम भैरहेको छ।

‘कोभिड-१९ का कारणले पनि कामदार व्यवस्थापन गर्न नसक्दा काम ढिलाई भयो,’ उनले भने, ‘सडक विस्तारका लागि आवश्यक पर्ने ढुंगा, गिटी र बालुवाको समयमा आपूर्ति नहुनाले पनि काममा समस्या भयो।’

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले अहिले धमाधम सडक विस्तारको काम गरिरहेको जानकारी दिए। उनले भने, ‘अहिले सडक कालोपत्रे गर्न बेस हाल्ने काम भैरहेको छ। पहिला मुआब्जाका कारणले काम रोकिएपनि अहिले स्थानीय सरकारको समन्वयमा काम भैरहेको छ।’

कर्मनाशा खोला-हरिसिद्धी-गोदावरी कुण्ड सडक

यस सडकखण्ड हुँदै पर्यटकीय स्थल गोदावरी पुगिन्छ। तर, सडक बेहाल अवस्थामा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले यात्रामा सास्ती खेपिरहेका छन्‌।

यो सडकलाई पनि दुई चरणमा विभाजन गरेर विस्तार गर्ने ठेक्का सम्झौता भएको छ। पहिलो चरण अन्तर्गत कर्मनाशा खोला देखि करिब चार किलोमिटर सडक विस्तार गर्नको लागि आशिष/सि.एम.जेभीले ठेक्का पाएको छ।

२०७३ असार ३ गते नै २९ करोड ९ लाख ठेक्का रकममा २०७७ माघमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर, कामले गति लिन सकेको छैन। त्यसो त फेरी म्याद थप गर्ने प्रकृयामा छ।

त्यस्तै, दोस्रो चरणको करिब ३ किमी सडक निर्माणको लागि लामा/समानान्तर जेभीले ठेक्का पाएको छ। २०७४ असार ३० गते नै ३८ करोड ६ लाख ठेक्का रकममा २०७७ कात्तिकमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर,पनि काम सम्पन्न हुन अझै सकेन। यसको पनि म्याद थप गर्ने प्रकृयामा छ। 

सडक विस्तार आयोजनाका अनुसार पहिलो चरणको भौतिक प्रगति विवरण ३५ प्रतिशत छ भने, दोस्रो चरणको ५५ प्रतिशत मात्रै छ। कर्मनाशा खोला-हरिसिद्धी-गोदावरी कुण्ड सडक र इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक २०७८ को असार मसान्तसम्ममा कार्य सम्पन्न गर्ने सडक विस्तार आयोजनाले लक्ष्य लिएको छ।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले पनि सोही समयमा काम सम्पन्न गर्ने गरी स्थानीयको समन्वयमा तिब्र गतिमा काम भैरहेको जानकारी दिए। 

सडक विभाग भन्छ : समयमै  कालोपत्रे गर्न निर्देशन दिएका छौं

उपत्यकाभित्र जताततैका सडक लथालिङ्ग हुँदा यसको सबै दोष सडक विभागले बोकिरहेको हुन्छ। यता, सडक विभागका अधिकारीहरू चाहिँ समयमै काम सक्न आफूहरूले निर्देशन दिइरहेको बताउने गर्छन्‌।

विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता रमेश कुमार सिंहले भने‌, ‘सबै सडक हामीले मात्रै मर्मत र विस्तार गर्ने होइन। अहिले त संघीय र स्थानीय सरकारले बनाउनुपर्छ। विभाग मातहतका सडक भने हामी नै बनाउँछौँ। विभागले उपत्यका र बाहिर जिल्लाका ठेकेदार र सम्बन्धित निकायलाई समयमा सडक बनाउनु भनी निर्देशन दिइरहेका हुन्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.