नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को पाँचौं संस्करण गत चैत १७ देखि २१ गतेसम्म काठमाडौंमा सम्पन्न भयो। नेपाल सिनेमा एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव भौतिक रुपमा सञ्चालन भएको थियो।
‘विश्वभरिका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ नारा राखिएको महोत्सवमा ३८ देशका ८९ वटा सिनेमा, वृत्तचित्र र एनिमेटेड सिनेमा प्रदर्शन एवं प्रतिस्पर्धा भए। ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा सिनेमा, वृत्तचित्र तथा एनिमेटेड सिनेमाबीच सातवटा विधामा प्रतिस्पर्धा र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिएको थियो।
महोत्सवमा आएका सिनेमा, महोत्सवमा गर्दाका चुनौती तथा सिनेमा छनोटका प्रक्रियाबारे महोत्सवका संयोजक रहेका सिनेकर्मी यादव भट्टराईसँग थाहाखबरकर्मी राजु पौडेलले कुराकानी गरेका छन्।
निफमा आएका सिनेमा कस्ता थिए? समग्रमा कस्ता सिनेमा देखाइए?
निफमार्फत विगतदेखि नै नेपालमा अन्तर्राष्ट्रिय सिनेमाहरू देखाउने र विभिन्न बहस भइरहेका छन्। यो पाँचौं संस्करण पनि उत्साहजनक तरिकाले समापन भएको छ। महोत्सवमा आएका सिनेमामा ज्यादा संघर्ष, राज्यका पिँधमा रहेका व्यक्ति र समाजका कथा समेटिएका थिए।
जसले सिधै समाजसँग जोड्छन्। महोत्सवमा देखाइएका सिनेमाहरूमा व्यक्ति, समाज र देशको कला‚ संस्कृति र परम्परालाई सुक्ष्म तरिकाले समावेश गरेका थिए। समग्रमा ती कथालाई दृश्यको माध्यमबाट कसरी देखाइए भन्ने नै मुख्य कुरा हो। उनीहरूले आफ्ना कथा देखाउँदा इमान्दार भएर काम गरेका रहेछन्।
यी सिनेमाले कस्ता महत्त्व बोकेका हुँदा रहेछन्?
संसारभर हुने सिनेमा फेस्टिभलमा प्रायः माथि भने जस्तै सिनेमा देखाइन्छन्। हरेक देशका सिनेमाले आफ्नो देशको परिचय बोकेको हुन्छ। यो ज्यादै महत्त्वपूर्ण कुरा हो। यो कुनै एक भाषाको कुरा मात्र होइन, सिनेमा निर्माण, उठान गरिएका विषयवस्तु, संस्कार, संस्कृति र परम्परालाई सिनेकर्मीले सिनेमामा देखाइरहेका हुन्छन्। खासमा आफ्ना कथाहरू आफ्नो शैलीमा नै देखाउनुपर्छ भन्ने कुरालाई सिनेकर्मीले केन्द्रमा राख्ने रहेछन्।
निफमार्फत नेपाली सिने जगतमा परिवर्तन गर्न सक्ने अवस्था पनि सिर्जना भएको हो?
यो महोत्सवले सिंगो नेपाली सिने जगतलाई आक्रामक परिवर्तन गर्छ भन्ने कुरा सोच्नु अलि हतार हुन्छ। महोत्सव नेपाली सिने क्षेत्रको विकास गर्ने काममा सानो अंश बन्न सक्छ भन्ने लागेको हो।
अहिले 'इन्डिपिन्डेन्ट' सिनेमा निर्माण गर्ने विश्वव्यापी ट्रेन्ड चलिरहेको छ। यो ट्रेन्ड नेपालमा पनि छ। हामीकहाँ बनेका 'इन्डिपिन्डेन्ट' सिनेमाहरू निफमार्फत विश्व माझ पुर्याउने वातावरण सिर्जना गर्न खोजेका हौं। निफ एक प्लाटफर्म मात्र हो, जसको माध्यमबाट हरेक नेपाली सिनेकर्मीले आफ्ना सिनेमा विश्व समुदायसम्म पुर्याउन सहजता प्राप्त गर्न सक्छन्। निफमार्फत हामीले एक गर्विलो इतिहास निर्माण गर्न चाहन्छौं। हाम्रो मुख्य लक्ष्य नै हामीले हाम्रा नाटक महोत्सवमार्फत विश्व समाजसम्म पुर्याउनु हो।
निफले हामीसँग प्लाटफर्म छ भन्ने महसुस गराएको छ। निफले सिनेमा मात्र देखाउँदैन, यसले विभिन्न विषयमाथि बहस गर्छ। राम्रो सिनेमा कसरी बन्छ भन्ने कुरा सिकाइरहेको छ। विश्व बजारमा कसरी आफ्ना सिनेमा बेच्ने भन्ने कुरा प्याकेजमा निफमार्फत ज्ञान आर्जन गरिरहेका छौं।
निफभन्दा अलिकति बाहिर जाम न! निर्देशकका रूपमा भन्नुपर्दा समग्रमा नेपालमा बनिरहेका सिनेमा देख्नुहुन्छ?
हामीकहाँ अझै पनि ‘फर्मुलेटेड‘ सिनेमाहरू निर्माण भइरहेका छन्। बलिउड सिनेमाको धङधङी बाँकी नै रहेको छ। हाम्रा कथा उठानमा समस्या छ। स्क्रिनप्लेमा समस्या छ। प्रत्येक स्टेपमा समस्या छन्। हामीले सिनेमाको संवेदनशिलालाई बुझ्न सकेका छैनौं। सिनेमा निर्माणमा भन्दा निर्माणको वातावरणमा बढी ध्यान दिन्छौं। हाम्रा कथाहरू नेपालीपनमा बनाउनुपर्छ भन्ने मान्यता अझै विकास भइसकेको छैन।
संकेत कस्तो देख्नुहुन्छ?
सत्य हरिशचन्द्रलाई हाम्रो सिनेमाको आधार मान्दा नेपाली सिने क्षेत्रले पनि लामो समय बिताइसकेको छ। यस बीचमा हामीले मौलिक कथाहरू भन्न थालेका छौं। धेरै होइन फ्याट्टफुट्ट मात्र।
हामी नेपाली सिनेमाको सौन्दर्य निर्माणको प्रक्रियामा छौँ। कम्तीमा यात्राको थालनी भएको छ। लक्ष्यमा पुग्न समय लाग्छ। संकेत राम्रो छ। फर्मुलेटेट मान्यताहरू बिस्तारै भत्किँदै गएको छ। ठूलो परिणाममा परिवर्तन देखिन अझै समय लाग्छ। अबका केही वर्षमा नेपाली सिनेमाले विश्वका ठूलो फेस्टिभलमा आक्रामक उपस्थिति देखाउँछन् भन्ने विश्वास छ।
तपाईंले निफमा दुई वर्ष सिनेमा सेलेक्सन कमिटीमा बसेर काम गर्नुभयो। खासमा सिनेकर्मी किन सिनेमा बनाउँदा रहेछन्? सिनेमाप्रति उनीहरूको बुझाइ के रहेछ?
हरेक मान्छेले केही न केही अभिव्यक्त गर्न चाहन्छ। अभिव्यक्तिका लागि शैली फरक हुन सक्छन्। आफ्नो हृदयलाई छोएको कथा वा पात्रलाई साउण्ड, लाइट र एक्सनको माध्यमबाट दृश्यमा देखाउन खोज्छन्। आम नागरिकले यो कथा हेर्न र सुन्नुपर्छ भन्ने उनीहरूलाई लाग्छ।
सिनेमा सस्तो मनोरञ्जनको माध्यम मात्र होइन। यसले केवल कथा मात्र बोल्दैन। यसले तत्कालीन कालखण्डलाई बोकेर हिँडेको हुन्छ। ती क्षणलाई जीवन्त तरिकाले देखाइएको हुन्छ। ७० वर्षअघिको सामाजिक‚ आर्थिक तथा राजनीतिक परिवेश आजकहाँ हामी उस्तै र दुरुस्तै छैन। तर, त्यसबेला बनेका सिनेमाले ती कुराहरू सँगै बोकेको थिए। सिनेमा देशको सम्पदा हो। सिनेमा संवेदनशिल विषय हो भन्ने बुझाइ सबैको देखियो।
विदेशीबाट सिक्ने कुराबारे हामीले लामा सेसन सुनिरहेका छौं। निफमा आएका विदेशी सिनेकर्मीले हामीबाट पनि केही त सिकिरहेका हुन्छन् होला नि?
सिक्ने सिकाउने प्रक्रिया अनवरत हुने कुरा हो। दुनियाँको कोही पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन। महोत्सव सिक्ने प्लाटफर्म पनि हो। महोत्सवमा सहभागी सिनेकर्मीले एक अर्काको कामबाट सिकिरहेका हुन्छन्।
हाम्रा विषयहरू कमजोर पक्कै छैनन्। उनीहरू पनि हाम्रा कल्चर सिक्न चाहन्छन्। बुझ्न चाहन्छन्। उनीहरूले हाम्रो सांस्कृतिक तथा मौलिक विषयहरू लिन चाहन्छन्। तर, कति लिने भन्ने कुरा उनीहरूको कुरा हो। उनीहरू हाम्रो जीवनशैली, भाषा, कथाहरूबाट प्रभावित छन्।
निफमा सिनेमाहरू कसरी आउँछन्?
विश्वभर फेस्टिभलहरू प्रवर्द्धन गर्ने चलन रहेको छ। आफ्ना कथाहरू भन्नुपर्छ भन्ने मान्यता छ। फिल्म फ्री वे डटकम भन्ने साइट छ। यसमा एउटा तालिका हुन्छ। त्यसमा विश्वभरका सिनेमाकर्मीहरू सदस्य रहेका छन्।
उक्त साइटको माध्यमबाट विश्वभरका सिनेमाकर्मीलाई कार्यक्रमको सूचना प्रवाह गर्छ। त्यसपछि उनीहरूले इजीवेबाट निश्चित शुल्क तिरेर महोत्सवमा सहभागी हुन निवेदन दिनुपर्छ। यसपाली ५०० वटाभन्दा बढी सिनेमा आएका थिए।
छनोट कसरी गरिन्छ?
सिनेमाका विभिन्न क्याटागोरी हुन्छन्। निर्णायक मण्डलमा नेपालबाट एक जना मात्र हुनुहुन्थ्यो। बाँकी अन्तर्राष्ट्रिय सिनेमा सोसाइटीले तोकेका व्यक्ति आउनुहुन्छ। महोत्सवमा निवेदन दिएर आएका सिनेमाहरूको छनोट गर्ने कुरा निर्णयकर्ताको हातमा रहन्छ।
ती सिनेमा छनोट प्रक्रिया त निर्णायकको 'ह्वाट यु फील' भन्ने नै मुख्य कुरा हो। निर्णायक मण्डलमा बसेका मेम्बरले ती सिनेमा छनोटको सम्पूर्ण अधिकार रहन्छ। पाँचजना निर्णायकले दिने मतका आधारमा छनोट गर्ने हो। इन्टरनेशनल स्टाण्डर्डमा सिनेमाको निष्पक्ष छनोट हुन्छ।
रिजेक्ट भएमा सिनेकर्मीले पुन: आवेदन दिन्छन्?
‘इन्डिपिन्डेन्ट’ सिनेमा बनाउनेहरूले ‘आफ्नो कुरा भन्ने अर्काको कुरा सुन्ने’ विषयलाई प्राथमिकतामा राख्छन्। उनीहरूमा 'कल्चर एक्चेन्ज भ्यालु हाइ' हुन्छ। ५०० वटा सिनेमामध्ये १० वटा पुरस्कृत हुन्छन्। तर पनि उनीहरू सहभागी हुन्छन्। किनभने सिनेकर्मीहरू विश्वभर जोडिन चाहन्छन्। एउटा लर्निङ प्रोसेसमा जित र हार, एसेप्ट र रिजेक्ट सामान्य कुरा हो।
यसपाली रिजेक्ट हुँदैमा अब सिनेमा नै आउँदैनन् भन्ने हुँदैन। अर्को चोटी बढी आउन सक्छन्। लर्निङ प्रोसेसमा सिनेमाकर्मी आफ्ना सिनेमा छनोट नहुँदा सजिलै स्वीकार गरिदिन्छन्। नेपाली सिनेकर्मीका पनि सबै सिनेमा छनोट हुँदैनन्। तर पनि हामीले कोसिस त गरिरहेका छौं नि।
महोत्सव सञ्चालन गर्दाको मुख्य चुनौती के हो?
महोत्सव सञ्चालन गर्दाको मुख्य चुनौती भनेकै बजेट हो।
यस्ता खालका महोत्सवलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ?
महोत्सवका माध्यमबाट हामी र हाम्रा सिनेमाले विश्वमा नै आफ्नो पहिचान बनाइरहेका छौं। तर, राज्यले यसलाई गम्भीरपूर्वक लिएको छैन। सहयोग त गर्छ। तर, सहयोगका लागि गरिने संघर्ष अति नै हुन्छ। सिनेमा राज्यको एक महत्त्वपूर्ण अंश हो भन्ने बुझिरहेको छैन।
सिनेकर्मीको इमान्दार कर्मलाई राज्यले सहयोग गरिरहेको छैन। तर, हामी हारेका छैनौं। सही काम गर्दा हुने चुनौती हामीलाई स्वीकार छ। हामी अनवरत कर्ममा लागिरहेका छौं।
पाँचौं चरणसम्म आइपुग्दासम्म पनि तपाईंहरूलाई एउटै डर के रहेछ भने अब अर्को वर्ष महोत्सव कसरी गर्ने?
यो तनाव त छँदैछ। तर, जेजस्तो स्रोत हुन्छ त्यहीअनुसार हामी काम गर्छौं। निफको संवेदनशिलतालाई राज्यका विभिन्न निकायले बुझ्नुपर्छ भन्ने कुरा हामीले पटकपटक भन्दै आइरहेका छौं। सिनेमालाई राज्यले एक नीति ल्याउनुपर्छ।
हामी संघर्षको दौरानमा नै छौं। हामीसँग मौलिक कथाहरू छन्। विश्व बजारका लागि हाम्रा कथा युनिक छन्। मौलिक छन्। हामीसँग चुनौती मात्र होइन अवसर पनि छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।