|

काठमाडौं : महानगरपालिका वडा नम्बर २० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्तरोन्नति गरिएको छ।

उक्त शौचालय वडा कार्यालय र एरोसान सस्टेनेवल स्यानिटेशनको सहकार्यमा अपाङ्ग मैत्री, वातावरण मैत्री, महिला मैत्रीकाे रुपमा पुनः निर्माण गरिएको हो।

स्तरोन्नति गरिएको शौचालय शनिबार काठमाडौं महानगरपालिका २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले उद्घाटन गरे। सोही कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको अवलोकन गरी शौचालयमा प्रयोग भएका वातावरण मैत्री प्रविधिका बारेमा विशेष चासो देखाउँदै शौचालय व्यवस्थित भएको र काठमाडौं महानगरपालिका भित्र थप यस्ता शौचालयहरू निर्माण गर्नुपर्ने धारणा राखे।

मेयर शाहले शौचालयमा प्रयोग भएको आकासे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै शौचालयलाई सिकाई केन्द्रको रुपमा विकास गर्न सकिने उल्लेख गरे।

यस्तै वडाअध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्यहरु वडाले गर्दै आएको र यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माणलाई मध्यनजर गरी यस शौचालयको पुनः निर्माण कार्य गरेको बताए।

‘वडाबासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवत जावत गर्ने मानिसहरुलाई सुविधा सम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो, भने आगामी दिनहरुमा पनि आवश्यकता अनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिनेछ।' मानन्धरले भने। 

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौं महानगरपालिकामा ४ वटा र ललितपुर महानगरपालिकामा २ वटा गरी जम्मा ६ वटा अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ। यस बीचमा करिब ५, ९१, २६९ पुरुष र १, ८०, ५३६ महिला प्रयोगकर्ताहरूलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको दाबी गरेको छ।

शौचालयबाट उत्सर्जित दिसा पिसाबजन्य फोहोर व्यवस्थापनका लागि बायो ग्याँस प्रविधिको जडान गरी हालसम्म ७० हजार ६९९ लिटर पिसाब र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन गरी ७०५ दशमलव २ लि. बायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन गरिसकेको एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए।

उनका अनुसार फोहोर पानी प्रशोधन प्रणाली मार्फत ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन र आकाशे पानी संकलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार १६० लिटर आकाशे पानीको संकलन गरी शौचालयमा प्रयोग गरिएको छ।

‘एरोसानद्वारा निर्मित तथा संचालित शौचालयमा दैनिक १००० लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता भएको फोहोर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ भने मानव मलमूत्रलाई शौचालयमै व्यवस्थापन गरी बायोग्याँस उत्पादन गर्न १० घन मिटरको प्लान्ट शौचालय परिसरमै निर्माण गरी वातावरण मैत्री बनाउन अहम भूमिका खेलेको छ' एरोशानका कार्यकारी प्रमुख अमात्यले स्पष्ट पारे।

सन् २०२० देखि काठमाडौं र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री, वातावरण मैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालयको सुविधा दिँदै आएको एरोसानद्वारा निर्मित तथा संचालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्द्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेशन प्रतियोगितामा उत्कृष्ट ५ सम्म पुग्न सफल भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.