ताराखोलामा योजनावद्ध विकासको आधार तयार हुँदैछ

|

बागलुङ :  जिल्लाका १० स्थानीय तहमध्ये ताराखोला गाउँपालिका संस्कृति, परम्परा, उत्पादन र आय स्रोत बिल्कुलै फरक छ। आलु, भाँगो, निगालो र ढुंगाले यहाँको परिचय बोल्छन्।

सदरमुकाम बागलुङ बजारबाट औसतमा नजिक भएर पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा यो गाउँपालिकामा धेरै कामहरू गर्नुपर्ने अवस्थाका छन्। नयाँ संरचनासँगै जनप्रतिनिधि निर्वाचित भएर आएको करिब साढे तीन वर्ष अवधि बितेको छ।

यो बीचमा ताराखोलाले कतिपय जिल्लामा नै चर्चा कमाउने काम गरेको छ भने कतिपय काम आँटेर पनि हुन सकिरहेका छैनन्। ताराखोलाको विकास बाधक के हुन्? यी र यस्तै विविध विषयमा थाहाकर्मी तारानाथ आचार्यले गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरसँग गरेको कुराकानीको सम्पादित अंश :

साढे तीन वर्षको अवधि कस्तो रह्यो?

देशमा संघीय शासन प्रणालीमा तीन तहको सरकारमध्य स्थानीय तहको सरकार नेतृत्व गर्ने पहिलो अवसर प्राप्त भयो। कृषि तथा पशुपालनमा व्यावसायिकता प्रवर्द्धन गरिएको छ। जनतालाई दैनिक जीवनयापनमा सहयोग गर्ने साना सडक, सीपमूलक तालिम, खानेपानी सिँचाइ इत्यादि आयोजना कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

समग्रमा गाउँपालिकामा स्थानीय सरकारको नजिकबाट अनुभूति हुनेगरी सेवा प्रवाह र विकास कामहरू गरिएको छ। सोही अनुसारका नीतिगत, संस्थागत पूर्वाधार तयार गरिएको छ।

के जनतासामु गर्नुभएका प्रतिवद्धताहरू पूरा भए?

चुनावी नारा तथा राजनीतिक घोषणापत्रमा विकासका तथा समृद्धिका लागि जुन खालका प्रतिवद्धताहरू जनाएका थियौँ। राज्यको सीमित स्रोत र साधनको बीचबाट त्यसलाई पूरा गर्ने आधारहरू तयार गरेका छौँ। जनताका आशा तथा अपेक्षाहरू धेरै छन्।  ती पूरा गर्ने स्रोत साधन सीमित भएकाले त्यसलाई पूरा गर्नको लागि तत्कालीन तथा दीर्घकालीन योजनाहरू निर्माण गरेर पूरा गर्नको लागि प्रतिबद्ध भएर निरन्तर लागिरहेका छौँ। हाम्रा प्रतिबद्धता कतै पनि खेर जान दिने छैनौँ।

गाउँपालिकाको स्रोत विकासको लागि के-के काम गर्नुभयो?

स्थानीय सरकार सञ्चालन ऐनले तोकेबमोजिम करका दायराहरूलाई फराकिलो बनाई आन्तरिक आयलाई बढाउन व्यवस्थित गर्नको लागि गाईघाट झरनालाई पर्यटकीयस्थलको रुपमा विकास गरी पर्यटन शुल्क उठाउने, गाउँपालिका क्षेत्रमा सञ्चालित हाइड्रोपावर सञ्चालनको लागि सहजीकरण गर्ने काम गरेका छौँ।

 त्यस्तै, गाउँपालिकाबाट अन्यत्र निकासी हुने वस्तुलाई निकासी करको दायरामा ल्याउने, व्यवसाय करको दायरा बढाउने होमस्टे सञ्चालन गर्ने, पालिका क्षेत्रमा तामाखानी लगायतका अन्य खानीजन्य वस्तुको उत्पादनको वातावरण निर्माण गर्ने, औद्योगिक ग्राम निर्माण प्रक्रिया अगाडि बढाएका छौँ।

वातारण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र सार्वजनिक, नीजि साझेदारी ऐन, २०७७ सभाबाट स्वीकृत भई नीजि क्षेत्रसँगको साझेदारीमा गाउँपालिकाको दीर्घकालीन स्रोतको नीतिगत पूर्वाधार तयार गरिएको छ। संविधानले तोकेका कर, दस्तुरहरूको कार्यान्वयन गरिएको छ।

रोजगार सृजना हुने कुनै कार्य भए त?

गाउँपालिकामा कृषि आधुनिकिकरण तथा पशु व्यवसायको माध्यमबाट कृषि व्यवसाय प्रवर्द्धन ऐन स्वीकृत गरी विभिन्न पकेटक्षेत्र निर्माण गरी प्रत्यक्ष आयमुलक कामको माध्यमबाट रोजगारीको पर्याप्त अवसर सिर्जना गरिएको छ। जसमा धेरै कृषक आबद्ध हुनुहुन्छ। औद्योगिक ग्राम निर्माण कार्यको थालनी भएको छ।

स्लेट ढुङ्गा खानी, तथा अन्य खानीहरूलाई व्यवस्थित गरि कानुनको दायरामा ल्याई रोजगारी सृजना गर्ने कार्य भइरहेको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ५ वटा होमस्टे स्थापना भई सञ्चालनमा रहेका र यसै आर्थिक वर्षदेखि एकिकृत नमुना कृषि फर्म, पशुपालन, करिव ३००० ओखरका बिरुवा रोप्ने कार्यक्रम रहेको छ।

प्रत्येक वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामुदायिक आयोजनाहरू सञ्चालन गरी युवाहरूलाई १०० दिनको रोजगारी प्रत्याभूति गरिएको छ। गा.पा. क्षेत्रभित्र रहेका जडिबुटीहरूको पहिचान गरी प्रशोधन तथा बिक्री गर्ने कार्यक्रमको लागि यसै आ.व मा बजेट विनियोजन गरिएको छ। माथि उल्लेखित कार्यक्रमहरूबाट केही युवाहरूले तत्काल रोजगारी प्राप्त गरेका र निकट भविष्यमा नै पर्याप्त रोजगारी सृजना गर्ने मजबुद पूर्वाधार तयार गरिएको छ।

गाउँको पहिचानसँग जोडिएका क्षेत्र कुन–कुन हुन्? सो क्षेत्रको विकासका लागि के गर्नुभयो?

ताराखोला धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपमा अलग पहिचान भएको गाउँपालिका हो। गा.पा क्षेत्रमा मगर बस्तीको बाहुल्यता रहेको र प्रत्येक वडामा फरक-फरक किसिमको चाडपर्व, मेला, धार्मिक संस्कार आयोजना गर्ने प्रचलन रहेको छ।

गाईघाट झरनाको दृश्यवलोकन गर्न सकिने अवस्था छ। करिब ३५०० मि. उचाइमा रहको डुडेलेक  र ३२०० मि. उचाइमा रहेको घुम्टेलगायत कालीलेक लगायतका दृश्यावलोकन गर्न सकिने पहाडहरू रहेका छन्। यहाँ उत्पादन हुने भाँगो, प्राङ्गारिक आलु, स्लेट ढुङ्गा, जडिबुटी, जलविद्युत इत्यादी यहाँका पहिचानका क्षेत्रहरू हुन्।

डुडेलेकमा साइकल लेनको निर्माण गाईघाट झरनामा अत्याधुनिक सुविधासहितको रेष्टुरेन्ट, पार्क निर्माण स्विमिङ पुल, ज्याकुजी, कालीलेकमा पदमार्ग र होमस्टेमा अनुदान तथा घुम्टे पर्यटन गुरुयोजना निर्माण, जडिबुटी प्रशोधन र आलुजोन कार्यक्रम सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सञ्चालनलगायत पूर्वाधार निर्माण गापाले नीतिगत रुपमा र कार्यक्रम गत रुपमा लगानी गरेको छ।

वैदेशिक रोजगारीमा अधिकांश युवा यो गाउँपालिकाबाट बाहिर छन्। उनीहरूको विप्रेषण सदुपयोग गर्ने केही नीति छ?

वैदेशिक रेमिट्यान्सहलाई संकलन गरी पर्यटन, कृषि, जलविद्युत् र उद्योग क्षेत्रमा लगानी गर्ने वातावरण निर्माणको लागि नीतिगत रूपमा व्यवस्था गरिएको छ। साथै सार्वजनिक नीजि साझेदारीमा पर्यटन, उद्योग र कृषि क्षेत्रमा लगानी गरी विप्रेष्ण सुदुपयोग गर्ने योजना रहेको छ। विदेशमा रहेका दाजुभाइ दिदीबहीहरूसँग छलफल भइसेकेको छ। त्यसको लागि यो आर्थिक वर्षमा लगानी सम्मेलन आयोजना गर्ने उद्देश्य रहेको छ।

गाउँपालिकाले बनाउन सक्ने कानुन निर्माणमा किन ढिलाइ?

गाउँपालिकाको लागि आवश्यक पर्ने ३० वटाभन्दा बढी कानुनहरू बनिसकेका छन् र काम गर्दै जाँदा आवश्यक देखिएका कानुनहरू गाउँसभामा विधेयक प्रस्तुत गरी कानुनहरू बनाइ अगाडि बढ्ने गरिएको छ।

अहिले गाउँपालिकाको अवस्था के हो? सडक, खानेपानी, सिँचाई, पूर्वाधार र कृषि तथा पर्यटनमा लगानी गर्न सक्नुभएन भन्ने छ नि?

भौतिक पूर्वाधार विकासमा प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको छ। वडा-४ को वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वडा-१ र ३ को ठेक्का प्रक्रियाको लागि तयारी भइरहेको छ। बहुउद्देश्य सभाहलको निर्माण तथा सम्पन्न भई सञ्चालनमा आइसकेको छ।

ताराखोला अस्पतालको शिलन्यास सम्पन्न भई निर्माणको लागि ठेक्का प्रक्रिया अगाडी बढेको छ। गाउँपालिकास्तरीय खेल मैदान निर्माणको लागि डिपिआर तयार भई क्रमागत रुपमा कार्य भइराखेको छ। गापाभित्रका अधिकांश विद्यालयको भवन निर्माण, घेराबारलगायतका कार्यहरू भएका छन्। स्वास्थ्य सेवातर्फ प्रत्येक स्वास्थ्य चौकीमा ल्याव सञ्चालनको लागि आवश्यक जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने, वर्थिङ सेन्टरमा बेवी वार्मर मेसिन जडानको तयारी गरिएको छ। यही आर्थिक वर्षको पुष महिनाबाट गापाको आफ्नै एम्बुलेन्स सञ्चालनको तयारी भइसकेको छ। 

प्रदेश सरकारको सहयोगमा ९ कि.मी. कालोपत्रेको काम भइरहेको छ। त्रीशुली घुम्टी माझखर्क खरिखोलाहुँदै अर्गलसम्मको १० कि.मी. सडक कालोपत्रे हुने गरी प्रदेश सरकारको सहयोगमा ठेक्काको काम अगाडि बढेको छ। वडा-१ को भुस्कात खानेपानी योजना र ३ नं. वडाको केही टोलबाहेक अरुमा खानेपानीका आयोनाहरू प्रदेश सरकारबाट सञ्चालन भइ सम्पन्न भइसकेको छन्। अर्गल सिँचाइ योजनाको ठेक्का प्रक्रिया अगाडी बढिसकेको छ भने कृषि र पर्यटन  क्षेत्रमा पर्याप्त मात्रामा लगानी भइ परिणाममूखी कार्य भइरहेको छन्। यद्यपि त्यसलाई परिचालन गर्ने जनशक्तिको अभाव देखिएको छ। 

कर्मकाण्डी कामबाट उपलब्धि देखिने काम कहिले गर्नुहुन्छ?

सुरुको आ.व मा हाम्रा योजना तथा कार्यक्रमहरू कर्मकाण्डी देखिन पुगेका होलान्। तर, दोस्रो वर्षबाट योजनाबद्ध विकासका लागि अभियान थालनी गर्यौ। त्यसको लागि हामीले भिलेज प्रोफाइल, आवधिक योजना निर्माण र मध्यमकालीन खर्च संरचना बनाइ वार्षिक नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाउने प्रयत्न गरेका छौँ।

अन्तमा अबको साढे एक वर्षमा ताराखोला गाउँपालिका कस्तो होला?

साढे एक वर्षको अन्तमा यस गा.पा को योजनावद्ध विकासको आधार तयार हुनेछ। करिब ४० किमी सडकको कालोपत्रेको कार्य सुरुवात हुनेछ। अन्य सडकहरू स्तरोन्नति हुनेछन्। खानेपानीको सुविधा सम्पूर्ण नागरिकहरूमा पुग्नेछ। प्रत्येक नागरिकको घरमा विद्युत सेवा पुगी उज्यालो गाउँपालिका हुनेछ। औद्योगिक ग्रामको स्थापनासँगै विभिन्न उद्योगहरूको स्थापनाको आधार तय हुनेछ।

तीन वर्षमा करिब १ अर्बभन्दा बढीको बजेट कार्यान्वयनमा ल्याइयो। गाउँपालिकामा आवश्यक नीतिगत पूर्वाधारहरू (वार्षिक बजेट, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आवश्यक कानूनहरू) तयार भएका छन्। गाउँपालिकामा महत्वपूर्ण पूर्वाधारहरू तयार हुदैछन्। औद्योगिक ग्राम, सभाहल, प्रशासनिक भवन, वडा कार्यालयमा जोड्ने सडक पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.