|

विराटनगर : ‘विराट-बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्रसिंह रावत प्रथम भएका छन्।

आज (शनिवार) कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित  ‘विराट-बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका रावत प्रथम भएका हुन्।

म्याराथन धावक रावतले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं  प्रथम बनेका हुन्।

म्याराथनको दोस्रो स्थानमा  नेपाली सेनाकै  सुशीलकुमार शाही भएका छन्। उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए।

तेस्रो स्थानमा भने बैतडीका म्याराथन धावक मोहनदेव जोशी बने। उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पूरा गरेका थिए।

यस्तै चौथोमा नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा,पाँचौं स्थानमा नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा पूरा गरे।

प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन्। चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरूप जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका छन्। पुरुषतर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए।​

यसैबीच महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन्। उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। दोस्रो स्थानमा सशस्त्र प्रहरीको सीमा थारू चौधरी भइन्। उनले  १९ मिनेट ११ सेकेण्डमा  उक्त  दूरी पार  लगाएकी थिइन्।

यस्तै नेपाल प्रहरीकी तिर्सना कुमाल  तेस्रो  बनिनी  उनले  १९ मिनेट ३५ सेकेण्डमा  उक्त दूरी पार गरिन्।

यता २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन्। प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेकी छिन्। प्रतियोगितामा २९ जना महिला सहभागी थिए।

म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले शनिवार  बिहान उद्घाटन गरेका थिए। विराटनगर देखि  सुनसरीको बर्जुसम्मको  ऐतिहासिक पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यका साथ मन्त्रालयले ‘खेलकुद पर्यटन प्रवर्धन, विराट-बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो।

सरकारले आयोजना गरिएको यस्ता खालका खेल प्रतियोगिता प्रभावकारी रहेको र खेल क्षेत्रलाई प्रोत्साहन गर्न यस्ता खालका प्रतियोगिताले झन ऊर्जा मिल्ने  सहभागीको भनाइ थियो।

बिहान विराटनगर-१८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन बर्जुमा पुगेर समापन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.