स्थानीय तहले ५ वर्षमा पनि आफैं व्यवस्थापन गर्न सकेनन् फोहोर

|

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर ८ दिनदेखि उठ्न सकेको छैन। तारकेश्वर नगरपालिकामा पर्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडककाखण्डका स्थानीयले सडक अवरुद्ध गरेपछि सिसडोलमा फोहोरको गाडी लान नसकिएको हो। 

काठमाडौं महानगरपालिकाका अनुसार गत शुक्रबार बिहानैबाट सडक कालोपत्रे गर्नुपर्ने माग राखि स्थानीयले सडक अवरुद्ध गरेका थिए। हालसम्म सडक खुलेको छैन। यसकारण उपत्यकाभरि नै फोहोर थुप्रिन थालेको छ। दुर्गन्धले सर्वसाधारण हैरानी खेप्न बाध्य छन्। 

सोही सडकखण्डका स्थानीयले यसअघि पनि सडक अवरुद्ध गरेपछि गत फागुन १ गतेदेखि फोहोर उठ्न सकेको थिएन। बन्द भएको ११ औँ दिनमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्न ठेकेदार कम्पनी सहमत भएपछि फोहोर उठेको थियो। 

तर, माग सुनुवाई नभएपछि स्थानीयले फेरि सडक अवरुद्ध गरेको महानगरपालिकाको वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। ‘तत्कालै सडक पिचको काम गर्ने सहमति भएको थियो, तर केही दिनसम्म आएर ठेकेदारले काम गरेजस्तो गरे, अहिले फेरिए कहाँ गए काम नै गरेनन्, त्यसपछि फेरि स्थानीयले विरोध गरे,’ उनले भनिन्।

‘कि सडक पिच गर्नु पर्‍याे कि सम्झौता तोड्नु पर्‍याे’

तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाका अनुसार पासाङ ल्हामु राजमार्गमा पर्ने उक्त सडकखण्ड करिब ९ वर्षअगाडि नै  ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनले पिच गर्न ठेक्का लिएको थियो। करिब ६ किलोमिटर सडक गएका ९ वर्षमा पनि शैलुङले पिच गरेको छैन। 

​‘सडक पिच गर्न ठेकेदारलाई पत्राचार पनि गर्‍यौं, तर काम गरेनन्, अहिले त फोन गर्दा नि उठाउन छाडे,’ कामपा वातावरण विभागकी प्रमुख राईले भनिन्।
यसबारे बुझ्न ठेकेदार कम्पनीलाई थाहाखबरले पटक-पटक सम्पर्क गर्दा पनि फोन उठेन।

सडक विभागले ठेकेदार कम्पनीलाई पिच गर्न नलगाउँदा फोहोरबारे प्रश्न भने महानगरपालिकामाथि उठेको विभागकी प्रमुख राईले बताइन्। ‘हामीसँग ठेक्का सम्झौता तोड्ने अधिकार छैन, सडक हामीले बनाउने पनि होइन, सडक विभागले काम नगरेपछि ठेक्का तोड्न पर्‍याे, कि छिटो पिच गराउनुपर्छ,’ उनले माग गरिन्। महानगरपालिकाले फोहोर लाने वातावरण मिलाउन पहल भने गरिरहेको उनको भनाइ छ।

स्थानीय तहले ५ वर्षमा पनि गर्न सकेनन् फोहोर व्यवस्थापन

उपत्यकाभित्रको फोहोर केन्द्र सरकार होस् या स्थानीय तह हालसम्म दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनका बेला काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत स्थानीय तहका प्रमुखले फोहोर व्यवस्थापन गरि सुन्दर शहर बनाउने सपना बाँडेका थिए। तर ५ वर्षे कार्यकाल बित्दा पनि समस्या ज्यूँ का त्यूँ छ।

स्थानीय तहले आफैँ फोहोर व्यवस्थापन गर्न योजना भने नल्याएका होइनन्, ल्याएका थिए। तर ती योजनामै मात्र सीमित भए। काठमाडौं महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने भन्दै २०७३ सालमै बायोमिथानेशन प्लान्टलाई नमुना परियोजनाका रुपमा टेकुमा सञ्चालनमा ल्याएको थियो।

तर प्रभावकारी रुपमा सञ्चालनमा आएन। गोकर्णेश्वर नगरपालिकाले आफैँ फोहोर व्यवस्थापन गर्ने भन्दै ०७५ कात्तिक महिनामा जापानको हित्ता कम्पनीको सहयोगमा फोहोर जलाउने मेसिन नेपालमा ल्यायो। 

तर नगरपालिकाले उपयुक्त ठाउँ नपाएको बहाना गर्दै करिब ५ करोड लागतको उक्त मेसिन ३ वर्ष बित्दासम्म पनि सञ्चालनमा ल्याएन।  अहिले भने बल्ल प्रयोगमा ल्याएको छ। नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गत बिहीबार वडा–६ को बागमती नदी किनारमा स्थापना गरिएको फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनरेटर मेसिन सञ्चालनको उद्घाटन गरे। 

शहरी विकास मन्त्रालयअन्तर्गत अहिले सिसडोलमा फ्याँकिरहेको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाइरहेको छ। तर अझै बन्न सकेको छैन।

​मन्त्रालयका अनुसार ल्यान्डफिल साइट निर्माण गर्न पहिलो र दोस्रो गरी दुई सेल (फोहोर फाल्ने खाल्डो) बनाउने योजनाअनुरूप एक सेलको काम सकिएको र अर्को सेलको काम भइरहेको छ। 

अहिले भने स्थानीयको विरोधका वावजुद पनि १६ वर्षदेखि नुवाकोटको (साविकको ओखरपौवा हालको ककनी गाउँपालिका–२) सिसडोलमा फोहोर विसर्जन हुँदै आएको छ। कामपा, ललितपुर महानगर र उपत्यकाका १७ वटा नगरपालिकाबाट निस्केको यो सबै फोहोर सिसडोलमै फ्याँक्ने गरिएको कामपाले जनाएको छ। 
काठमाडौं महानगरको वातावरण विभागका अनुसार उपत्यकामा दैनिक १ हजार ५४ टन फोहोर निस्किन्छ। महानगरबाट मात्रै दैनिक ५ सय १६ टन फोहोर निस्किन्छ।

एक सेलको सकिए पनि फोहोर फालिएन

बञ्चरेडाडाँमा एक सेलको काम सकिए पनि फोहोर भने अझै विसर्जन गरिएको छैन। कामपा वातावरण विभागकी प्रमुख राईका अनुसार शहरी मन्त्रालयले एक सेलमा फोहोर फाल्न भनेको छ। तर हाल त्यहाँ फाल्न सकिने अवस्था छैन।

‘स्थानीयले त्यहाँ फोहोर लैजाने सडक पिच गर्नुपर्नेलगायत धेरै माग राखेका छन्, तर महानगर एक्लैले माग पूर्ति गर्न सक्दैन, फोहोर फालेर फेरि विरोध गरिहाल्छन्, त्यसैले त्यहाँ नलगेको हो,’ उनले भनिन्। यसका लागि सरकारसँग छलफल भइरहेको उनको भनाई छ। यता, प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

विश्व स्वास्थ्य दिवसका अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पोलगायत साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न निर्देशन दिएका छन्। उनले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.