जुम्ला : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि‚ सहकारीमन्त्री भीमप्रकाश शर्माले जुम्लाको रैथाने उत्पादनलाई प्राथमिकता दिने बताएका छन्।
उनले नेपाल पत्रकार महसंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा स्थानीय बालीको संरक्षण र प्रवर्द्धनका लागि पहिलो प्राथमिकता रहने बताएका हुन्।
कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। आगामी नीति‚ कार्यक्रम र बजेटमा उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरेका छन्।
उनले भने, ‘गरिबी कर्णालीको शत्रु हो। आगामी नीति कार्यक्रममा सरकारले गरिबी र बेरोजगारी अन्त्यका लागि कृषि उत्पादन जोड दिइनेछ। कर्णाली प्रदेश सरकारले भेडा पाल्ने कृषकहरुका लागि गोठालो भत्ता र जुम्ली घोडा संरक्षणको कार्यक्रम अगाडि बढाएको छ।’
कृषि उत्पादन क्षेत्रलाई बढावा दिने लक्ष्यअनुसार कृषिमा युवा आकर्षित हुने नीति अवलम्बन गरी कृषि ऋणमा ब्याज अनुदान, सहुलियत ऋण, ढुवानीमा सहुलियत, बजार प्रवर्द्धन, उत्पादनका आधारमा अनुदान लगायतका कृषि नीतिमा जोड दिने मन्त्री शर्माको भनाई छ।
पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले आफ्नो कार्यकालमा विधिसम्मत माग भई आएका आबश्यकतामुखी योजना मात्रै स्वीकृत हुने प्रतिबद्धता व्यक्त गरे।
विश्वकै उच्च स्थानमा मार्सी फल्ने छुमज्युलाको विकास, जुम्लाको स्याउ, मार्सीधान, ओखर र सिमीको उत्पादन वृद्धि र बजारको सुनिश्चिततासमेत सरकारले सहजीकरण गर्ने नीति ल्याउने बताए।
कर्णालीको बहुमूल्य जडिबुटी प्रशोधनका लागि आगामी नीति तथा कार्यक्रममा उद्योग स्थापना गर्ने समेत तयारी सरकारले गरेको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।