कोही कसैले पार्टी छाडेकोमा पछुतो छैन : कुमार लिङ्देन
कोही कसैले पार्टी छाडेकोमा पछुतो छैन : कुमार लिङ्देन
विराटनगर : कुनै समय स्वायत्त लिम्बुवान राज्य घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलकको पूर्वी भागलाई कार्यक्षेत्र बनाएर संगठित लिम्बुवान पार्टीको आन्दोलनले सडक मात्रै होइन सदनसम्म राप फैलाएको थियो।
लिम्बुवानी नेताहरू सडकमा उत्रिएर भाषण गर्दैगर्दा सिंहदरबार हलिन्छ भन्ने विविध किस्सा जानकारहरूबाट नै सुन्न पाइन्थ्यो। तर, ती उत्कर्षमा पुगेका आन्दोलन व्यक्तिगत स्वार्थका लागि नेतृत्व टक्करले लिम्बुवान पार्टी एकाएक छिन्नविन्न अवस्थामा पुगेको छ।
फुटको छिटाले केही समय शून्य रहेका ती पार्टी पछिल्लो समय प्रदेश १ ले कोशी नाम पाएसँगै बिउतिए पनि पुनः फुटको चेपुवामा पुगेको छ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ। धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गर्दै रञ्जीता श्रेष्ठ अध्यक्ष रहेको उन्मुक्ति पार्टीसँग एकता गरेको हो।
सोमबार विराटनगरमा ओयोजित एकता कार्यक्रममा लिङ्देनलाई कारबाही गरेपछि अध्यक्ष घोषित भएका मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका हुन्। पहिचान पक्षधरको बृहत् शक्ति निर्माण गर्न आफूहरूले पार्टी एकीकरण गरेको ज्ञानबहादुर गुरुङले बताएका थिए।
यता, ०७१ साउनमा १८ गते भेँडेटारमा भएको बृहत भेलाले पाँचवटा लिम्बुवान पार्टीहरूको एकतापछि संघीय लिम्बुवान पार्टी नेपाल निर्माण भएको थियो। तर, भेंडेटार एकताको करिब दुई वर्षपछि अध्यक्ष कुमार लिङदेनले लिम्बुवानी एकतालाई ‘किक’हान्दै आाफ्नो पुरानै पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चतिर लागेका थिए।
टुटफुट र नेतृत्वबीचको चेपुवामा रहेको पहिचानवादी पार्टी यतिबेला पहिचानसहित प्रदेशको नाम माग राख्दै सडक आन्दोलनमा छन्। यस्तो अवस्थामा फुटको अवस्था किन आयो? र आन्दोलनलाई कतिको असर पर्छ? भन्ने विषयमा रहेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनसँग थाहाखबरकर्मी सुजता लिम्बूले गरेको संक्षिप्त कुराकानी :
कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा होमिनुभएको तपाईंको पार्टी तपाईंलाई नै कारबाही गर्दै विभाजन भएर नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएको छ यस्तो अवस्था किन आयो?
यस्तो हो, मान्छे थोरै हल्ला धेरै भएको हो। यो समस्या विगत दुई वर्षदेखि थियो। यो संघीय मञ्च संघीय ढाँचाको पार्टी छ, एउटा पार्टी एघारवटा झण्डा संघीय लिम्बूवानको, खम्बुवानको भिन्न, ताम्सालिङको भिन्न, प्रान्तिय मञ्च खाल्को हो। तर, उहाँहरूको दुईवर्ष अगाडिदेखि नै यो बाटोले ढिलो हुन्छ उमेर गयो, चाँडै सत्तामा पुग्नुपर्ने खाल्का कुरा थियो।
यसले गर्दा पार्टीमा अप्ठ्यारो गाह्रो भएको थियो, हामी पार्टीमा आन्दोलन गर्ने आदिवासी समुदायमा आन्दोलन गर्नुपर्छ भनेर आएका हौँ। अन्त नजाऔँ आर्य समुदायकाहरू मकै खाएर लडे उनीहरू टिकेका छन्। उनीहरूको पार्टी बलियो बनेको छ।
उनीहरूको समाज बलियो छ, हामी उनीहरू जस्तो दुख गर्न सक्दैनौँ। हामीले पनि टिक्नुपर्छ, दुख गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। तर, उहाँहरूलाई हतार भयो। त्यसो त उहाँहरू गएकोमा हामीलाई कुनै पछुतो छैन।
तपाई स्वयम कारबाहीमा पर्नुभएको छ नि यसले त फरक पार्दो हो?
उहाँहरूले भ्रम छरेर संघीय लिम्बूवान राष्ट्रिय मञ्चको अध्यक्ष निकालेको भन्ने छ। त्यसै निस्किन्छ अध्यक्ष ? १२- १३ जना गएर १७ गते निवेदन हालेर १८ गते अर्को पार्टीमा गएका छन्।
कम्तीमा डिभोर्सको केस चल्दा क्लियर नभएसम्म केटाले पनि बिहे गर्नुहुँदैन र केटीले पनि बिहे गर्नुहुँदैन। यदि उहाँले हटाएको हो भने निर्वाचन आयोगले चिठी लेख्छ, प्रतिवादी खाप्नुस भन्छ त्यसपछि म प्रतिवादी खाप्छु। तर, उहाँहरूले १७ गते निवेदन हालेर १८ गते अर्को पार्टीमा प्रवेश गरेपछि उहाँहरूको दावीलाई इन्टरटेन्ट गर्ने कुनै तुक छैन।
यसले गर्दा अहिले भइरहेको आन्दोलनलाई पनि त पक्कै प्रभाव पार्छ होला?
यो विषयले कोशी नाम खारेजीको माग राख्दै आएको आन्दोलनलाई कुनै असर गर्दैन। उहाँको कारणले गर्दा पार्टीमा एकदम असहज भएको थियो। आान्दोलन नै नगर्ने, उहाँहरू लिम्बूवान खम्बुवान चाहिँदैन भन्ने पक्षको हो।
रेशमजीको पार्टी त सजिलो छ नि त्यहाँ पहिचानको कुरा पनि छैन। संघीयताको कुरा छैन, दश प्लस एकको कुरा छैन। थरुहटको कुरा छैन। जय नागरिक भन्यो के हो के? उहाँहरूको चाहाना त्यही थियो रोकेर राख्नु भएन नि।
भेंडेटार एकताको करिब दुई वर्षपछि तपाईं फेरि आफैँ फुटेर पुनः आफ्नै पार्टीमा फर्किनुभयो अहिले आफ्नै पार्टी भित्रको केही नेतृत्व अलगिनुभएको छ यसलाई कसरी दिनुभएको छ?
एउटा पत्रकारको आँखाले हेर्दा र अर्को एउटा आत्माले हेर्ने हो भने यो जतिपनि लिम्बुवानको आन्दोलनहरू सञ्जुहाङहरूको नेतृत्वमा भएको होइन। जब कुमार लिङ्देन एउटा युवक केटाले यो आन्दोलनमा प्रवेश गर्यो उसको नेतृत्वमा भइरहेको आन्दोलन हो।
आज पनि सक्छ नि उनीहरूले गर्दा किन कुमार लिङ्देनको वरिपरि सबै चिज घुमिरहेको छ। किन भने कुमार लिङ्देनसँग राष्ट्र, अन्तर्राष्ट्रिय स्तरमा एउटा ठूलो युवाको टिम भएको नाताले गर्दा पनि आउने हो। मैले त त्यो बेला हुँदैन भनेको थिएँ विचार नै नमिल्ने मान्छेहरूसँग कसरी एकता हुन्छ? उहाँहरूसँग हुँदैन भनेको जबरजस्ती गरियो।
यद्यपि, लिम्बुवान आन्दोलन कमजोर छैन। राई र लिम्बूमा ठेलाठेल गर्ने हुँदा मात्रै अलिकति कमजोर जस्तो भएको हो। अहिले पनि लिम्बुवानले एक्लै आन्दोलन हाँक्नुपर्ने स्थिति होस न के हुन्छ।
लिम्बुवानले एक्लै आन्दोलन हाँक्ने हो भने यसको दश डबल हाइटबाट पिकअप गरेर लान्छ। तर पनि किन त्यसो गरिहाल्ने भनेर हो।
तपाईंमाथि एउटा आरोप पनि छ, कुमार लिङदेको नृतत्वमा आन्दोलन नै सफल भएन भन्ने छ नि?
आरोप प्रत्यारोप भन्ने त हुन्छ नै तर यो ५० वर्षदेखि सुतेको आदिवासीलाई लिम्बुवानमा जति कहाँ चाहिँ उठाउन सकेका छौँ? खै त तामाङसालिङ, खै त शर्पालुङ कहाँ उठाउन सकेको छ? विद्धानहरू बसेको ठाउँमा पनि आन्दोलन उठाउन सकेको छैन।
तर, लिम्बुवानमा आन्दोलन उठेको छ। आदीवासीका ठूलठूला पदहरू एमाले कांग्रेसले दिएका छन्, बाँडेका छन्। धुव्रिकरण हुन सकेको छैन। काम गर्ने मान्छेलाई आरोप लगाउन पाउँछ। यो स्वाभाविक कुरा हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।