सडक पिच गरेपछि मात्र उपत्यकाको फोहोर लैजान दिने मुड्खु-तीनपिप्लेवासीको अडान

|

काठमाडौं : मंगलबार बिहान हिँड्दा हिँड्दै एक महिला सेतोपुलनजिकै फोहोर भरिएको एउटा ट्रकअगाडि टक्क उभिइन् र साथीहरूलाई सुनाइन्, ‘५ दिनदेखि यो फोहोरको गाडी यहीँ देखिन्छ, कहिल्यै फोहोर लगेको छैन किन होला?’

ती गुनासो पोख्ने महिला थिइन् अनामनगरवासी सृजना अधिकारी। उनले केही दिनदेखि जताततै फोहोर थुप्रिएको मात्र देखेको सुनाइन्। ‘फोहोरको दुर्गन्धले हिँडिसक्नु छैन, जहिल्यै यस्तै हुन्छ यहाँ उफ!,’ लामो सास फेर्दै उनले भनिन्।

अधिकारीले भनेजस्तै यतिखेर काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन, जताततै फोहोरको डंगुरै डंगुरमात्र देखिन्छ। तारकेश्वर नगरपालिका मुड्खु–तीनपिप्ले सडकका स्थानीयले सडक अवरुद्ध गरेपछि काठमाडौं महानगरपालिकाले फागुन १ यता उपत्यकाको फोहोर सिसडोलमा लैजान नसकेको जनाएको छ।

यसैकारण उपत्यकाको चोक–चोकमा फोहोर थुप्रिएको छ। रातोपुल, सेतोपुललगायत काठमाडौं, ललितपुरका विभिन्न ठाउँमा फोहोर भरेर राखिएका करिब १ हजार ५ सय ट्रक उभिएका छन्। फोहोरको दुर्गन्धले शहरवासी हैरान छन्।

किन गरे स्थानीयले सडक अवरुद्ध?

तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाका अनुसार पासाङ ल्हामु राजमार्गमा पर्ने उक्त सडकखण्ड करिब ९ वर्षअगाडि नै  ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्न ठेक्का लिएको थियो। करिब ६ किलोमिटर सडक गएका ९ वर्षमा पनि शैलुङले पिच गरेको छैन।

‘सडक पिच नभएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्, उनीहरूले सडक पिच भएपछि मात्र सवारीसाधन ओहोरदोहोर गर्न दिने भनेका छन,’ सापकोटाले भने। वर्षौंदेखि सडक अलपत्र पार्ने शैलुङ कन्स्ट्रक्सनका मालिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी हुन्।

सडक अवरुद्ध मात्र होइन, स्थानीयले ठेकेदार कम्पनीका मालिक अधिकारीको फोटो नै राखेर छिटो पिच गर्न भनिरहेका छन्। उनीहरूले ‘नो रोड, नो भोट’को नारासहितको ब्यानरसमेत सडकखण्डमा ठाउँ ठाउँमा टाँसेका छन्।

महानगर भन्छ : घरमै फोहोर व्यवस्थापन गर्नू

केन्द्र सरकार होस् या स्थानीय तह कसैले पनि उपत्यकाको फोहोर दिगो रुपमा अझै व्यवस्थापन गर्न सकेका छैनन्। स्थानीयको विरोधका वावजुद पनि १६ वर्षदेखि नुवाकोटको (साविकको ओखरपौवा हालको ककनी गाउँपालिका–२) सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ। दिगो रुपमा फोहोर व्यवस्थापन गर्न सरकारले नुवाकोट–धादिङ सिमानामा रहेको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाइरहेको भएपनि अझै सकिएको छैन। 

​स्थानीयले सडक अवरुद्ध गरेपछि काठमाडौं महानगरले गत शनिबार सार्वजनिक सूचना नै जारी गरेर आफ्नो घर, पसल, उद्योग र व्यवसायबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न आग्रह गरेको थियो।

महानगरले तत्काल सडक कालोपत्र गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ। तर, हालसम्म समस्या ज्यूँ का त्यूँ छ। सिसडोल ल्यान्डफिल साइटका प्रमुख सरकारदीप श्रेष्ठका अनुसार सडक अवरुद्ध भएपछि फोहोर ओसार्ने करिब १५ सय ट्रक उपत्यकामै अड्किएका छन्। यसअघि उपत्यकाबाट दैनिक १ सय ५० ट्रकले सिसडोलमा फोहोर लैजाने गरेको थियो।

महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईले फोहोर व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरिरहेको बताइन्। छिट्टै फोहोर व्यवस्थापन गर्न पहल भइरहेको उनको भनाइ छ।

तुरुन्तै सडक पिच गर्न सडक विभागको निर्देशन

सडक विभागले मुड्खु–तीनपिप्ले सडक तत्काल पिच गर्न ठेकेदार शैलुङ कन्स्ट्रक्शन कम्पनीलाई निर्देशन दिएको छ। विभागका महानिर्देशक शिवहरि सापकोटाले सोमबार उक्त सडकको अवलोकन गरी तुरुन्त काम गर्न निर्देशन दिएको बताए।

‘हिजो हामी गएर उक्त सडकखण्डको अवलोकन गर्‍यौँ,’ उनले भने, ‘सडक पिच गर्न शारदा अधिकारीलाई भनेका छौँ, १/२ दिनमै ठेकेदारले काम थाल्छ।’ सडक पिच भएपछि सहजै उपत्यकाको फोहोर सिसडोल लैजान सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.