|

काठमाडौं : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिकरुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।

अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो।

सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागमती प्रदेशले यातायात कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउँछन्। 'सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ', उनले भने।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङ, हेटौँडा, जगातीलगायत कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चावहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बताए।

मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउँछन्। 'उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ', उनले भने।

सेवाग्राहीले १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महशुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उनकाे भनाइ छ। मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताको समेत व्यवस्था गरेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.