प्रदूषणबाट काठमाडौंमा मात्रै बर्सेनि ५ हजारको मृत्यु

|

काठमाडौं : हरेक वर्षजसो चैत-वैशाखको यो मौसममा काठमाडौं विश्वकै प्रदूषित सहरमा पर्ने गरेको छ। काठमाडौं मात्र होइन देशका अन्य सहरको वातावरण पनि प्रदूषणयुक्त रहेको छ।

कारण हो, डढेलोको धुवाँले उपत्यकाको आकाशमा भरिएको मुस्लो, सवारीसाधनबाट निस्कने धुवाँ। यो समयमा प्रदूषण हुने कारण, प्रदूषण हुन नदिन सरकारले गर्नुपर्ने काम, प्रदूषणबाट बच्न आम नागरिकले अपनाउनुपर्ने सचेतना लगायतका विषयमा वातावरणविद् भूषण तुलाधरसँग थाहाकर्मी जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

माथि उल्लेखितबाहेक काठमाडौं प्रदूषित बन्नुको थप कारण के हो

मुख्य त डढेलो नै हो। त्यसपछि सहरी क्षेत्रमा सवारी साधनबाट निस्कने धुवाँ हो। गाउँतिर चाहिँ साधारण भान्साको कारण हो। जस्तो कि हालै सार्वजनिक जनसंख्याको पछिल्लो विवरणअनुसार आधाभन्दा धेरै जनसंख्या अझै पनि धुवाँ निस्कने चुल्होको प्रयोग गर्छन्।

त्यसले पनि प्रदूषण थप्छ भने त्यसैगरी इँटाभट्टा, उद्योग र फोहोर जलाउनाले पनि भएको पाइन्छ। अर्को कारण हावाको माध्यम पनि हो।

बर्सेनि प्रदूषण यो तहसम्म बढ्दै गएको देखिन्छ तर सरकारले न्यूनीकरणका लागि पहल गरेको छैन हैन?

अलिअलि गरेको छ तर यो पयाप्त छैन। जुन तहमा काम गर्नुपर्थ्यो, जुन संवेदनशीलताका साथ हेर्नुपर्थ्यो त्यसरी हुन सकेको छैन। 

सरकारले गर्नुपर्ने मुख्य काम के के हुन्

थुप्रै छन्। सबभन्दा पहिला काठमाडौंको प्रदूषण न्यूनीकरण गर्नका लागि आजभन्दा तीन चार वर्ष पहिला नै मन्त्रिपरिषद्ले नै कार्ययोजना पारित गरिसकेको छ। यो काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजनामा १३७ वटा विभिन्न कार्य छन्।

तिनलाई कार्यान्वयन गरे मात्रै पनि धेरै हुन्थ्यो। त्यसका लागि एउटा कार्यान्वयन समिति छ त्यसको बैठक बोलाएर सबैसँग समन्वय गरेको भए हुन्थ्यो त्यस्तो हुन सकेन।  

नेपालमा त डेटाहरु कमै छन्। विदेशीहरूले यहाँको डेटाहरुलाई निहालेर विभिन्न रिपोर्टहरु निकालेका छन्। काठमाडौंकै प्रदूषणबाट हरेक वर्ष ५ हजार र काठमाडौँ बाहिर करिब एक हजारको मृत्यु हुन्छ भन्ने आँकडा छ। तर त्यो सबै प्रदूषणका कारण हो भनेर लेखिएको हुँदैन।  

काठमाडौंबाहिरको कुरा गर्दा हरेक वर्ष डढेलोको घटना बढिरहेको छ। यो सिजनमा सरकारले कुनै पनि योजना बनाएको छैन। वन व्यवस्थापनमा सरकारले ठोस कुनै कार्य देखिँदैन। अर्को भनेको चुल्हो हटाउन स्वच्छ इन्धन पुर्‍याउनुपर्थ्यो त्यो काम पनि भएको छैन। 

डढेलो नियन्त्रणका लागि सरकार वा सरोकारवाला निकायले गर्नुपर्ने मुख्य काम के हुन्?

डढेलोको सिजन सुरु हुनुभन्दा अघिदेखि नै वन उपभोक्ता समितिहरूको सहकार्यमा डढेलो (९० प्रतिशतभन्दा धेरै मानवीय कारणले हुने भएकाले) नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ।

 डढेलो लागिहाले नियन्त्रण गर्ने उपाय सिकाउनुपर्ने, सहरी क्षेत्रमा सवारीबाट निस्कने धुवाँ नियन्त्रण गर्नका लागि मापदण्ड छन्, प्रदूषण जाँच गर्ने यन्त्र छन्। हरियो स्टिकर दिने प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ। 

अर्को ट्राफिकले जसरी मापसे वा कागजपत्र जाँच गर्छ त्यसरी धुवा फालिरहेको सवारीलाई पनि वातावरण जाँचेर बनाउनुपर्ने भए ग्यारेजमा पठाउने नभए कारबाहीसम्म गर्नुपर्‍यो। त्यसका लागि नीति नियम छ कार्यान्वयन गर्नुपर्‍यो। 

दीर्घकालीनरुपमा सोच्ने हो भने अर्थतन्त्र नै बदल्नुपर्छ। अहिले विधुतको आपूर्ति बढिरहेको छ, विद्युतीय ऊर्जाद्वारा चल्ने अर्थतन्त्र बनाउनुपर्छ।

यातायातका साधन विधुतिकरण गर्नुपर्छ, भान्सामा विद्युतीय चुल्हो र उद्योगमा पनि स्वदेशी विद्युत् नै प्रयोग गर्दा देशको अर्थतन्त्रमा टेवा पुग्छ। 

स्थानीय तह आइसकेपछि सवारी जाँच त महानगरले पनि गर्न सक्थ्यो। स्थानीय तहले पनि गर्न नसकेको हो?

हो। स्थानीय तहको पनि आफ्नै प्राथमिकता छ। फोहोर लगायतकै कुरामा केन्द्रित देखिन्छ। जसले यसतर्फ ध्यान गएको देखिँदैन।

अहिले संघीय सरकारले नै गरेकाले नगरेको पनि हुन सक्छ। विशेषगरी काठमाडौंमा त १८ वटा नगरपालिकाले मिलेर गर्दा प्रभावकारी हुन्छ। किनभने यहाँको सवारीसाधन एक ठाउँबाट अर्को ठाउँमा एकछिनमा ओहोरदोहोर भइरहेको हुन्छ। हालै मात्र मेयर्स फोरम भन्ने पुनर्गठन भएको छ। उहाँहरू मिलेर काठमाडौँ उपत्यकामा छिर्ने सवारीको प्रदूषण जाँच पास गर्नुपर्छ भनेर लाग्ने हो भने सम्भव छ।

नगर प्रहरी पनि खटाउन सकिन्छ। महानगर नगरपालिकाले फोहोर जलाउने काम रोकियो भने प्रदूषण न्यूनीकरण हुन सक्छ। 

तपाईँ लामो समयदेखि यस विषयमा बोल्दै आउनुभएको छ। अध्ययन गरिरहनुभएको छ। किन प्रदूषण नियन्त्रणमा काम हुन नसकेको जस्तो लाग्छ तपाईँलाई

प्रमुख कारण प्राथमिकता मै नपरेको हो। अहिले पनि वन तथा वातावरण मन्त्री हुनुहुन्न। प्रदूषण नियन्त्रणका लागि पेट्रोल डिजेल खरिद गर्दा लिटरमा हरेकले डेढ रुपैयाँ तिरिरहेको छ, त्यहाँ करिब १६ अर्ब जति जम्मा भइसकेको छ तर त्यो के मा खर्च गर्ने भन्ने नै छैन।

संघीय सरकार र स्थानीय तहबीच सँगै मिलेर काम गरौँ भन्ने तालमेल हुन नसक्नु पनि हो। अर्को भनेको योजना नै छैन। टालटुले काम मात्रै भएको छ। केही दिनअघि मात्र वातावरण विभागबाट प्रदूषण बढिरहेको छ भन्ने सूचना मात्र आयो। हामी यसो गर्दैछौँ भन्ने कुनै योजना आएन। 

हाम्रो छिमेकी मुलुक भारतको नयाँ दिल्ली, चीनको बेइजिङ, हङकङ लगायतका सहर पनि प्रदूषित सहरमै पर्छन्। त्यहाँ पनि हाम्रो जस्तै सरकारी नियति हो कि उनीहरूले गरेका अभ्यास हामीले अनुशरण गर्न सकिने छन्

धेरै ठाउँमा यसलाई प्राथमिकतालाई राखेर काम गरिएको छ। केही दशक अघिसम्म मेक्सिको सिटीलाई प्रदूषणयुक्त मानिन्थ्यो, त्यहाँ मेक्सिको सरकारले धेरै लगानी गरेर चासो दिएर सुधार गर्‍यो।

बेइजिङमा पनि उद्योगलाई सहरी क्षेत्रबाट हटाउने, यातायात प्रणालीलाई सफा गर्ने भएको छ। दिल्लीमै पनि सवारीसाधनलाई विद्युतिकरण गर्ने र जाँच गर्ने कामलाई प्राथमिकतामा राखिएको छ। हङकङको कुरा गर्नुभयो, त्यहाँ ८५ प्रतिशत यात्रा सार्वजनिक यातायातबाट हुन्छ।

तिनीहरू धेरै विद्युतबाट चल्छन् अथवा एकदमै कम धुवा फाल्ने शून्य सिक्स मापदण्डका सवारी चल्छन्। हामीकहाँ चाहिँ त्यस्तो कुनै पहल भएको छैन। हामीलाई त अझ सजिलो हुन्थ्यो गरेको भए। 

प्रदूषणबाट बच्न आम नागरिकले खेल्नुपर्ने भूमिका र अपनाउनुपर्ने सचेतना के हो ?

यो प्रदूषण हुनुको कारण जनता पनि एक हुन्। फोहोर जलाउने, धुवाँ फाल्ने सवारी चलाउने काम नगरौँ। प्रदूषण घटाऔँ प्रदूषणबाट बचौँ। अर्कोतर्फ हाम्रा जनप्रतिनिधि, स्थानीय सरकार, संघीय सरकार कसलाई हुन्छ आवाज उठाऔँ। घच्घचाउने काम गरौँ। 

प्रदूषणले जनस्वास्थ्यमा पार्ने अल्पकालीन वा दीर्घकालीन समस्याहरू के छन्? त्यस्तो डेटा केही छ

नेपालमा त डेटाहरु कमै छन्। विदेशीहरूले यहाँको डेटाहरुलाई निहालेर विभिन्न रिपोर्टहरु निकालेका छन्। काठमाडौंकै प्रदूषणबाट हरेक वर्ष ५ हजार र काठमाडौँ बाहिर करिब एक हजारको मृत्यु हुन्छ भन्ने आँकडा छ। तर त्यो सबै प्रदूषणका कारण हो भनेर लेखिएको हुँदैन।

मुटुको रोगका कारण मृत्यु भएको छ भने त्यसमा प्रदूषणको कारण एकतिहाइ हुन्छ। फोक्सो लगायतको कारणले हुने मृत्यु पनि प्रदूषण जोडिन्छ। मृत्यु हुनुका प्रमुख पाँच कारणमा प्रदूषण मुख्य मानिन्छ। 

तत्काल असर पर्ने भनेको दीर्घकालीन रोगका बिरामीहरूलाई बढी असर पर्छ। वृद्धवृद्धा, बालबालिकाले विशेष सचेतना अपनाउनुपर्छ। प्रदूषण बढी हुने समय बिहान बेलुकी घर बाहिर ननिस्कने, निस्कनै परे मास्क लगाएर मात्र निस्कने गर्नुपर्छ।

घरमा निकै संवेदनशील व्यक्ति छन् भने तपाईं इएर क्युरिफायर राख्न पनि सक्नुहुन्छ जसले तपाईँको कोठाको हावा सफा गरिदिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.