पहिला पहिला लुगा लगाएर भान्छा र पूजा कोठाको छेउमै झुण्डीएर बज्ने रेडियो अहिले तपाईंको कम्प्युटर, ल्यापटप, मोबाइल र गाडीमै पनि बज्न थालेको छ।
पहिले एउटा गाउँमा स्पीकर राखेर रेडियो घन्घाउँदा पारी गाउँका बासिन्दा र खोचमा रहेका खेतवारीमा काम गरीरहेका कृषक दाजुभाई दिदी वहिनीहरु रमाउने र रेडियोमा आउने गीत संगीत सुन्नेदेखि लिएर रेडियो नाटकबाट मनोरन्जन लिन एकै ठाउँमा भेला हुने यथार्थ अहिले एकादेशको कथा बन्न लागिसकेको छ।
विभिन्न खेल प्रतियोगिताको प्रत्यक्ष रुपमा अनुभूति गर्ने र जिल्ला जिल्लाका खेलकुदका गतिविधी सुन्ने, रेडियोमा गीत संगीतका लागी फर्माएस पठाउने, समाचार सुन्ने र कुनै कुनै बेला
देशमा भएका चुनावी परिणाम सुन्ने त्यत्तिबेलाको छिटो र भरपर्दो माध्यम रेडियो पछिल्लो समय पुरानै तवरले सुन्ने परिपाटी घटे पनि अहिलेका आधुनिक भनाउँदाले भनिएजस्तो रेडियोको चार्म ह्वात्तै घटेको पक्कै छैन।
पहिले पहिले मेगाहर्जमा ट्युनिङ गरेर सुनिने रेडियो अहिले इन्टरनेट, फेसबुक, ट्वीटरमार्फत सुन्न थालिएको छ। काम छोडेर सुन्ने गरिएको रेडियो अहिले आएर ब्यस्तताका बाबजुध एकातीर रेडियो सुन्ने र अर्कोतिर काम गर्न थालिएको छ।
कुनै एउटा बालकलाई रेडियोभित्र को बसेर बोलिरहेको छ भने जिज्ञासु मनले रेडियोको पार्टपूर्जा नै खोल्न मन लाग्ने हुन्थ्यो। रेडियोमा बोल्न, कार्यक्रम चलाउन, समाचार भन्न या रेडियोबाट आफ्नो नामसम्म पनि उच्चारण हुँदा दंग पर्ने हामी अहिले ए त्यो रेडियो भनेर नाक खुम्चाउनेसमेत भइसक्यौँ।
फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाइरहदा यसको महत्व र आवश्यकताबारे आम मानिसले बुझ्नु जरुरी छ। करिब ८ वर्ष अघि २०७२ सालमा आएको विनासकारी भूकम्पका समयमा रेडियोले तत्कालिन समयमा आम जनतालाई सूसूचित, सुरक्षित, सर्तक र भयरहित बनाउन खेलेको भूमिका कसैले नकार्न सक्दैन।
आधुनिक भनेर सामाजिक संजाल र इन्टरनेटको पहुँच देखाउनेहरु पनि रेडियोले गरेका योगदानमा नतमस्तक थिए। एकत्रित भएर सुन्नुको साटो अहिले छुट्टाछुट्टै बसेर सुन्ने गरिएको रेडियो मौसमको बारेमा जानकारी लिएर हिँड्न तथा सवारी जामबारे जानकारी लिएर गन्तब्यमा पुग्न सहयोगी बनिरहेको छ।
संयुक्त राष्ट्र सङ्घले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउन प्रसारण क्षेत्रका आह्वान गरेअनुसार नेपालमा पनि यो दिवस मनाउन थालिएको हो। यसपाली यो दिवसको नारा रेडियो र शान्ति रहेको छ। नारामा भनिएझैँ रेडियोले समाजका विभिन्न पक्षलाई समेट्दै शान्ति स्थापनामा पनि अहम भूमिका खेलेको छ।
समाजमा हुने हरेक कृयाकलापमा रेडियोले शान्तिसँग जोडेर महत्व राखेको छ। चाहे द्धन्द्धका बेला आम श्रोतालाई संयम बनाउन होस् या सामाजिक सद्भाव खल्बलाउने तत्वहरुसँग जुध्न यसलेखेलेको भूमिकालाई कसैले नकार्न सक्दैन।
समाजका सुख, दुख, मनोरन्जन, सुचना लगायत बालक, युवा, प्रौढ सहित सबै जातजाती , धर्म संस्कृति परम्परालाई रेडियोले समेटेको हुन्छ। राजनीती, आर्थिक , सामाजिक , खेलकुद , अन्र्तराष्ट्रिय परिवेश, वातावरणीय लगायतका मुद्दा पनि समेटिने हुँदा रेडियोमा विविधता पाइने रेडियोमा कार्यरत ब्यक्तिहरु बताउँछन्।
रेडियोमा महिला र पुरुष लगभग उत्ति उत्ति नै कार्यरत रहनुले पनि विविधताको झल्को मेटाउँछ। रेडियोलाई भरपर्दो सूचनाको स्रोतको रुपमा लिने गरिन्छ। पत्रपत्रिका र टेलिभिजनको पहुँच नपुगेको स्थानमा सेवा प्रदान गर्न सफल रेडियोले छिटो सूचना सम्प्रेशण गर्छ।
नेपालमा रेडियो विस २००७ सालमा स्थापना भयो। रेडियो नेपालबाट भित्रिएको नेपाली रेडियो प्रजातन्त्रको वहालीपछि विस्तार हुदै आएको हो। नेपालमा हाल ११ सय ५५ वटा एफएम रेडियो सूचना तथा प्रसारण विभागमा दर्ता रहेका छन्।
विभागका सूचना अधिकारी मिनकुमार शर्माका अनुसार ११ सय ५५ वटा दर्तामा रहेपनि करिब १ हजार प्रसारणमा रहेको अनुमान छ र्। विभिन्न समस्याका कारण दर्तामा रहेपनि कति रेडियोले प्रसारण गरेका छैनन्, उनले भने, यसको यकिन विवरण भने विभागसँग छैन।
रेडियोको विस्तार देशभर सबैतीर भएपनि टेलिभिजन र छापा माध्यम सरह रेडियोलाई हेर्ने दृष्टिकोण फरक छ। अझ अनलाइनलाई भन्दा पनि रेडियोलाई आम मान्छेले बेग्लै तरिकाले हेर्छन्। नेपालमा करिब १० हजार रेडियोकर्मी रहेका छन्।
समाज रुपान्तरणको अभियानमा भरपर्दो भुमिका खेल्ने रेडियोले प्रभावकारी कार्यक्रम ,समाचार र सूचना दिनुपर्ने चुनौतीसँगै रेडियो चल्न आवश्यक पर्ने आर्थिक पक्ष नै चुनौतीको पक्ष रहेको रेडियोकर्मी र संचालकहरु दुखेसो गर्छन्।
कति रहरले रेडियोमा भित्रिन्छन् तर ब्यवस्थापकीय कमजोरीका कारण उनीहरु छोटो समयमै बाहिरिन्छन्। छापा र टेलिभिजनको तुलनामा रेडियोमा काम गर्ने महिलाको पहुँच पुगेको छ। दुर दराजका गाउँगाउँमा रेडियोमा काम गर्ने महिलाहरु बढीरेका छन्।
शहरी भेगमा जन्मिएका ब्यवसायीक रेडियोमा काम गर्ने रेडियोकर्मी महिलाहरु पनि धेरै छन्। तर उनीहरुको निरन्तरता कम छ। रेडियो सुन्ने र रेडियोमा काम गर्छुभन्दा छाती फुकाउने जमात अहिले पछिल्लो समयमा विभिन्न प्रविधीको चर्चा चलिरहदा अहिल सेलाउका छन्।
बढ्दो युट्युव र अनलाइन माध्यमको प्रतिस्पर्धामा रेडियो उत्रेपनि रेडियोलाई ती माध्यमसँग तुलना नगरी नयाँ सोच र नयाँ–नयाँ प्रविधिसँग घुल्मिल गराएर रेडियोलाई लैजानुपर्ने देखीन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ।
विश्वमा रेडियोको प्रसारण आरम्भ भएको १ सय वर्ष र नेपालमा ७० वर्ष पूरा भइसको छ। समावेशीताको सिद्धान्तमा अघि बढेको रेडियो पश्चिममा दाँचुला देखी पुर्वको ताप्लेजुङसम्म पुगिसकेको छ।
नेपालमा राणाशासन अन्त्यका लागि संघर्षरत नेपाली काँग्रेसले २००३ सालमा रेडियो प्रसारण गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।
निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो। रेडियो नेपालको १ सय मेगाहर्जमा समय किनेर चलाएका रेडियोहरुले आफ्नो छ’ट्टै स्टेसन खोलीसकेका छन्। सामुदायिक रेडियो सगरमाथा भने २०५४ साल जेठबाट सुरु भएको हो।
ललितपुरको भनिमण्डलमा रहेको रेडियो सगरमाथलाई दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियोको रुपमा लिइन्छ। यसैगरी नेपालमा हिट्स एफएम जस्तो पुरै सांगितीक ब्यवसायीक रेडियो छ भने, धार्मिक रेडियो एफएम अध्यात्म ज्योति , मनोरन्जनात्मक रेडियोमा रेडियो अडियो र चलचित्र सम्बन्धि, फिल्मि रेडियो पनि छ।
यसैगरी नेपाल भाषाको रेडियो नेवा एफएम पनि काठमान्डौमा छ। ट्राफिक प्रहरीले सडक र सवारीका विषयमा मुख्य जानकारी दिने उदेश्यले ट्राफिक रेडियो संचालनमा ल्याएर सेवा दिइरहेको छ। थाहा सन्चार नेटवर्क, नेपाल एफएम,उज्यालो एफएफ, सामुदायिक सूचना नेटवर्क लगायतले देशभरका स्थानिय रेडियोहरुबाट आफ्ना समाचार र कार्यक्रमहरु प्रसारण गरीरहेका छन्।
कान्तिपुर एफएम र इमेज एफएम लगायतले आफ्नो प्रसारण सेवा देशब्यापी बनाइसकेका छन्। पछिल्लो समय पत्रपत्रिका संचालन गरिरहेका नागरिक र अन्नपुर्णले पनि आआफ्नै रेडियो च्यानल खोलेर काम गरीरहेका छन्।
काठमाडौं महानगरपालिकाले पनि डेढ दशक अघि नै मेट्रो एफएम मार्फत आफ्ना सूचनाहरु सम्प्रेशण गर्दै आएको छ।
देश संघीयतामा गइसकेको परिपेक्ष्यमा रेडियो स्थापना, संचालन, अनुगमनमा पनि स्थानीय तहको भूमिका बलियो हुनसक्छ।
रेडियोलाई मजबुद या कमजोर बनाउने हात यिनीहरुमा आइपर्ने हुँदा नीतिगत रुपमा स्थानीय तहले रेडियोको ब्यवस्थापन, संचालनमा बाधा अड्काउ राखेर अंकुश राख्नुहुन्न। रेडियोकर्मीहरुले पनि आफ्नो क्षमताको विकास गरी सूचना , समाचार र कार्यक्रम तयार पार्नुपर्ने देखिन्छ।
सँगसँगै बढ्दो युट्युव र अनलाइन माध्यमको प्रतिस्पर्धामा रेडियो उत्रेपनि रेडियोलाई ती माध्यमसँग तुलना नगरी नयाँ सोच र नयाँ–नयाँ प्रविधिसँग घुल्मिल गराएर रेडियोलाई लैजानुपर्ने देखीन्छ। रेडियोलाई सुधार गर्दै आम श्रोतामाझ अझ लोकप्रिय बनाउन नयाँ प्रविधिको सम्मीश्रण गर्दै नयाँ सोचको विकास गर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।