मलामीलाई घाटसम्म निःशुल्क ओसार्नका लागि एउटा बस

|

विराटनगर : ‘बाध्यताले जब ठूलो स्वर निकाल्न थाल्छ अनि सबै रहर मौन हुन्छन्‚’ यो भनाई विराटनगर-१ का करिम अनसारीको कथासँग मिल्दोजुल्दो छ भन्दा फरक पर्दैन।

१० वर्षको हुँदा पढ्ने, रमाइलो गर्ने रहर उनका पनि नभएका होइनन् तर घरको जिम्मेवारीले काँध गह्रौं भएपछि उनका सबै रहर बेपत्ता भएका थिए। ८ वर्षको कलिलो उमेरमा आमाको न्यानो काख खोसिएपछि घरको जिम्मेवारी उनको काँधमा आइपरेको थियो।

घरको परिस्थिति त एउटा पाटो रह्यो नै त्यसमा पनि इराकमा १२ जना नेपालीको हत्यापछि मुस्लिम समुदायप्रति नेपाली समाजले लिएको हिंसात्मक धारणाले गर्दा कलिलो उमेरमा विद्यालयको प्रवेशद्वार पुग्न नपाई उनको यात्रा गाडीको ढोकातर्फ मोडिन बाध्य बनायो।

‘म ८ वर्षको हुँदा आमा बित्नुभयो, त्यसपछि घरको जिम्मेवारी बुवासँगै मेरो काँधमा आइपर्‍यो बुवा मिस्त्री काम गर्नुहुन्थ्यो तर त्यो समय रोजगारीका लागि इराकमा पुगेका १२ जना नेपालीको त्यहाँ हत्या भएपछि यहाँ पनि मुस्लिम समुदायलाई हेर्ने दृष्टिकोण फेरियो,’ उनले बाल्यकाल स्मरण गर्दै सुनाए, ‘बुवाको लामो दारी थियो अनि हामी मुस्लिम समुदायको भएकाले उहाँलाई केही हुन्छ होला भनेर बाहिर काममा निस्किन छोड्नु भयो। त्यहाँबाट मेरो काँधमा गहकिलो जिम्मेवारी आइपरेको हो।’

उनका बुवा घरबाहिर निस्किन छोडेसँगै घर खर्च चलाउन गाह्रो भएपछि उनले १० वर्षको उमेरमै सहचालकको रुपमा काम गर्न सुरु गरे। किताब समाउने हातले गाडीको ढोका ढक्ढक्याउन र यात्रुहरुसँग भाडा दरबारे सवालजवाफ गर्दै  उनको कलिलो उमेर बित्यो।

पहिलो पटक गाडी मालिकले काम गरेबापत पारिश्रमिक ५० रुपैयाँ दिँदा उनलाई करोड कमाएझैँ अनुभूति भएको उनले सुनाए।

‘मेरो पहिलो कमाई ५० रुपैयाँ थियो, त्यो पनि घर खर्चका लागि बुवालाई दिएको थिएँ,’ उनले सुनाए,‘त्यो पहिलो कमाई मेरा लागि धेरै महत्वपूर्ण थियो, त्यसले घरको आवश्यकता टर्‍यो या टरेन तर पहिलो कमाई त्यो पनि कलिलो उमेरमा कमाएको खुशी लागेको थियो।’ 

कलिलो उमेरमा घरको जिम्मेवारी थेग्दै दुःख र सुखका संघर्षका धेरै नदी तरेको उनको जीवन यात्राले सफलताको गन्तव्य पहिल्याउन त्यति सहज थिएन। 

यद्यपि कडा मेहनत र लगनशीलताले नछोडी अघि बढेका उनलाई कुनै पनि कठिन परिस्थितिले अघि बढ्नबाट रोक्न सकेन।

मेहनत गरे एकदिन सफलता पाइन्छ भन्ने सोच राख्ने उनी हिजो कुनै साहुको गाडीमा भोको पेट र परिवारको जिम्मेवारी वहन गर्न कठिन संघर्ष गरेको कहालीलाग्दो समयलाई पछि छाडेर अहिले तीनवटा बसको मालिक बनेका छन्। 

संघर्षको दौरानमा अभाव र भोको पेट हिँड्दै गर्दा कहिले मान्छेले खसाल्न खोजे त कहिले साथीभाइहरुले नै हेपाहा प्रवृत्तिले उनलाई पेल्न नखोजेका पनि होइनन्।

यी सबै घटनालाई सफलताको सूत्र बनाएर अघि बढ्दै जाँदा ५० रुपैयाँको पहिलो कमाईबाट अहिले महिनाको डेढदेखि २ लाख रुपैयाँसम्म पुगेको छ।

समाज सेवातर्फ मोडिएका पाइला

तर उनी आफू गाडी मालिकमात्र बनेका छैनन्‚ ती गाडीलाई नै माध्यम बनाएर समाज सेवा पनि गर्दै आइरहेका छन्।

जीवनको ऊर्जाशील उमेर गाडीको इन्जिन, यात्रु र यात्रासँग जुधेर बिताएका उनले आफूले भोगेका तितामिठा अनुभवलाई जीवनको शिक्षाका रुपमा लिएर सामाजिक काममा लागेको उनले सुनाए। 

दुईवटा बस धरान–विराटनगर रुटमा सञ्चालन गरेका छन् भने ३ महिनादेखि एउटा बसको उपयोग भने उनले मलामी बोक्नका लागि निःशुल्क सञ्चालन गरेका छन्। 

दुईवटा बसको आम्दानीले परिवारको भरअभर र छोराछोरी पढाउन पुग्ने बताउने उनी एउटा बस समाजका लागि सुम्पिदिएको बताउँछन्।

‘मेरो बाल्यकाल र  लक्का जवानी गाडीको यात्रा र यात्रुहरुसँग बित्यो, त्यहीँ अनेकौं किसिमका मान्छे र उनीहरुको अनुभवसँग जोडिएँ,’ उनले भने, ‘कति जनालाई अभावमा छटपटिएको पनि देखेको छु‚ सबैको भोगाइबाट बुझेर नै मैले एउटा गाडी सामाजिक कामको लागि प्रयोगमा ल्याएको हो।’

उनले मलामीका लागि निःशुल्क बस सेवा भनेर आफ्नो सवारीमा ब्यानर नै टाँगेका छन् भने फोन नम्बर पनि राखेका छन्। त्यसो त उनले बसमा ३९ पटक मलामी निःशुल्क ओसारिसकेका छन्। 

कसैले खुशीले तेल हाल्दिने त कसैले खर्च भन्दै पैसा पनि दिने गरेको उनले बताए। ‘म आफैँ पैसा माग्दिनँ‚ उहाँहरुले खुशीले दिनुहुन्छ। हामी त मुस्लिम हो हिन्दुहरुकोमा निःशुल्क मलामी बोक्दा भार लाग्छ भन्ने भनाई रहेछ‚ त्यही भएर पैसा दिनुहुन्छ,’ उनले भने।

सकेसम्म यो सेवालाई निरन्तरता दिने बताउने उनले तीनैवटा बस वित्तिय संस्थाबाट ऋण लिएर किनेका हुन्। आफूले लिएको ऋण सही ठाउँमा उपयोग गर्न सके किस्ता पनि तिर्न सकिने र घरपरिवारको पनि राम्रो पालनपोषण गर्न सकिने उनको बुझाई छ। 

सकेसम्म आफूले थालेको कामलाई निरन्तरता दिने बताउने उनी परिवारलाई खान पुगेर सन्तान पढाउन सक्ने पैसा भए त्यसैमा आफू सन्तुष्ट हुने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.