|

दाङ :  तुलसीपुर उपमहानगरपालिका-७ बम्नैका शिवराज शर्मा बेरोजगार भएका विदेश जाने तयारीमा थिए। तर उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत तुलसीपुर-१२ मा रहेको मेट्रो कलेजबाट मोटरसाइकल मर्मत गर्ने तालिम लिएपछि अहिले घरमै वर्कसप खोलेर काम गर्दै आएका छन्।

उनले भने, ‘गाउँमा केही काम नभएपछि विदेश जाने तयारीमा रहेको थिएँ तर मेट्रो कलेजमा स्वरोजगार कार्यक्रमअन्तर्गत तालिम सञ्चालन भएको थाहा पाएपछि त्यो तालिम लिएर अहिले घरमै आफूले सिकेको काम गरेको छु। यो सीपले आफ्नै ठाउँमा केही गर्ने मौका पाएको छु।’

उनले तालिम पाएपछि आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने जोश जाँगर लागेको पनि बताए। उनले विदेशमा पनि सीप नभएकालाई काम नभएको भन्दै सीप भएपछि आफ्नै ठाउँमा गर्दा आनन्द महसुस भएको पनि बताए।

अहिले यसबाट घरपरिवार चलाउन सहज भएको पनि उनको भनाइ थियो। उनले पछिल्लो समय युवाहरू बेरोजगार भएको भन्दै विदेश गइरहेको अवस्थामा अब हरेक स्थानीय सरकारले युवाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर आफ्नै ठाउँमा आत्मनिर्भर बनाउन ध्यान दिनुपर्ने पनि सुझाव दिए।

शर्मा मात्र नभइ मेट्रो कलेजले दिएको छोटो अवधिको तालिम लिएर तुलसीपुर-१२ रझेनाकी कल्पना बुढाथोकी पनि खुशी छन्। उनले हेयर कटिङ तालिम लिएर अहिले रझेनामा पसल खोलेकी छन्।

उनले पहिला कटाइ सिलाइ गर्दै आएकी उनले थप हेयर कटिङ तालिम लिएपछि अहिले आफूलाई धेरै फाइदा पुगेको बताइन्। उनले तालिमसँगै सामानहरू पाएपछि हेयर कटिङ पसल खोल्न सहज भएको र अहिले त्यही पसलको आम्दानीबाट घरखर्च चलिरहेको बताइन्।

उनले भनिन्, ‘यसरी निःशुल्क तालिम लिन पाउँदा धेरै खुशी लागेको थियो त्यसमाथि सामानहरू पाउँदा धेरै सहज भएको छ। बाहिर यो तालिम लिँदा पैसा तिर्नुपर्थ्यो। कलेजबाट तालिम लिन पाउँदा सीप र सामान पाएर व्यवसाय गरेकी छु।’

उनले कुनै पनि सीप सानो र ठूलो नहुने भन्दै सिकेका कुराहरू व्यवहारमा लागू गरेमा बेरोजगारी भएर बस्ने नपर्नेसमेत बताइन्।

तालिम लिएकाहरु मात्र नभइ कलेजमा विभिन्न विषय पढ्दै आएका विद्यार्थी पनि पढ्दै र पैसा कमाउँदै आएका छन्।

डिप्लोमा इन एग्रिकल्चरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा टमाटर खेती गरेर आम्दानी गरेका छन् भने व्यावसायिक पुष्प खेती पनि गरेका छन्। यसले गर्दा उनीहरूले किताबी ज्ञान मात्र नभइ प्रयोगात्मक ज्ञान पाएको पनि बताउँछन्। 

कलेजमा डिप्लोमा इन एग्रिकल्चर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सन्दिप मल्लले पढ्दै र सिक्दै गर्दा आफूहरूलाई धेरै ज्ञान भएको बताए। उनले गत बैशाख महिनामा टमाटर खेती गरेर बजारमा बेचिसकेको बताए।

उनले भने, ‘टमाटर खेती मात्र नभइ हामीले व्यावसायिक रुपमा पुष्प खेती पनि गर्न थालेका छौँ। टमाटर खेतीजस्तै हामीले पुष्प खेतीबाट पनि सफलता प्राप्त गर्नेछौँ। हामीले किताबको ज्ञानलाई व्यावहारिक रुपमा फिल्डमा गएर गरेका हौँ।’

उनले आफ्नो गाउँ ठाउँमा सोचेभन्दा पनि सस्तोमा अध्ययन गर्न पाउँदा आफूहरू धेरै खुशी भएको बताए। उनले यही विषय पढ्नको लागि बाहिर जानुपर्ने बाध्यता रहेकोमा तुलसीपुर उपमहानगरले कलेज स्थापना गरेर आफूहरूलाई पढ्ने अवसर दिएको पनि बताए।

खोजेको विषय पढ्न पाउँदा विद्यार्थी खुशी

तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरकी गौतमी गिरीले आफूले रोजेको विषय पढ्न पाउँदा धेरै खुशी लागेको बताइन्। अहिले आफूले डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ पढ्दै आएको भन्दै यो विषय पढ्ने आफ्नो रहर पूरा भएको बताइन्।

उनले भनिन्, ‘यो विषय पढ्न मलाई धेरै रहर लागेको थियो तर घरको आर्थिक अवस्थाले बाहिर गएर पढ्न सक्ने अवस्था थिएन। तुलसीपुरमा मेट्रो कलेज स्थापना भएर यो विषय पढ्न पाउँदा धेरै खुशी लागेको छ।’

उनले कलेजमा सैद्धान्तिक शिक्षा मात्र नभइ प्रयोगात्मक शिक्षा पाउँदा पनि धेरै खुशी लागेको बताइन्। उनले भनिन्, ‘मेरो मनदेखि पढ्ने इच्छा यही विषय रहेको थियो। एकातिर घरको आर्थिक अवस्था कमजोर रहेको अर्कोतिर जिल्ला बाहिर जानुपर्ने बाध्यताका कारण दुःख लागेको थियो। तर तुलसीपुरमा कलेज स्थापना भएर सोचेभन्दा सस्तोमा र घरनजिकै पढ्न पाउँदा धेरै खुशी लागेको छ।’

न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा

तुलसीपुर मेट्रो कलेज तुलसीपुर उपमहानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालनमा आएको हो।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्र बनाउन उपमहानगरले यो कलेज सञ्चालनमा ल्याएको हो। कलेजमा डिप्लोमा तहका ५ वटा विषयमा र छोटो अवधिका तालिम भइरहेको कलेज प्रमुख बसन्त आचार्यले बताए। उनका अनुसार निम्न वर्गका विद्यार्थीहरूको प्राविधिक शिक्षामा पहुँच पुगोस् भनेर कलेज स्थापना गरिएको हो।

अहिले डिप्लोमा तहका ५ वटा विषयमा पढाइ भइरहेको छ। यसमा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलजी, डिप्लोमा इन फरेस्ट्री र डिप्लोमा इन प्लान्ट साइन्स रहेको उनले बताए। प्रि-डिप्लोमा तहमा आइटी पनि सञ्चालन गरिरहेको उनको भनाइ थियो। 

कलेजमा विभिन्न छात्रवृत्ति योजना

कलेजले प्रमुख आचार्यका अनुसार कलेजले विभिन्न खालका छात्रवृत्ति योजनाहरू ल्याएको र सबै विषयहरू ३ वर्षीय रहेको छ। उनका अनुसार त्यो पूरा गर्न जम्मा साढे १ लाख लाग्छ।

तुलसीपुर उपमहानगरभन्दा बाहिरका विद्यार्थी कलेजमा पढ्न आए छुट दिएर ३ वर्षमा जम्मा १ लाख  २५ हजार शुल्क लाग्ने पनि उनले बताए। 

तुलसीपुर उपमहानगरलाई एक लाखमात्र

कलेजमा पढाइ भइरहेका विषयहरू पढ्न चाहने विद्यार्थीहरूलाई भने १ लाख मात्र खर्च लाग्ने उनले बताए। उनले उपमहानगरभित्र सामुदायिक विद्यालयबाट एसइई दिएका छात्राहरूलाई कलेजले निःशुल्क पढाउने छात्रवृत्ति रहेको पनि बताए।

उनले भने, ‘उपमहानगरभित्र सामुदायिक विद्यालयबाट एसइई दिएका छात्राहरू कलेजमा पढ्न आए उनीहरूले निःशुल्क पढ्न पाउँछन्। कलेज स्थापना भएदेखि अहिलेसम्म करिब एक सय जना छात्राहरूले ३ वर्षसम्म आफूले रोजेको विषय निःशुल्क पढ्न पाएका छन्।’

उनले सिटिइभिटीले प्रदान गर्ने पूर्ण छात्रवृत्तिलाई पनि कलेजले निरन्तरता दिँदै आएको छ। उनले निम्न वर्गका विद्यार्थीहरूलाई वडा कार्यालयले उनीहरूको खर्च बेहोर्ने गरी सहजीकरण गरेर विभिन्न वडाका विद्यार्थीहरूलाई पढाउँदै आएको पनि बताए।

कलेजमा अहिले तुलसीपुरका मात्र नभइ दाङ  र अन्य जिल्लाका विद्यार्थीहरू पढ्न आइरहेको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.