|

काठमाडौं : नेपालको राजनीति अहिले झनै विकृत बन्दै गएको छ। नयाँ पुराना सबैजसो दलले राजनीति सेवा नभएर व्यवसायको रूपमा लिन थालेपछि इमानको राजनीति गर्नेहरूको भविष्य संकटमा परेको छ।

पाँच दशकभन्दा लामो समयदेखि सक्रिय राजनीतिक जीवनमा रहेका वामपन्थी नेता मुकुन्द न्यौपाने अहिले यस्तै महशुस गर्न थालेका छन्।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी परित्याग गरेर नेता न्यौपाने फेरि एमालेमै फर्कन लागेको बताइरहेका छन्। पञ्चायतविरुद्ध जेल र भूमिगत जीवन बिताएका न्यौपाने एमाले लगायतका थुप्रै दल खोल्ने संस्थापक नेतामा पर्छन्। यिनै नेता न्यौपानेसँग थाहाकर्मी जगत भण्डारीले एमालेमा फर्कनुको कारण लगायतका विषयमा गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पाँच दशकभन्दा लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय हुनुहुन्छ। हालै मात्र एकीकृत समाजवादी परित्याग गर्नुभयो, किन

जब हामीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्‍यौँ त्यसको कारण तत्कालीन नेकपा विभाजन नै हो। त्यहाँ दुई अध्यक्ष बनाइएको थियो। यो संसारमा कम्युनिस्ट पार्टीमा मात्र होइन बुर्जुवा पार्टीमा पनि देखेको छैन। त्यसमा तँ ठूलो कि म ठूलो भन्ने द्वन्द्व यतिसम्म चुलियो कि, पार्टीको बैठक बस्न नसक्ने, पार्टीकै नेतृत्वलाई सरकार चलाउन दिनेसम्मको खेल भयो।

त्यसबीचमा विभिन्न सहमति भए तर कार्यान्वयन होइन नयाँ नयाँ खेल र षडयन्त्र सुरु भयो। जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गर्नुभयो। त्यतिबेला हामीले त्यो गलत हो भन्यौँ।  

त्यसपछि कांग्रेससँग गठबन्धन भयो, मिलेर स्थानीय तहको चुनावमा गयौँ। त्यतिबेला कांग्रेसले धोका दियो। भोजपुर, बारा र मकवानपुरमा रूख चिन्हबाट उठे मात्रै दिने भनेछ। गठबन्धन कायम राख्न त्यतिबेला साथीहरुले त्यसरी नै चुनाव लड्नुभयो।

उदयपुरमा समाजवादीले जित्ने ठाउँमा कांग्रेस र माओवादी मिलेर हराएछ। ओखलढुगांमा एमाले र कांग्रेस मिलेर हराएछ। त्यो देखेर मैले पार्टीको बैठकमा आगामी निर्वाचनमा यही गठबन्धनबाट जानु हुँदैन बरु एमालेसँग मिलेर जाऔँ भन्ने प्रस्ताव राखेँ। तर, पार्टीका नेताहरुले मलाई जानकारी नदिएर भदौ १ गते एमालेबाहेकको गठबन्धन भनेर सर्कुलर गर्नुभयो। त्यसपछि प्रचण्डले चुनावी भाषण गरेरै हिँड्नुभयो।  

त्यसपछि मैले एउटा लेख लेखेँ। चुनावमा जमानत जफत भएपछि जनताको जनादेश स्विकारेर अगाडि बढौँ हाम्रो गुटलाई जनतालाई अस्वीकार गरे अब एमालेसँग मिलेर जाऔँ भन्ने मत राखे। चैत २१ को पार्टीको बैठकमा प्रस्ताव नै लगे तर नेताहरू छलफलतिर होइन लुकाउनतिर लागे। 

यत्रो बलिदान र संघर्षबाट हामी जब ०४७ सालयता संसदमा पुगे। त्यसपछि लाभका पद मैले पाउनुपर्छ भन्ने भावना बढ्दै गएको छ। मैले दोहोर्‍याएर तेहराएर पाउनुपर्छ भन्ने छ। कांग्रेसका सभापति शेरबहादुर देउवा सात पटक पुर्‍याउन ज्योतिषीको पछि लाग्नुभएको छ।

प्रचण्डजी तीन पटक हुनुभयो, अब म पनि शेरबहादुर जी जति किन नहुने भन्ने सोच्नुभएको होला। देशको अर्थतन्त्र संकटमा पर्नुको कारण को हो ? उहाँहरु प्रधानमन्त्री बनेर के भयो भन्ने हेर्नुभएको छैन। नेपालका शीर्ष नेताहरुमा भारतका महन्तहरूको संस्कार (सय जनालाई बोलाउनुस् एउटाले अर्कोलाई स्वीकार गर्दैन। बराबरीका कुर्सीमा बस्न सक्दैनन् त्यो भन्दा म ठूलो भन्छन्।) देखिएको छ। हाम्रा नेता पनि त्यस्तै भए। 

माक्सबादले संस्कृतिबाट संस्कार बन्छ, संस्कारबाट स्वभाव बन्छ। जब संस्कृति सुधार गर्दैनौ भने त्यसैमा जकडिन्छौ भन्छ। त्यही देखिएको छ नेपालको दल र नेतामा। एउटै देशमा दश कम्युनिस्ट पार्टी हुन्छन्? त्यसैले मेरो लडाई सैद्धान्तिक वैचारिक लडाइ यसैलाई सुधार्नका लागि हो। 

अहिले नैतिकताको राजनीति संकटमा पर्नुको कारण के हो

२०२६ सालमा जब मलाई राजनीति सक्रिय हुनुपर्छ भन्ने लाग्यो त्यसको एक वर्षपछि ०२७ सालमा घर छोडेर हिँडे। लगत्तै ०२८ सालमा पञ्चायतविरुद्धको आन्दोलनमा भूमिगत भए। बहुदल आउन्जेलसम्म १९–२० वर्ष भूमिगत बसियो। केही महिना जेल जिवन पनि बिताउनुपर्‍यो।

त्यतिबेलाको समय सम्झिँदा अहिले पनि आँखाबाट आँसु आउँछ। नेकपा माले, एमाले लगायतका थुप्रै पार्टीको संस्थापक पनि भइयो। सुशील कोइराला प्रधानमन्त्री हुँदा मलाई मन्त्रीमा जा भनियो मैले जान्नँ भनेँ। दुईपटक समानुपातिक सांसद बन् भन्दा पोखराको चूडामणि जंगलीलाई अघि सारेँ। उपाध्यक्षमा धेरैपटक उठ् भनियो मैले अस्वीकार गरेँ।

त्यसपछि बामदेव गौतमले मलाई तपाईं जोगी हुनुपर्ने मान्छे रहेछ। यो दिँदा पनि हुन्न अर्को दिँदा पनि खान्नँ भन्नुहुन्छ भन्नुभयो। म १७ वर्षमा झापा झरेँ। १४ वर्षसम्म गोठालो गर्थें। अहिले यो ठाउँमा कसले पुरार्‍यो जनताले होइन? भनेर बामदेवजीलाई सम्झाएँ। अहिले पनि हाम्रा नेताको प्रवृत्ति ४० वर्ष अघिको पन्चको जस्तै देखियो। यसले देशलाई के फाइदा भयो त? (उनले प्रतिप्रश्न गरे)

तपाईं एमालेमा फर्कने किन त?

म त सबभन्दा धेरै पृथ्वीनारायण शाहलाई सम्झन्छु। उनले नेपाल एकीकरण नगरेको भए आज हामी नेपाली हुन्थेनौँ। बहादुर शाह, महेन्द्र र वीरेन्द्र पनि देशभक्त हुन्। उनीहरूले मेहनत गरेर चीनसँगको सम्बन्ध नसुधारेको भए नेपाल त्यतिबेलै सिक्किम भइसक्थ्यो।

अहिले पनि त्यही प्रयास भइरहेको छ। त्यसैले त्यस्तो हुनबाट जोगाउन देशमा एउटा राष्ट्रभक्ति पार्टी चाहिन्छ। त्यो भनेको नेकपा एमाले नै हो। त्यसैले हामी सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने लागेको छ।  

तपाईँ कहिले एमालेमा औपचारिक रूपमा प्रवेश गर्नुहुन्छ त?

अब चाँडै औपचारिक रूपमा घोषणा हुन्छ। म मात्र होइन एकीकृत समाजवादीका धेरैले छोड्दै छन्। करिब ६० प्रतिशतले त्यो महसुस गरिसकेका छन्।

एमालेमा फर्केकाहरूलाई राम्रो व्यवहार देखिँदैन नि! 

नेता तीन किसिमका हुन्छन्। राजनेता, नेता र सरदार। राजनेताले राष्ट्र र जनताको हित हेर्छ , त्यसपछि मात्र पार्टी र आफ्नो हित हेर्छ। नेताले पार्टीको हित अनि मात्र देश जोगाउँछु भन्छ। सरदारले सुरुमा आफू त्यसपछि परिबार र पार्टी त्यसपछि मात्र देशको हित मात्र हेर्छ।

अब हाम्रो पार्टीमा सरदार प्रवृत्ति होइन नेता र राजनेताको रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ। अहिले ग्रासरुढ अभियान चलेको छ। उनीहरुको योगदान हेर्नुपर्‍यो। मलाई मान्छन् कि मान्दैनन् भन्ने मुख्य कुरा होइन। पुरोहितले जस्तो, माक्सबादले आफूमाथि विश्वास गर जनतामाथि भरोसा गर भन्छ। मैले बुझेको यत्ति हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.