|

पोखरा : राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ। राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्तर्गत जिल्लाको जनसंख्या २४ लाख तीन हजार ७५७ थियो।

तथ्यांक कार्यालय कास्कीले मङ्गलबार पोखरामा कार्यक्रम आयोजना गरी  प्रदेशका ११ जिल्लामा रहेको जनसंख्याको तथ्यांक सार्वजनिक गरेको हो। गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले उक्त तथ्यांक सार्वजनिक गरेकी हुन्। 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख  ६४ हजार  ५७८ छ। जस अन्तर्गत पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार  ५५१ अर्थात् ४८.८७ प्रतिशत छ भने  महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.१३ प्रतिशत रहेको छ।

जनगणनाअनुसार गण्डकी प्रदेशका ११ जिल्लामा पुरुषको संख्या ११ लाख ७० हजार ८३३ अर्थात् ४७.४७ प्रतिशत छ भने महिलाको संख्या १२ लाख ९५ हजार ५९४ अर्थात् ५२.५३ प्रतिशत रहेको छ।

जनगणनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या कास्कीमा ६ लाख ५१ जना छ भने सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा पाँच हजार ६५८ जना छ। जनघनत्वको हिसाबमा पनि कास्की जिल्लामा २९५ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा तीन जना प्रतिवर्ग किलोमिटरमा  बसोबास गर्छन्।

पछिल्लो मतगणनाको नजिता प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले गण्डकीका ११ जिल्लामध्ये कास्कीमा वार्षिक जनसंख्या वृद्धिदर १.९० प्रतिशत र सबैभन्दा कम मनाङमा  वार्षिक वृद्धिदर माइनस १.३९ प्रतिशत रहेको जानकारी दिए।

लैंगिक अनुपातमा गण्डकी प्रदेशमा प्रति सय जना महिलामा पुरुषको संख्या ९०.३७ छ। लैंगिक अनुपातमा गण्डकी प्रदेशको मनाङ जिल्लामा एक सय जना महिलामा पुरुषको संख्या सबैभन्दा धेरै १२९.४४ छ भने सबैभन्दा कम स्याङ्जा जिल्लामा एक सय महिलामा ८५.५७ जना पुरुष छन्।

दश वर्षको अवधिमा नेपालमा सबैभन्दा कम जनसंख्या वृद्धिदर र परिवर्तन गण्डकीमा ०.२५ प्रतिशतले भएको छ भने सबैभन्दा बढी वृद्धिदर लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशतले भएको छ।

गण्डकी प्रदेश अन्तर्गत औसत परिवार सदस्य संख्या सबैभन्दा वढी नवलपुरमा ४.०३ जना र सबैभन्दा कम गोरखामा ३. ४९ जना तथ्यांकले देखाएको छ। नेपालभरी परिवारमा अनुपस्थित जनसंख्या अर्थात् विदेशमा रहेका मानिस २१ लाख ९० हजार ५९२ जना छन् भने विसं २०६८ को जनगणनामा विदेशमा हुने संख्या १९ लाख २१ हजार ४९४ जना थियो। नेपालमा साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। गण्डकी प्रदेशमा अपांगतादर २.९ रहेको छ भने नेपालमा त्यो दर २.२ रहेको छ। आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरणअनुसार गण्डकी प्रदेशमा आर्थिक काममा संलग्न १३ लाख २० हजार १९४ जना रहेको र तीमध्ये धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ .६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा १२.८ प्रतिशत र निर्माणमा ७ प्रतिशत र शिक्षामा ३.७ प्रतिशत र औद्योगिक उत्पादनमा ३.२ र अन्य सेवामा ३.२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

नतिजा सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले नेपालबाट युवा जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेकाले नेपालको युवा जनशक्तिलाई नेपालमै बस्ने वातावरण सरकारले बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। राष्ट्रिय तथ्यांक केन्द्रीय कार्यालयका सचिव रामप्रसाद थपलियाले तथ्यांकले नतिजाले नेपालको जनसंख्याको वस्तुस्थिति देखाएकाले सरकारले पनि जनताको हितमा काम गरेर विदेश पलायन हुने जनसंख्या नेपालमा नै रोक्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिव बद्री अधिकारीले नेपालको नेपालको शैक्षिक र दक्ष जनशक्ति नेपालमा नै राखेर विकासको ढोका खोल्नुपर्नेमा जोड दिए।  सो अवसरमा जिल्ला समन्वय समिति कास्की समन्वय अधिकारी नवराज बराल, तथ्यांक कार्यालय  प्रमुख जगुलाल बस्याललगायतले शैक्षिक कर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.