|

बैतडी : यहाँको प्रसिद्ध शक्तिपीठ निङ्लाशैनी भगवती  मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। आज महाअष्टमीका दिन यहाँ बलिसहित पूजाआजा हुने भएकोले  घुइँचो लागेको हो।

घटस्थापनादेखि नित्य पूजा भई महाअष्टमीका अवसरमा विषेश पूजाआजा र आज बलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए। 

हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका लैजाने चलन छ। महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ।

यहाँ महाअष्टमीका दिन सुदूरपहाडकै सबैभन्दा बढी बली दिइन्छ। यस मन्दिरमा आज ५ सयभन्दा बढी बलि हुने अनुमान गरिएको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय दीपक बोहराले बताए। जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका छन्।

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

भक्तजनलाई व्यवस्थित र बलिको क्रममा भागदौड हुने भएकाले सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा शान्त र भव्य रुपमा सम्पन्न गर्न देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मेला अवधिभर देहीमाडौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका वडा नं २ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए।

मदिरा सेवन र बिक्रीका कारण विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दशैँभरि मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो। कसैले मदिराको कारोबार र सेवन गरेमा कानुनअनुसार कारवाही हुने समेत जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.