|

दैलेख : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका कारण दैलेखका स्थानीय सरकारले गाउँ तथा नगर सभाको टुङ्गो अझै लगाउन सकेका छैनन्‌। नीतिगत व्यवस्था अनुसार स्थानीय सरकारले माघ १५ सम्म गाउँ तथा नगर सभा गरि सक्नुपर्नेमा स्थानीय सरकारहरू अझै सुरसारमा लागेका छैनन्‌। 

'स्थानीय सरकारले प्रत्येक वर्षको माध १५ सम्म नगर तथा गाउँ सभाको हिउँदे अधिवेशन गरी सक्नु पर्ने नीतिगत व्यवस्था छ। तर (नेकपा)को केन्द्रीय राजनीति र आन्तरिक व्यवस्थापनका कारण नगर तथा गाउँ सभाको हिउँदे अधिवेशन कहिले गर्ने टुङ्गो नलागेको हो।’

स्थानीय सरकारले हिउँदे गाउँ तथा नगर सभा माघ १५ सम्म गरिसक्नुपर्ने नीतिगत व्यवस्था भएको जिल्ला समन्वय समिति दैलेखले जनाएको छ। समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले भने, 'स्थानीय सरकारले बर्खे गाउँसभा र हिउँदे गाउँसभा गर्नुपर्ने हुन्छ, तर अहिलेसम्म जिल्लाका कति वटा स्थानीय तहले सभा गरे भन्नेबारे जानकारी प्राप्त भएको छैन।' 

आफू केन्द्रित निर्णय र आन्तरिक कारणले समस्या

जनप्रतिनिधिले आफू केन्द्रित निर्णय गर्ने मनशायका कारण स्थानीय तहमा हुने अधिवेशन नीतिगत भन्दा ढिलो हुने गरेको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख तारा कुमारी शाहीले कर्मचारीभन्दा जनप्रतिनिधिका कारण बजेट अधिवेशन देखि हिउँदे गाउँसभा तोकिएको समयमा नहुने गरेको बताइन्। 

उनले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहिर रहेकाले चामुण्डामा यो वर्षको हिउँदे गाउँसभा फागुनको पहिलो साता गर्ने मोटामोटी जानकारी भएको बताइन्। 

ठाटीकाँध गाउँपालिकामा नेकपामा देखिएको आन्तरिक विवादका कारण हिउँदे गाउँ सभामा असर परेको देखिन्छ। गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहका अनुसार अघिल्ला वर्षहरूमा गाउँसभा तोकिएकै समयमा हुने गरेको, तर यो वर्ष ढिलो हुनुमा केन्द्रीय राजनीतिको केही असर रहेको बताइन्।  

गुराँस गाउँपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत नहुँदा हिउँदे गाउँसभा गर्न ढिलो भएको जनाएको छ। अध्यक्ष खेमराज ओलीले पहिलेका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको र नयाँ नआएका कारण हिउँदे गाउँसभा गर्न केही ढिलाई भएको बताए। 

भैरवी गाउँपालिकाले यही महिनाभित्र हिउँदे गाउँसभा गरिसक्ने जनाएको छ। डुंगेश्वर गाउँपालिकाले आन्तरिक समस्याका कारण हिउँदे गाउँसभा गर्न ढिलो भएको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्ले आफू बाहिर रहेकाले केही ढिलो भएको र यो महिनाभित्र गाउँ सभा गरिसक्ने बताए। 

भगवतीमाई गाउँपालिकाले यही माघ महिनाभित्र हिउँदे गाउँसभा गरिसक्ने अध्यक्ष दानबहादुर थापाले जानकारी दिए। उनले कोरोनाका कारण बजेट खर्च भएकाले बजेट हेरफेर गर्नु पर्ने भएकाले गाउँसभा गर्न केहि ढिलो भएको बताए। 

महाबु गाउँपालिकाले आन्तरिक व्यवस्थापनका कारण गाउँसभा गर्न ढिलाई भएको बताएको छ। प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले यही माघभित्र हिउँदे गाउँसभा गर्ने तयारी रहेको बताए। 

नौमुले गाउँपालिकामा भने हिउँदे गाउँ सभा गर्ने भन्ने टुङ्‌गो लगाइसकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले कार्यपालिकाको बैठकले हिउँदे गाउँ सभाकोे टुङ्गो लगाएपछि मात्र कहिले हुन्छ भन्न सकिने बताए। 

नारायण नगरपालिकाले यही महिनाभित्र हिउँदे नगर सभा गर्ने जनाएको छ। नगरप्रमुख रत्न बहादुर खड्काले नेकपाको आन्तरिक राजनीतिक विवादका कारण सामान्य मतभेद देखिएपनि माघको २६ गतेसम्म नगर सभा गर्ने तयारी रहेको बताए। 

आठबीस नगरपालिकाले भने हिउँदे नगर सभा उद्घाटन गरिसकेको जनाएको छ। जिल्लामा रहेका ११ वटा स्थानीय तहमध्ये दुल्लु नगरपालिकाले नीतिगत व्यवस्था अनुसार समयमा नगर सभा गरिसकेको नगर प्रमुख घनश्याम भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.