|

विराटनगर : सुनसरी देवानगञ्ज– ६ की निलम मेहेताले तुलसी सहकारी संस्थामा १२ लाख जम्मा गरिन्।  उनले वैशाख ०७८  मुद्ती खातामा रकम जम्मा गरेकी थिइन्।  

मेहेताले जम्मा गरेको रकम ब्याजसहित फिर्ता पाउन अब २ महिना मात्रै बाँकी छ।  तर, अहिले सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको पत्तो पाएपछि  आफूले दु:ख गरेर जम्मा गरेको रकम फिर्ता नपाइएला भन्ने चिन्ताले उनलाई  सताइरहेको छ। रकम फिर्ताको माग राख्दा सञ्चालक समितिले  आनाकानी गरेको समेत उनले सुनाइन्।

 धेरै ब्‍याज पाउने आशाले सहकारी भरपर्दो ठानेर  पैसा बचत गरेको सुनाउने उनी  भन्छन्,‘बचत गरेको पैसा कसरी पाउने होला?’ विराटनगर– ११ केशलिया रोडका विनोदकुमार भगत तुलसी सहकारीको पुरानो बचतकर्ता हुन्।

१० वर्षदेखि  सहकारीमा बचत गर्दै आइरहेको  उनले केही दिन अगाडी बचत गरेको रकम झिकिसकेका थिए। अब उनको बचतमा साढे  तीन लाख रकम बाँकी रहेको उनले सुनाए।  योभन्दा अगाडि राम्रोसँगै चलिरहेको  संस्था एक्कासि डुबेको भन्ने समचारले आफूले बचत गरेको  रकम कसरी निकासा गर्ने भन्ने चिन्ताले सताएको  उनले बताए। 

निलम  र विनोदकुमार  त  प्रतिनिधिपात्र मात्रै हुन्। विराटनगरमा उनीहरु  जस्ता  ५ हजार बचतकर्ता  छन्, जो अहिले आफूले बचत गरेको रकम फिर्ताको माग राख्दै कहिले जिल्ला प्रशासन कार्यालय त कहिले जिल्ला प्रहरी कार्यालय मोरङ धाइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय घेराउ

तुलसी सहकारीका बचतकर्ताहरुले  बचत फिर्ताको माग राख्दै जिल्ला प्रशासन कार्यालय  घेराउ गरेका छन्। आफूहरुले बचत गरेको रकम एकैपटक दिनुपर्ने माग राख्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गर्दै प्रदर्शन गरेका हुन्।

मंगलबार बचतकर्ता र सञ्चालक समितिबीच छलफल भएको थियो। सो छलफलबाट  सञ्चालक समितिका सबै पदाधिकारी तथा सदस्यहरूले ३ दिनभित्र समस्याको निकास निकाल्ने विषयमा सहमति जनाएका थिए।

तर,  अहिलसम्म पनि सहमतिको विषयमा  सहकारीले कुनै चासो नदेखाएको बचतकर्ताहरुको गुनासो छ। सञ्चालक समितिले  बचतकर्ताहको गुनासो सुनुवाइ नगरेको भन्दै जिल्ला प्रशासन  कार्यालय घेराउ गर्दै चर्को नाराबाजीसमेत गरेका थिए। 

सहकारीले विराटनगरका मात्रै ५ हजार बढी बचतकर्ताहरुको रकम हिनामिना गरेको उनीहरुको आरोप छ।

सहकारीको   ६६ करोड निक्षेप संकलन

विराटनगर २ मा  प्रमुख कार्यालय रहेको उक्त सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय छ। त्यसो त  सहकारीले मात्रै करिब ६६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ।

अन्य शाखा कार्यालयको समेत हिसाब गर्ने हो भने सहकारीले हालसम्म जम्मा डेढ अर्ब बराबरको निक्षेप संकलन गरेको सहकारीको एक कर्मचारीले जानकारी दिए।

सहकारीले ४८ करोड रुपैयाँ ऋण लगानी गरेको  बताउँदै ती कर्मचारीले  सहकारीको सेयर पूँजी भने मात्र १० करोड रहेको  बताए।

सहकारीको १६ कट्ठा जमिन

सहकारीको विराटनगर–१९ स्थित मिलनचोकमा १६ कठ्ठा जमिन  रहेको छ। यता, झापाको गौरादहमा तुलसी राईस मिलको नाममा पनि डेढ बिगाहा  रहेको ती कर्मचारीले बताए।

गाईघाटको खाबुमा समेत सहकारीको नाममा ३०० रोपनीभन्दा बढी जग्गा  रहेको र दमक, गाईघाट र लेटाङमा पनि सहकारीले विभिन्न डिपार्टमेन्ट स्टोरहरू सञ्चालनसमेत गरिरहेको कर्मचारीले जनाकारी दिएका छन्।

सहकारीको स्वामित्वमा त्यति धेरै अचल सम्पत्ति हुँदा पनि बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गर्नु आफैँमा अचम्मित विषय भएको बचतकर्ताहरु बताउँछन्।

सञ्चालक समिति पक्राउ

मोरङ प्रहरीले मङ्गलबार  सहकारीको उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको छ।​ बचतकर्ताहरुको उजुरीका आधारमा  उनीहरुलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ।

सञ्चालक समितिका अध्यक्ष र उपाध्यक्षले प्रहरीलाई समेत अभद्र गरेको र उनीहरुलाई प्रहरीसँग अभद्र व्यवहारको कसुरमा पनि  पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी टीका कार्कीले जानकारी दिए।

पक्राउ परेका दुवैमाथि रकम अपचलनको कसुरमा अनौपचारिक अनुसन्धान थालिएको समेत उनले  जानकारी दिए।  ‘पैसा फिर्ता माग्ने बचतकर्ताको भिडले असुरक्षित भएपछि सहकारीका दुवै पदाधिकारीलाई उद्दार गरी जिल्ला ल्याएका थियौँ।  उनले भने,‘तर, उल्टै अभद्र व्यवहार गरियो। हाल उहाँहरु नियन्त्रणमा हुनुहुन्छ।’

सञ्चालक समितिका अध्यक्ष फरार

एकसाता अगाडि बचतकर्ताहरुको भिड बढेसँगै  विश्वव्यापी आर्थिक मन्दीका कारण बचतकर्ताको निक्षेप फिर्ता गर्न समस्या भइरहेको विषय उल्लेख गर्दै सूचना टाँसिएको थियो। बचतकर्ताहरु आक्रोशित हुन थालेपछि नै सहकारीको मुख्य कार्यालय बन्द गरिएको सहकारीका व्यवस्थापक सीताराम अधिकारीले बताए।

सहकारीको नाममा अझैपनि पर्याप्त सम्पत्ति रहेकाले बचतकर्ताको रकम फिर्ता गर्न कुनै समस्या नरहेको उनले जानकारी दिए। सहकारीको नाममा अझै पनि पर्याप्त सम्पत्ति रहेकाले बचतकर्ताको रकम फिर्ता गर्न कुनै समस्या नरहेको उनले बताए। यद्यपि, सञ्चालक समितिका अध्यक्ष भने फरार छन्। 

सहकारीको अनुसन्धान थाल्दै महानगर

बचत फिर्ता नदिने, नियमविपरीत लगानी गर्ने लगायतका उजुरी लगातार पर्न थालेपछि सहकारीको  अनुसन्धान सुरु गरेको विराटनगर महानगरपालिकाले जनाएको छ। 

सहकारीको ब्यालेन्स सिट र बैंक स्टेटमेन्ट नमिलेको भेटिएको भन्दै छुट्टै विज्ञ नियुक्ति गरेर अध्ययन भइरहेको  महनागरपालिकाका उपमेयर शिल्पा निरौला कार्कीले जानकारी दिइन्।

महानगरपालिकाको न्यायिक समितिमा विभिन्न ५ वटा सहकारीविरुद्ध मुद्दा दर्ता भएको उपप्रमुख कार्कीले जानकारी दिइन्।  सहकारीहरु अस्तव्यस्त देखिएको  बताउँदै उनले भनिन्, ‘पछिल्लो सहकारीको  व्यालेन्स सिट, बैंक स्टेटमेन्ट मैले आफैँ पनि लिएर आएर बुझ्ने काम गरेको सहकारीले दिएको अडिट रिपोर्टमा राम्रो देखिने गरेको  भए पनि सहकारीको हरेक दिन  महानगरमा उजुरी आइरहेको बताइन्।

उनले भनिन्, ‘अब यसरी हुँदैन हामीले नै हेर्नुपर्छ भनेर विज्ञलाई राखेर काम गरिरहेका छौं। बैंक स्टेटमेन्टसँग ब्यालेन्स सिट राखेर हामीले हेरिरहेका छौँ।’

विराटनगर महानगरपालिकाकी न्यायिक शाखाकी अधिकृत शारदा थपलियाले सहकारीहरुले ठगेको फरकफरक केसहरूमा मुद्दा परेको जानकारी दिइन्। यस्तै, न्यायिक समितिमा किसान बचत तथा ऋण सहकारीले पनि ठगी गरेको उजुरी परेको बताउँदै उनले ५० हजारदेखि डेढ लाखसम्म बचत गरेको र नपाएको भन्दै किसानहरुले मुद्दा दर्ता गराइएको जानकारी दिइन्।

उनले तुलसी सहकारीको ठूलो समस्याको रुपमा आएको बताउँदै हाल विराटनगर महानगरपालिकाको न्यायिक समितिमा पाँच वटा सहकारीका ३० जनाजति पीडितहरुले उजुरी दिएको समेत बताइन्।

यता, जिल्ला प्रशासन कार्यालयका  सहायक  प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले  सहकारीको सम्पूर्ण सञ्चालकको खातालगायत सम्पत्ति रोक्का गर्ने  निर्णय  गरेको जानकारी दिए। आज बसेको छलफलले  सञ्चालक समितिको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.