|

पर्वत : सदरमुकाम कुश्मा बजारमा जारी सातौँ पर्वत महोत्सवमा आकर्षण बनेको छ रैथाने बालीका परिकार र तयारी कन्दमूल। पर्वत सहित आसपासका जिल्लामा कागुनोको खिर प्रचलनमा नरहेकाले ‘कागुनोे’ शब्द नै नसुनेकाहरू धेरै छन्। 

चामलको खिर खाएकाहरू कागुनोको खिरको स्वाद लिँदा महोत्सवमा नयाँ कुराको अनुभव गर्न पाएको बताउँछन्। माघे संक्रान्तिको बेलामा बजारमा तरुलको माग राम्रो हुने भए पनि पिँडालुको चर्चा खासै हुँदैन। गाउँघरतिर बाहेक बजारमा पिँडालु खासै पाइँदैन। महोत्सवमा रहेको स्टलमा उसिनेको पिँडालु चटनीसँग खान पाउँदा नयाँ पुस्ताले कन्दमूलको बारेमा जान्ने र चाख्ने मौका पाएका छन्।

‘कगुनोको खिर र फापरको घुमाई रोटी त हामी पाकै मान्छेले पनि खाइएको छैन होला धेरैले। सखरखण्ड र पिँडालु पनि बजारमा बस्दै आएका अहिलेका बच्चाहरूलाई खान सिकाइएको छैन। काली भट्ट फापरको निम्की, तिलका लड्डु यहाँ आएर खान पाउँदा खुसी लाग्यो’, महोत्सव अवलोकनका लागि आएका मोदी गाउँपालिका–७ राम्जाका सुरेन्द्र शर्मा गौतम भन्छन्, ‘बजारिया खाने कुराको बानी परेकाहरूलाई हाम्रा पुर्खाले खाँदै आएका पोषणले भरिएका रैथाने खानाका बारेमा यहाँबाट सिकाइ भएको छ। काउलीबाटै मासुको भन्दा मिठो फरक फरक परिकारहरू बन्ने रहेछ।’

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको आयोजनामा भएको ‘रैथाने बालीको उत्पादनमा आधारित परिकार विविधीकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा सहभागी भएर रैथाने खाना बनाउन सिकेका कुश्मा नगरपालिका–७ का तिला गिरीले रैथाने बालीका खाना पाउने ‘स्टल’ राखेका छन्। सोही ‘स्टल’ मा चिनोको केक, कोदोको मफिन, फापर र कोदोको निम्की, कागुनोको खिर, फापरको कञ्चेम्बा, कोदोको मःम, कालो भट्ट, आलु, तरुल, पिँडालु, सखरखण्ड, तिल, फापर, काउली लगायत खाद्यान्नका परिकार राखिएको छ। 

यी परिकार बिक्री गरेर आम्दानी नै गर्नु भन्दा पनि पुर्खौँका परिकारलाई प्रयोगमा ल्याएर नागरिकको स्वास्थ्य सुधार गर्ने अभियान साथ आफूले भिडभाड हुने ठाउँमा  रैथाने खाद्यवस्तुहरुको ‘स्टल’ राखिएको गिरीको भनाइ छ।

महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीले स्थानीय उत्पादनलाई प्रदर्शन र प्रवर्धन गर्ने गरी नै महोत्सवमा स्टल राखिएको बताउँछन्। कृषि उत्पादन, हस्तकलाका बस्तुहरू, अल्लोका कपडा, स्थानीय परिकार, लगायत वस्तुहरूलाई प्राथमिकतामा राखेर स्थानीय व्यापारीलाई नै अवसर दिएको उनको भनाइ छ।

यसअघिका महोत्सवमा बाहिरबाट आउने व्यापारीले अधिकांश स्टल लिने गरेको भए पनि यो पटक भने अधिकांश स्टल  ५० प्रतिशत छुटमा स्थानीय व्यापारीलाई उपलब्ध गराइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.