|

दोलखा : शैक्षिक सुधारको लागि दोलखाको तामाकोशी गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने भएको छ।

पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नको लागि भन्दै पालिकाले २० वर्षदेखि अध्यापन गराउँदै वा सेवा दिएका र ५५ वर्ष माथिका इच्छुक शिक्षकहरुलाई सुविधासहित अवकाश दिने भएको पालिका प्रमुख प्रोण प्रताव केसीले बताए।

स्वर्णिम अवकाश योजना कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ अनुसार अवकाश सेवा लिने पालिकाभित्रका इच्छुक शिक्षकहरुले आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने शिक्षा अधिकृत मेनुका बास्कोटाले जानकारी दिइन्।

उनका अनुसार शैक्षिक अवकास लिन चाहने शिक्षकलाई रु ३ लाख रुपैयाँ पालिकाले उपलब्ध गराउनेछ।  पालिकाभित्रका सामुदायिक विद्यालयको प्राथमिक तह १ देखि ५, निम्न माध्यमिक तह ६ देखि ८ को दरबन्दीका कार्यरत २० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पूरा भएका इच्छुक शिक्षकहरुलाई नयाँ सुविधासहित अवकाश दिन लागेको हो।

पालिकाले कार्यविधि बनाएर पालिकाभित्र प्रधानाध्यापक नियुक्ति गर्ने पनि जनाएको छ। पहुँचका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्ति हुने क्षमतावान शिक्षक नियुक्त हुने गरी यस्तो तयारी गरेको हो।

गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागिएको पालिका अध्यक्ष केसीको भनाइ छ।

प्रधानाध्यापकको आधारभूत तह कक्षा १ देखि ५ र ६ देखि ८ सम्मको प्रधानाध्यापकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको, १ देखि ८ सम्मको लागि स्नातक तह वा सोसरह, माध्यमिक तहको लागि मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण हुनुपर्ने पालिकाले आवश्यक न्यूनतम योग्यतासमेत निर्धारण गरेको छ।

यसैबीच दोलखाको बैतेश्वर गाउँपालिकाले पनि पालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कार्यालय समयमा कुनै पनि संघ संस्थाको कार्यक्रममा सहभागी हुन नपाउने निर्णय गरेको छ।

कार्यक्रममा सहभागी भए नियमानुसार कारबाही गरिने पालिका अध्यक्ष छवि लामाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.