|

बागलुङका १० स्थानीय तहमध्ये भौगोलिक हिसाबले तमानखोला गाउँपालिका दुर्गम मानिन्छ। यो गाउँपालिका साविकका तीन गाविसहरू (बोङ्गादोभान, तमान र खुङ्खानी) गाभेर बनाइएको हो।

यो गाउँपालिकामा स्थानीय सरकार गठनपछि तमानको चौतर्फी विकासका लागि धेरै प्रयासहरू भैरहेका छन्। शिक्षा क्षेत्रमा तमानखोला अझै धेरै पछाडि छ। भौतिक पूर्वाधार, शिक्षक दरवन्दी र विद्यार्थी संख्या कमजोर भएका कारण यहाँको शिक्षाक्षेत्र सोचेको जस्तो उन्नति हुन सकेको छैन। अहिले पनि तमानखोलाले शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि ठूलो लगानी गरिरहेको छ भने शिक्षक दरबन्दी कम रहेका कारण निजी स्रोतका शिक्षकहरूको परिचालनमार्फत यहाँ शिक्षालाई सवल बनाउन प्रयासहरू भैरहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएका कतिपय कानुनी अधिकारहरू जिल्लाका अन्य स्थानीय तहले प्रयोगमा ल्याउन नसकेको अवस्थामा तमानखोलाले भने केही अधिकारहरू प्रयोगको प्रयास थालेको छ। कानुनी प्रबन्ध भएको आफ्नै पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक निर्माण गरेर कक्षा सञ्चालनको तयारी गाउँपालिकाले थालेको छ। झण्डै एक वर्ष समय लगाएर बनाइएको पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट लागू हुँदैछ। पाठ्यक्रम तयारी, पाठ्यपुस्तक, कक्षा सञ्चालन र त्यसका विधिका विषयमा थाहाकर्मी तारानाथ आचार्यले गाउँपालिका अध्यक्ष जोकलाल बुढासँग कुराकानी गरेका छन् :

तमानको विकासका लागि के कस्ता काम भैरहेका छन् ?

हामी निर्वाचित भएर आएको चार वर्ष समय पुग्नै लागेको छ। धेरै समस्याहरूका बाबजुद तमानमा धेरै कामहरू गरिरहेका छौं।

मोटामोटी गाउँपालिकाभित्र रहेका नागरिकहरूको आधारभूत आवश्यकता जस्तो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा काम गर्ने प्रयास गरिरहेका छौं। समग्रमा राज्यबाट पाउने न्यूनतम सेवा र सुविधा उपलब्ध गराउने प्रयत्नमा लागेका छौं।

तपाईंहरूले चार वर्षसम्म सडक पूर्वाधारलाई बढी जोड दिनुभयो, विकासका अन्य काम प्राथमिकतामा परेनन्‌ भन्ने गुनासो सुनिन्छ नि !

अशिक्षा, गरिबी र विपन्नता नै हाम्रा समस्या हुन्‌। भौगोलिक विकटताले पनि विकास प्रकृयामा असर गरिरहेको छ। बस्तीहरू छरिएर रहेका छन्‌।

​हामीले पहिलो वर्षदेखि नै कार्यपालिका बैठकबाटै तमानबासीलाई शिक्षित, सबल र सक्षम नागरिक बनाउने संकल्प गरेका थियौं। सोही अनुसार शिक्षा क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ।

त्यसकारण पनि अरू आधारभूत विकासभन्दा पनि हामीले त्यहाँका नागरिकको क्षमता विकासलाई प्रथामिकता दिएर काम गरिरहेका हौं। उनीहरूको शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर हामीले काम गरिरहेका छौं।

यहाँहरू नयाँ शैक्षिक सत्रबाट आफ्नै पाठ्यक्रम लागू गर्ने भन्ने खबरहरू बाहिरिएका छन्, यहाँहरूले लागू गर्न खोजेको पाठ्यक्रम कस्तो हो ?

नागरिकका लागि शिक्षा महत्वपूर्ण पक्ष हो। एउटा देशमा जन्मिएपछि त्यो देशले नागरिकलाई शिक्षित बनाउनु राज्यको दायित्व हो। अहिलेको सन्दर्भ हेर्दा नेपालमा शिक्षा आर्जन गरेपछि त्यसबाट हामीले के गर्न सक्छौं भन्ने हो।

हामीले शिक्षा र जीवनको विषयलाई लिएर कहिल्यै हिसाबकिताब गरेनौं। तर, हाम्रो शिक्षाले हाम्रो जीविका चल्नुपर्छ, त्यसैले शिक्षा व्यवहारिक हुनुपर्छ। प्राप्त शैक्षिक योग्यताले हाम्रो जीवन पद्धतिमा परिवर्तन ल्याउनुपर्छ।

त्यसकारण हामीले तमानखोला गाउँपालिकाका २१ वटा सामुदायिक विद्यालय र २ संस्थागत विद्यालयका लागि नेपालको कानुन, स्थानीय सरकार सञ्चालन ऐन र तमानखोला गाउँपालिकाको शिक्षा ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गरेर तमानकै विषयमा अध्ययन गराउनका लागि आफ्नै पाठ्यक्रम निर्माणको काम गरिरहेका छौं।

'मेरो गाउँपालिका' भन्ने विषयमा पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा छ। पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिपछि विद्यालयहरूमा लागू गर्छौं। आउँदो शैक्षिक सत्रबाट हामीले यसलाई लागू गर्ने तयारीमा छौं।

पाठ्यक्रममा के कस्ता विषयहरू समेटिएका छन् ? विषयवस्तुका हिसाबले यहाँले भनेको जस्तो जीवनोपयोगी बन्ला त पाठ्यक्रम ?

यो पाठ्यक्रममा तमानखोला गाउँपालिकाका समग्र विषयहरू समेटिएको छ।

भौगोलिक अवस्था, कला संस्कृति र परम्परा, प्राकृतिक स्रोत, हिजोका जातजातिको जनजीवन, पर्यटन, कृषि, पशुपालनलगायत हामीले तमानमा हिजो जीविकाका लागि प्रयोगमा ल्याएका विषयदेखि मानव सभ्यताका विविध महत्वपूर्ण पाटोहरू पाठ्यक्रममा समावेश भएका छन्।

हामीले गरेका क्रियाकलाप र गतिविधि पनि यो पाठ्यक्रममा समावेश गरेर शिक्षाको रूपमा आर्जन गर्ने वातावरण बनाउँदैछौं।

अब किम्बदन्तीहरू पाठ्यपुस्तकमा पढ्न पाउँछौ ?

पक्कै पनि मैले अघि पनि उल्लेख गरिसकेको छु, नागरिकले हाम्रो गाउँपालिकाभित्र रहँदा जीवनयापनका लागि विभिन्न खालका गतिविधिहरू गरेको अवस्था छ।

पाठ्यक्रमभित्र परम्परा, संस्कृतिका कुरा र आर्थिक उन्नतिका लागि भैरहेका गतिविधिका कुरा छन्। तर, त्यसलाई हामीले शिक्षाको रूपमा आर्जन गर्न सकेनौं।

​तमानमा तामाखानी छ भन्ने सुनेका छौं। तामाखानी हिजो हाम्रा पुर्खाले उत्खनन् गरेको अवस्था थियो। कारणबस बन्द भयो। हिजो तामा उत्खनन् भएको भनेर सोही हिसाबले परम्परागत ढंगबाट तामाको उत्खनन् सम्भव छैन। तर, हिजो गरेका हिसाबले प्रविधिको प्रयोग गरेर आयआर्जनको माध्यम बनाउन सक्छौं भन्ने कुरा सिकाउन जरुरी छ।

हिजो विद्युत थिएन, प्रविधि थिएन। आगो, धागो र औजारले उत्खनन् गरेको कुरा हामीले शिक्षाको रूपमा आर्जन गर्दै अहिलेको प्रविधिको प्रयोग गर्ने कुरा महत्वपूर्ण हो भन्ने लाग्छ। त्यसकै लागि हामी सिकाइको माध्यम बनाउँदैछौं।

​अर्को कुरा पशुपालन, कृषि हाम्रो शान हो। तर हामी परम्परागत शैलीमा चलिरहेकाले जीविका चलाउन कठिन भैरहेको छ। लागत अनुसार आम्दानी भैरहेको छैन। अब पहिलेका कुरालाई सिकाइ बनाएर नयाँ विधिको प्रयोग गरेर आयमूलक बनाउने हाम्रो योजना हो। हिजोको परम्परा पनि सिकाउनुछ।

हिजो फलाम निकालेर झोलुङ्गे पुल बनाए पुर्खाले आज त्यसैको अनुशरण गर्दै ठुला ठुला पुल बनेका छन्। वास्तवमा हामीले त्यो विधिलाई औपचारिक शिक्षाको रूपमा ग्रहण गरेर त्यसलाई प्रयोग गर्न सक्थ्यौँ। त्यसैका लागि हामीले प्रयास गरिरहेका छौं।

आफ्नै पाठ्यक्रम कार्यान्वयन गर्न कति सजिलो छ ?

पाठ्यक्रम तयार गर्ने चरणमा त छौं, तर अहिले भनेका सबै विषय एकैपटक पढाउने भन्ने होइन। यसका पनि चरणहरू छन्। हामीले सिक्दै र जुध्दै जाने वातावरण बनाउँछौं।

शिक्षा क्षेत्र सुधार गर्न १५ देखि २० वर्ष लाग्छ। हामीले अहिले शून्यबाट सुरुवात गर्दैछौं। हामीले सोचेजस्तो शिक्षा दिन सुरुवात अहिले हुन्छ। २० वर्षपछि आउने उपलब्धिका लागि सोही अनुसारका पूर्वाधार र जनशक्ति तयार हुनेमा हामी विश्वस्त छौं। सोही अनुसार लाग्छौं। हाम्रा शिक्षकहरूले नै त्यो पाठ्यक्रम पढाउन सक्छन्। प्रयोगात्मक अभ्यास पनि सोही अनुसार हुनेछ।

संघमा शिक्षा ऐन तयार भइनसकेको अवस्थामा कानुनी अड्चन कसरी टार्नुहुन्छ ?

हामीले पाठ्यक्रम विकास बोर्डसँग समन्वय गरेर नै काम गरिरहेका छौं। संघीय सरकारले शिक्षा नीति कस्तो बनाउने भनी समिति बनायो।

प्रतिवेदन तयार भएको छ। तर त्यो प्रतिवेदन सदनमा पेश भएको छैन। यो अवस्थामा हामीले कुरेर बस्न सकेनौं। शिक्षा क्षेत्रको सुधार गर्ने हाम्रो पनि दायित्व हो। त्यसैले केही समस्या आउलान्‌, तर हामी रोकिनेछैनौं।
 
बसाईंसराई कारण विद्यालय खाली हुँदैछन्, तपाईंहरू शिक्षा सुधार भनेर लाग्नुभएको छ, कसरी सम्भव होला सोचेको जस्तो परिवर्तन ?

बसाईंसराईको हिसाबले सामुदायिक विद्यालयहरू कम विद्यार्थी संख्यामा चलिरहेका छन्। सामुदायिक विद्यालयको गुणस्तर र भौगोलिक हिसाबले पनि नजिकै सर्ने प्रचलन बढेको छ।

हामी त स्थानीय सरकार हौं। जानेहरूलाई रोक्नु त छँदैछ, भएकालाई शैक्षिक वातावरण निर्माण गरेर पठनपाठन गराउनु पनि हाम्रो दायित्व हो। हामीले बसाईंसराई रोक्नकै लागि पूर्वाधारमा धेरै सुधार गरेका छौं। गुणस्तर सुधारमा विशेष ध्यान दिएका छौं।

पूर्वाधार बनाउने, तर विद्यालय खाली हुने वातावरण कम गर्न के प्रयास भए ?

त्यसको लागि त हामीले राज्यले दिने सुविधा सहज तरिकाले गाउँमा पुर्‍याउँदै छौं। एक घण्टाको दूरीमा स्वास्थ्य संस्था, विद्यालय पुर्‍याएका छौं।

संचार, खानेपानी, विद्युत पुर्‍याउने काम भैरहेको छ। कृषि र पशुपालनमा पनि हामीले अनुदान दिएर आयमूलक क्षेत्रमा जोड्ने प्रयास भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.