|

विराटनगर : कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि पहिचानवादीले आक्रमण प्रयास गरेका छन्।

बुधबार इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै आएको समूहले आक्रमणको प्रयास गरेको हो।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक विज्ञप्ति जारी गर्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरूले मगरमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेको बताएका छन्।

आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ।

‘मुलुकमा सबैले शान्तिपूर्ण र कानुनसम्मत ढंगले आफ्ना विचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने र सोहीअनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन गर्दै कानुन हातमा लिने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्यबाट समाज र देशलाई उचित ढंगले अगाडि बढाउन सकिदैन’‚ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दल मुलुकको विकास, समृद्धि, जातीय, भाषिक तथा सांस्कृतिक एकता र सद्‌भावको पक्षमा दृढतापूर्वक उभिदै आएको छ। तसर्थ माननीय रामबहादुर राना मगरप्रति गैरकानुनी हर्कत र उच्छृङ्खल गतिविधि प्रदर्शन गरी आक्रमण गर्ने त्यस्ता व्यक्तिलाई तत्काल कानुनको दायरामा ल्याई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ।’

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मगर एमाले जिल्ला कमिटी इलामको बैठकका लागि जाने क्रममा माङ्सेबुङ गाउँपालिका-३ स्थित पुरानो गाविस भवन क्षेत्रमा आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रदेश १ को नामकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका उनलाई ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलीप घिमिरेले बताए।

आक्रमणबाट मगर चढेको गाडीको सिसा फुटेको छ। आक्रमणबाट राना सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ। घटनामा संलग्नको खोजी भइरहेको र सांसद राना सकुशल रहेको प्रहरीले जनाएको छ।

गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरहरू आन्दोलित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.