सडक पार गर्न खोज्दा चार वर्षभित्र २५६ पैदल यात्रुको मृत्यु, ४ हजार २१० घाइते

|

काठमाडौं : नयाँ बानेश्वर थापागाउँका मनमाया चौलागाईं शङ्खमूलको एक होटलमा काम गर्छिन्। उनी पैदल यात्रा गर्दै नयाँ बानेश्वर चोक पार गरेर काम गर्न जान्छिन।

नयाँ बानेश्वर चोकमा सवारी जाम अत्यधिक हुन्छ। कारण कम्तीमा ३ मिनेट उभिनुपर्छ। दुवैतिरको सवारीसाधन रोकिएपछि बल्ल उनी चोक पार गर्छिन्। यो उनको रहर होइन, बाध्यता हो। किनकी, बिना अवरोध सडक पार गर्न त्यहाँ आकाशेपुल हालिएको छैन। निर्माणाधिन आकाशेपुल कहिले बनिसक्छ : थाहा छैन।

बिहिबार सडक पार गर्न भीडमा उभिइरहेकी मनमायाले थाहाखबरसँग भनिन्‌, ‘पैदल यात्रुका लागि आकाशेपुल नहुँदा यसैगरी रोकिनुपर्छ, ट्राफिकले जानु भनेपछि बल्ल पार गर्नुपर्छ।’

उनी होटलमा काम गर्न दिउँसोको १२ बजे पुग्नुपर्छ। तर, कहिलेकाही यस्तै समस्या कारण उनी ढिला पुग्छिन्‌। ‘आकाशेपुल निर्माण थालेको तीन वर्ष हुन लागिसक्यो, खै अहिलेसम्म पिलरमात्रै ठड्याइएको छ,’ उनले भनिन्‌, ‘पुल नहुँदा ज्यान नै जोखिममा पारेर जेब्राक्रसबाट सडक पार गर्नुपर्छ। सवारीसाधन हुर्रिएर आउँछन्‌, सडक काट्दै गर्दा पारी पुग्दासम्म म ज्यूँदै हुन्छु कि हुन्‍न भन्ने सोच्नुपर्छ।’

बानेश्वरमा आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार ४ करोड रुपैयाँ निर्माण थालिएको यो आकाशेपुल २०७६ पुस मसान्तसम्ममा ठडिइसक्नुपर्ने हो।

तर, म्याद सकिँदा पनि ठेकेदारले अहिलेसम्म बल्लतल्ल पिलर मात्रै ठड्याएको छ। निर्माणकार्य ठप्‍प छ। पैदल यात्रुको सकस कायमै छ।

यता, डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सोम्या आनन्द भने फिल्डमा काम भैरहेको जवाफ दिन्छिन्‌। आकाशेपुल निर्माणबारे जिज्ञासा राख्दा उनले भनिन्‌,‘काम रोकिएको छैन, पु माथि स्टीलको संरचना हाल्नुपर्ने भएकोले फ्याक्ट्रीमा बनाइँदैछ।’

पुलको भौतिक प्रगति विवरण ८० प्रतिशत पुगिसकेको जानकारी दिँदै उनले पिलर हालिसकेकाले यही महिनाभित्र काम सम्पन्न हुने दाबी गरिन्‌। उनका अनुसार ट्रष्टमात्रै हालेर पुल बनाइने छ।

कोटेश्वरमा जग समेत खनिएन

डिभिजन कार्यालय काठमाडौंले बढी भीडभाड हुने कोटेश्वर चोकमा पनि आकाशेपुल बनाउने योजना अघि सारेको थियो। सोही अनुरूप पुल निर्माण गर्न प्राकृतिक/पवन/जेभीले नै २०७५ साल चैत्र २५ गते ठेक्का पाएको थियो। 

ठेक्का सम्झौता रकम दुई करोड ८९ लाख रुपैयाँ छ। सम्झौता अनुसार २०७६ पुस मसान्तसम्ममा पुल ठड्याइ सक्नुपर्ने थियो। तर, काम भएन। २०७७ पुस मसान्तभित्र काम सक्नेगरी म्याद थपिएको छ। तर, यो म्याद पनि सकिँदा समेत पुल निर्माण निम्ति आवश्यक जग समेत खनिएको छैन।

डिभिजन कार्यालय भन्छ : स्थानीयले जग्गा दिएनन्‌

डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर आनन्द भन्छिन्, ‘पुल निर्माण ठेक्का लागेपनि स्थानीयले बनाउन नदिएपछि विवाद उत्पन्न भयो, त्यसैले त्यहाँ काम थाल्न सकिएन।’

उनका अनुसार स्थानीयले बनाउन नदिएपछि बबरमहल वा जुन भीडभाड हुने ठाउँ छ, त्यहाँ पुल बनाउने योजना छ। ‘कोटेश्वरमा बनाउने पुल अब बबरमहल वा कुन ठाउँमा बनाउने भन्नेबारे छलफल भैरहेको छ, टुंगो लागेपछि काम थाल्छौँ।’

जोरपाटीमा पनि योजना बन्यो, पुल बनेन

गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक योजना तथा कार्यक्रममा जोरपाटी चोकमा आकाशेपुल निमार्ण गर्ने योजना समेटेको थियो।

आकाशेपुल बनाउन दुई करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको थियो। गत आर्थिक वर्षभित्रै आकाशेपुल बनाउने भनेपनि त्यो कागजी योजनामै सीमित भएको छ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि जोरपाटी चोकको आकाशेपुल निर्माणलाई तीव्रता दिने योजना अघि सारेको छ। तर, अहिलेसम्म काम थालिएको छैन।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले पुल निर्माण गर्न डीपीआर तयार भैसकेको जानकारी दिँदै छिट्टै काम थाल्ने बताए।

चार वर्षमा २५६ पैदलयात्रुको मृत्यु, ४ हजार २१० जना घाइते

उपत्यकाको सडकमा अतिआवश्यक स्थानमा पनि आकाशेपुल नहुँदा पैदल यात्रुले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको तथ्यांक केलाउँदा चार वर्षको अवधिमा २ सय ५६ जना पैदल यात्रुको मृत्यु भएको छ भने ४ हजार २ सय १० जना घाइते भएका छन्।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६८, २०७५/०७६ मा ९९ जना, २०७६/०७७ मा ५६, २०७७/७८ को पुस १९ गतेसम्ममा ३३ जना पैदल यात्रुको मृत्यु भएको छ। 

आकाशेपुल नहुनु नै मुख्य कारण

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी उपत्यकाका भीडभाड हुने मुख्य चोकमा आकाशेपुल नभएका कारण पैदल यात्रुको ज्यान जानेको गरेको बताउँछन्।

‘भीडभाड हुने ठाउँमा आकाशेपुल छैन,’ उनले भने, ‘पुल पनि टाढा बनाइएको छ, भएका पुलबाट पनि पैदल यात्रु पार गर्दैनन्, हतारमा बाटो काट्दा ज्यान जाने गरेको छ।’

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न नसकेको उनले स्वीकारे। ‘पहिला जथाभावी बाटो काट्नेलाई कारबाही गरिएको थियो, पछि जति चेतना दिएपनि नमानेकाले कारबाही गर्न सकेनौँ,’ उनले भने।

प्रवक्ता अधिकारीका अनुसार उपत्यकाभित्र अहिले ४७ वटा आकाशेपुल छन्। उपत्यकाका मुख्य–मुख्य चोकमा आकाशेपुल भएमा पैदल यात्रुको ज्यान जोगिने उनी बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.