|

धनगढी : हरेक वर्षायाममा सुदूरपश्चिमको धनगढी डुबानमा पर्दै आएको छ। यसपल्ट पनि वर्षा शुरु भएसँगै मंगलबार र बुधबार राति दुई दिन परेको सामान्य वर्षाले समेत धनगढी जलमग्न बनेको छ।

धनगढीका अधिकांश वडा र विभिन्न टोल तथा सडक वर्षाका कारण डुबानमा परेका छन्। धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवतजावतमा पनि समस्या उत्पन्न भएको छ।

विगत चार वर्षयता मुख्य बजारको यो क्षेत्र सामान्य वर्षामा पनि जलमग्न हुँदै आएको छ। पछिल्ला वर्षमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको यहाँका स्थानीय बासिन्दाले बताएका छन्।

हल्का वर्षा हुँदा पनि धनगढी डुब्नुको कारण खोलानाला अतिक्रमण रहेको धेरैको तर्क छ। पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउने कार्य गरिरहेको छ।

विद्युत्‌ कार्यालय डुब्यो

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय पनि डुबानमा परेको छ। दुई दिन परेको वर्षाका कारण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो। धनगढी वितरण केन्द्रमा पानी भरिएको छ। हरेक वर्षायाममा धनगढी वितरण केन्द्र डुबानमा पर्ने गरेको छ।

वितरण केन्द्र डुबानमा परेपछि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था छ भने विद्युतीय केबल सर्ट हुने जोखिम समेत बढेको छ। बुधबार राति लगातार रूपमा आएको पानी बिहीबार बिहान रोकिए पनि पानी घट्न भने सकेको छैन।

डुबानका कारण विद्युत् सेवा समेत पटक–पटक अवरुद्ध हुने गरेको छ। पानी बढ्दै गएकाले सप्लाई दिन समस्या हुने गरेको प्राधिकरणका प्रमुख सूर्यनारायण मण्डलले बताए।



















सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.