|

काठमाडौँ : नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरवस्थाले दुर्घटनाको जोखिम बढेको छ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो। नेपालतर्फको बाह्रबीसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन्।

पछिल्लो समय सडकको दुरवस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीले सामान आयात गर्नै छोडेका छन्। सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे।

सडकको स्तरोन्नति र विस्तार हुन नसक्दा व्यवसायीले सास्ती भोग्नुपरेको छ। तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्ग जीर्ण छ। नेपाल–चीन जोड्ने नेपालको प्रमुख व्यापारिक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ।

चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ। व्यवसायीहरूले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबीसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ। दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ।

व्यापारिक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रूपमा गुड्न सक्ने अवस्था नहुँदा दुर्घटनाको ठूलो जोखिम भए पनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गर्न सकेको छैन। चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवसायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौंसम्म ल्याउन सडक जीर्ण भएकाले असहज भइरहेको बताए। उनले सरकारले चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए।

उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए। उनले सडक जीर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्‍याउँदा बढ्ने गरेको बताए। उनले भन्सारमा व्यवसायीका लागि आवश्यक सबै सुविधा भए पनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैँ समस्या भएको गुनासो गरे। 

अर्का व्यवसायी विजय शेर्पाले बाह्रबीसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए। उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए।

उनले स्थानीय पालिका र व्यवसायीहरूले सरोकारवाला निकायलाई सडक मार्ग स्तरोन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरे। उनले सरकारले तातोपानी नाका जोड्ने सडक समयमै स्तरोन्नति गरे सहज हुने बताए।

त्यसैगरी तातोपानी सडकका कन्टेनर चालक पेम्बा छिरिङ तामाङले तातोपानी सडकमा कन्टेनर चलाउन असहज रहेको बताए। उनले सडक साँघुरो भएकाले दुईतर्फबाट कन्टेनर आउँदा साइड दिने ठाउँ समेत नहुने बताए। उनले वेलावेला कन्टेनर सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताए।

तातोपानी नाका पूर्णरूपमा सञ्चालनमा आउँदा सडकमा सवारीसाधनको चाप बढ्ने भए पनि सडकको अवस्था दयनीय छ। तातोपानी नाका सहज रूपमा सञ्चालनमा आए पनि सडक मार्गको अवस्था नाजुक र जीर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ।

कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षायाममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ। तातोपानी नाका जोड्ने बाह्रबीसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाई सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.