|

नेपालमा राजतन्त्र बिनाको शासनको अभ्यास भएको अहिले मात्रै हो र यो पहिलोपटक पनि हो। किराँतकालमा धेर थोर गणराज्यको रुपमा अभ्यास भएको थियो। तर, शासक भने राजा नै थिए। विभिन्न कालखण्डका राजतन्त्रात्मक शासन व्यवस्थामा एउटालाई हटाएर आफू राजा बन्ने होडमा थुप्रै काण्ड तथा वितण्डाहरु भएका थिए। 

विश्व अन्तरिक्षमा  प्रवेश गरेको शताब्दीऔँ भइसक्यो। तर, नेपालले किन प्रयास गर्न सकेन? जेट विमानदेखि विद्युत्, यातायत, सूचना प्रविध, सञ्चार लगायतका कुनै आविष्कारमा नेपालको देन किन रहेन? नेपालले न्यूनतम रुपमा यो आविष्कार गर्यो अर्थात् सामाजिक विकास गर्यो अर्थात् आर्थिक विकास गरेर मानव समुदायलाई कायापलट गर्यो भनेर भन्न सकिने अवस्था थियो र?  अहिलेको चौध-पन्ध्र वर्षभन्दा अगाडि त राजतन्त्र नै थियो।

अहिले अचम्म लाग्छ किन राजतन्त्र भनेर नागरिकहरुले विवेक गुमाएका होलान्? नेपालमा गणतन्त्र गोला प्रथामार्फत ख्याल ख्यालमा ल्याएको हो र? यो गणतन्त्र प्राप्तिका लागि विवेकी, जोसिला र होसिला कैँयौँ नागरिकहरुको बलिदानी रहेको छ।

राणातन्त्र हुँदा पनि हुक्के चिलिमे, चाकडी तथा चाप्लुसी गर्न सिपालुहरु खुसी नै थिए। राणाकालको समाप्तिसँगै तिनीहरु पनि केही समय बगरको माछासरह बनेकै हुन्। 

सधैँ चिया पसलदेखि मेलापात र सरकारी तथा निजी कार्यालयसम्म यो दल ठिक कि त्यो नेता ठिक नभनि कुन काम राम्रो हो? अनि सरकारी पदाधिकारीहरुले काम गर्न सक्ने  कि ठाउँ खाली गर्ने भन्ने तर्फ ठोस  बहस र ठोस कामको योजना आवश्यक छ। विदेशमा बसेर आलोचना गर्दैमा र स्वदेशमा बसेर कसैको झोला बोक्दैमा देश समृद्ध हुँदैन।

पुन: राणा शासन फर्काउनका निमित्त तरवार आन्दोलन शुरु गरेको इतिहास मरेको छैन। त्यो आन्दोलनमा पनि त कैयौँ मानिसहरु लामवद्ध भएकै हुन्। के राणा शासन राम्रो थियो भनेर आज वकालत गर्न कसैलाई भित्रैदेखि आँट आउछ त?

राजतन्त्रको अन्त्य हुँदा पनि केही मानिसहरुमा त्यही पुरानो संस्कारले काम गरेको देखिएको छ। तपाईं हाम्रा बुबाआमा अझ हजुरबुबा हजुरआमा अझैसम्म त हुनुहुन्छ त। एकचोटि सोध्ने कि? सामाजिक न्याय र मानव अधिकारका अवस्था कस्ता थिए? त्यो जीवन हामीले जिउनु त परेन नि। काम गरेर स्वतन्त्र रुपमा खान र बाँच्न त पाएका छौँ। यसको लागि जीवन उत्सर्ग गरेका महान सहिदहरुको अपमानस्वरूप फेरि राजतन्त्र भनेर त्यो रगतको खिलापमा उत्रिने अधिकार कसैलाई पनि छैन।

हरेक देशमा हुने शासन भनेको शासक र शासितहरु बीचको सम्झौता हो। राजतन्त्रमा लामो समयसम्म एउटै मानिसले शासन गर्न पाउँदा उसले राम्रो गर्न खोजेका खण्डमा राम्रो हुनसक्ने सम्भावना एउटा सकारात्मक पाटो हो। तर, यदि खराब मानिसको हातवाट शासित बन्नुपर्‍यो भने जीवन कस्तो होला? आवधिक प्रणाली नभएको उत्तराधिकारवाला शासकलाई सत्ताच्युत गर्न त सजिलो छैन।

हिजोको बर्बर राणाकालमा नेपालीको जीवन कस्तो थियो होला? त्यो बेला छोरी चेली अर्थात् महिलाहरुको सुरक्षाको अवस्था कस्तो थियो भनेर एकपटक सोचौँ त। एउटै राजाकी रानी ३०-३२ वटी थिए भनेर इतिहास पढ्दै गर्दा त्यो शासक र राजतन्त्र प्रति सोच्न किन नसकेको? त्यस्तो शासकका माझमा समाजचाहिँ कति पवित्र थियो होला र?

राजतन्त्रकालमा जातजाति, पेसा, धर्म, लैंगिक अवस्था लगायतका पक्षको अवस्था सहजै अनुमान गर्न सकिन्छ। अनि तिनै महिला, तिनै दलित, तिनै जनजातिले राजतन्त्र जिन्दावाद भन्नु भनेको के हो? उनीहरुले आफैँले आफ्नो खुट्टामा बञ्चरो हान्दै छन्।

यदि उनीहरुले आज त्यहि चाहेको हो र त्यही पूरा हुने हो भने फेरि उनीहरुको सन्ततिहरुले अर्कोपटक बलिदानी दिनुपर्ने निश्चित छ। इतिहासले धिक्कार्छ। तर यो विल्कुल असम्भव कुरा हो। मानिसहरुले बेलैमा यो कुरा मनन गरेर समयको बर्बादीतिर नलागी नियमित काममा लागेर देशलाई उत्पादकत्वतर्फ लैजाँदा वेश हुन्छ।

सत्य कुरा के हो भने देशमा गणतन्त्र आईकन नागरिकले थप उन्नतिको अनुभूति नगरेको पक्कै हो। यसमा केही स्वाभाविक कुराहरु छन्। हिजो जसले राजखानदानको वरिपरि रहेर सत्ता र सम्पत्तिको स्वाद लिइरहेका थिए उनिहरु राजतन्त्र नै ठिक भनिरहेका थिए। गणतन्त्र आवश्यक छ र प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वासीहरुको प्रयत्न र जोसिलो बलिदानीका कारण राजतन्त्र घुँडा टेक्न पुगेर बनेको नयाँ व्यवस्थामा तिनै नयाँ र पुराना प्रवृत्तिका मानिसहरुले सत्ता अभ्यास गरिरहेका छन्।

अहिले आरोप, प्रत्यारोप, खरो भाषण, सस्तो लोकप्रियता तथा यस्तै अन्य उपायहरु मार्फत सत्तामा पुग्न सकिन्छ कि भन्नेहरु र देशलाई निकास दिनुपर्छ भन्नेहरु बीचको द्वन्द्वका कारण देश एककिसिमको संक्रमणकालीन अवस्थामा फसेको छ। जसको कारण समाज रुपान्तरणमा समस्या भएको कुरा साँचो हो।

अहिले नागरिकमा चरम निराशा छाएको छ। यसमा केहि सत्यता छ। यसका प्रमुख दुई कारणहरु छन्। एउटा सत्ता स्वादको सामन्ति संस्कार निर्मूल नहुनु  र अर्को नागरिकहरुमा चरम आकांक्षा र महत्वाकांक्षा बढेर जानु।

अहिले नेताहरु राजनिति निजी जीवन र सत्ताको लागि मात्र हो भन्ने अवस्थामा प्रवेश गर्नुले राज्य र समाजको आवश्‍यकता ओझेलमा पर्दै गएका छन्।

अर्कोतर्फ नागरिकहरु डलर र धेरै धनको लोभमा विश्वको कुना कन्दरा चहार्दै छन्। नेताका र नागरिकका यी गतिविधिले कदापि देश बन्दैन। यही गति कायम रहने हो भने देश थप टाट पल्टने पक्का छ।

यो सबै नतिजा शासकिय व्यवस्थाका कारण भएको होइन। व्यवस्थाका कारण खर्च बढेको पक्कै होला। यसलाई कटौती गर्नेतिर सरकार, नागरिक, राजनीतिक दल र नागरिक समाजले सोच्नैपर्छ। कसरी सरकारी खर्च घटाउने, कसरी राजस्व बढाउने, कसरी राजस्व चुहावट र भ्रष्टाचार रोक्ने, कसरी स्वदेशी उत्पादन बढाउने, कसरी नागरिकहरुलाई स्वदेशमा नै रोक्ने, प्राकृतिक स्रोत साधनहरुको अधिकतम उपयोग कसरी गर्ने? भन्नेतर्फ बहस गर्न ढिला भइसक्यो।

राज्यको बारेमा सोच्ने हो भने यि खालका कुराहरु सोच्ने, छलफल गर्ने तथा बहस गर्नुपर्ने बेलामा राजतन्त्र ठिक कि गणतन्त्र ठिक भनेर बहस र आन्दोलन गर्नु भनेको उल्टो दिशातर्फ यात्रा गर्नु  नै हो।

अहिले दुर्गा प्रसाईंको यात्रा र केही मान्छेहरुको समर्थन हेर्दा निराशा, आक्रोश, कुण्ठा, अनभिज्ञता, अविवेकीपन र महत्वाकांक्षाको खिचडी भन्न सकिन्छ।

राजनीति नै देश तथा विश्व बदल्ने एउटा प्रमुख अस्त्र हो। राजनीतिक दर्शन र व्यवहार सकारात्मक भएमा परिवर्तन र विकासमा चमत्कार आउन सक्छ भने मानिसले बल्ल मानव भएर बाँचेको महसुस गर्न सक्छन्। यसर्थ अब सकारात्मक राजनितिक संकारको खोजी र विकास गर्न जरुर देखिन्छ। 

अब देशलाई निकास दिनैपर्छ। देशलाई सकारात्मक दिशामा अघि बढाउन बुद्धिजीवी, प्राध्यापक, अनुभवी वौद्धिक व्यक्तित्व  अध्ययनशील विद्यार्थी लगायतका व्यक्तित्वहरु माझ विकासको साझा सवाल बनाएर बहस छेड्नुपर्छ।

सधैँ चिया पसलदेखि मेलापात र सरकारी तथा निजी कार्यालयसम्म यो दल ठिक कि त्यो नेता ठिक नभनि कुन काम राम्रो हो? अनि सरकारी पदाधिकारीहरुले काम गर्न सक्ने  कि ठाउँ खाली गर्ने भन्ने तर्फ ठोस  बहस र ठोस कामको योजना आवश्यक छ। विदेशमा बसेर आलोचना गर्दैमा र स्वदेशमा बसेर कसैको झोला बोक्दैमा देश समृद्ध हुँदैन। जसले शासन गरे पनि काममा केन्द्रित बन्नुपर्‍यो। नागरिक उत्पादनमा लाग्नुपर्यो। सरकारले नागरिकहरूलाई काममा हौसला र सहजीकरण गर्नुको विकल्प छैन।

शासन विधिको विकल्पको कुरा बन्द गरेर विकासका सम्भावनाहरुको बहस गर्नु आजको आवश्यकता हो। व्यक्ति प्रधान हैन। नीति, पद्धति र कार्यान्वयन नै सर्वोपरी हो। विश्वव्यापीकरण, विश्ववजारीकरण र विश्वशासनलाई आम्मसात गर्दै विश्व प्रविधि सँग हातोमालो गर्नु नै आजको अन्तिम विकल्प हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.