|

काठमाडौं : अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदूषणका कारण पनि घरबाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले आग्रह गरेका छन्। 

यो हरेक काठमाडौंवासीको समस्या हो। मास्क नलगाई हिँड्डुल गरे नाक, कान र घाँटीमा समस्या आउँछ। मास्क नलगाइ घरबाहिर निस्किए बिरामी हुने साझा समस्या छ राजधानीवासीमा।

अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक, कान र घाँटीका बिरामीहरू बढेको बताउँछन्। 

मौसम परिवर्तनका कारण नाक सुक्खा हुने र संक्रमित बढ्ने गरेको कटवालको भनाइ छ। उनले पछिल्लो समय नेपालमा वायु प्रदुषणको मात्रा बढिरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न सुझाव दिए।

उनले नाक, कान र घाँटीको समस्या सकेसम्म घरमै उपचार गर्ने र सहन गर्न नसके मात्रै अस्पताल जान आग्रह गरे। 

उनले नेपालमा एन्टिबायोटिकको धेरै अनावश्यक प्रयोग भइरहेको भन्दै चिकित्सकको सल्लाह र सुझाव लिएर मात्रै औषधिको प्रयोग गर्नुपर्नेमा जोड दिए। 
अल्का अस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डा. शास्वत कटवालसँग गरेको कुराकानीको सम्पादित अंश :

मौसम परिवर्तनसँगै अलि बढी नाक, कान र घाँटीका बिरामीहरू बढेको देखिन्छ किन?

हाम्रो जुन नर्मल म्युकोजा भन्ने लाइनिङ हुन्छ, नाकको त्यो वेदर चेन्ज (मौसम परिवर्तन) ले गर्दा ड्राइ (सुख्खा) हुन्छ। त्यही भएर संक्रमित हुने सम्भावना बढी हुन्छ। त्यसैले जहिले पनि मौसम परिवर्तन हुँदा संक्रमण हुने सम्भवाना बढी हुने हो।

धेरैजसो राइनो भाइरस भन्छौँ हामीले। यो चाहिँ जाडो महिनामा संक्रमित हुने सम्भवाना धेरै हुन्छ। रुघाखोकी लाग्ने कारण पनि त्यही नै हो। हाम्रो नर्मल म्युकोजा जुन हुन्छ नाकको त्यसले राम्रोसँग फङ्सन गर्न नपाएर, सुख्खा भएर राम्रोसँग काम गर्न नसकेर संक्रमण बढिरहेको हुन्छ। 

नाक, कान र घाँटी फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन्? यिनीहरू कसरी जोडिन्छन्?

रुघा लागिराख्यो भने र नाक र कान बीचको (पाइप) नशा बन्द भयो भने कानमा इन्फेक्सन देखिने, वा घाँटीमा इन्फेक्शन देखिने भयो भने त्यही नाक र कानको बीचको (पाइप) नस जुन इन्टरकनेक्टेड छ, त्यसले गर्दा इन्फेक्शन एक अर्कामा जाने भएकाले गर्दा नाक, कान, घाँटीसँगै जेडिएर आउँछ। 

कुनै बेला पनि नाक, कान र घाँटीको समस्या आइरहेको नै हुन्छ तर हामीले त्यसको उपचार घरबाट नै खोजिरहेका हुन्छौँ यसलाई कसरी हेर्ने?

धेरैजसो नाक, कान र घाँटीमा समस्या हुने भनेको एलर्जी र ग्याँस्ट्रिकले गर्दा धेरै फरक पार्छ।

हाम्रो समस्या के छ भने नाक अलि दुख्यो भने पिनास भयो, अलिकति घाँटी दुखे टन्सिल भयो भन्छौँ र एन्टीबायोटिक खाइहाल्छौँ।

धेरैजसो समयमा भने इन्फेक्सन भएको हुँदैन। प्रायः हामीले एक्स्ट्रिम अफ टेम्पेचर फुडहरू नखाने हो भनेपनि धेरै फरक पर्छ। ओरलाइजिङ मेन्टेन गरेको खण्डमा पनि धेरै फरक पर्छ। हामी एकै पटक एन्टिबायोटिकमा जम्प गर्नुपर्ने हुँदैन। 

हामी सामान्य रुपमा घरबाट नै समाधान खोज्छौँ तर बिरामी धेरै भइसकेपछि मात्रै अस्पताल जान्छौँ, यसलाई कसरी सुधार्न सकिन्छ?

हाम्रो नाक, कान र घाँटीमा समस्या हुँदा एकैपटक आत्तिएर अस्पताल जानुपर्दैन। पहिला घरायसी उपचार नै गर्ने हो। त्यसले समाधान हुँदै गयो, सहज भयो भने अस्पताल जानु पर्दैन, तर एक, दुई दिनमा त्यो समाधान भएन वा समस्या बढ्दै गयो भने अस्पताल गएको राम्रो हुन्छ। ​

नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ?

नाकबाट रगत आउने भनेको नाथ्री फुट्ने नै हो। हाम्रो अरु ठाउँमा काटिएको जस्तै हो। तर हामी नाथ्री फुटिसकेपछि धेरै आत्तिन्छौँ, त्यसपछि समस्या धेरै हुने हो। त्यसले हामीलाई प्रेसर बढाउँछ।

रगत पनि बढी बग्छ। हामीले नआत्तिकन बस्यो भने नाक पिन्च गरेर बस्ने हो भने रोकिन्छ। त्यसपछि हामीले खोज तलास गर्नुपर्छ, की अरू रोगले पो नाकबाट रगत आएको हो कि भनेर? ९० प्रतिशत जति केसहरूमा डिजिज प्रोसेस नभएर साधारण नाकको नाथ्री फुटेर मात्रै रगत आउने हो।

हामीले घाँटी दुख्नेबित्तिकै एजिथ्रोभाइसिन, ५ दिनसम्म चलाइदिन्छौँ।

२१ दिनसम्म चलाएको बिरामी पनि मैले भेटेको छु। आफ्नै हिसावले। ठिक भए पनि नभए पनि उहाँले खाइरहनुभएको थियो। ठिक नभएकाले लगातार २१ दिन खानुभएको थियो।

हामीले यदि सहन गर्नसक्ने क्षमता भन्दा बढी भएको छ वा फिभर आयो वा खाना खान निकै नै गाह्रो भयो भने बल्ल अस्पताल जाने हो। नत्र सामान्य उपचार घरमा नै गरेर निको हुन्छ। 

प्रदूषणको क्रम बढिरहेको , सामान्य नागरिकले त्यसबाट बच्नका लागि कस्ता सावधानी अपनाउने?

हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। मास्कले नरोक्ने फोहोर पनि हुन्छन् जो हाम्रो नाक र मुखमा अड्किएर बस्छ।

त्यसैले जब हामी कार्यालयबाट घर र बाहिर निस्किएपछि घर जान्छौँ, पहिला नाक सफा गर्ने पानीले, त्यसपछि कुल्ला गर्ने, त्यसपछि मात्रै हाम्रा दिनचर्या कामहरू सुरु गर्नुपर्ने हुन्छ। त्यसले पनि संक्रमित हुनबाट बचिन्छ।

हाम्रोमा एन्टीबायोटिक मिस्युज (गलत प्रयोग) धेरै नै छ। हामी साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ। त्यो ठूलो गल्ती हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.