|

पर्वत : सेना दिवस’ को अवसर पारेर नेपाली सेनाले दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘खुला सामरिक लेख रचना प्रतियोगिता–२०८०’ को आयोजना गरेको छ।

नेपाली सेनाले महाशिवरात्रीको दिनलाई ‘सेना दिवस’ को रूपमा मनाउँदै आएको छ। यस वर्ष आउँदो फागुन २५ गते परेको शिवरात्रिको अवसरमा सामरिक लेख रचना प्रतियोगिताको आयोजना गरिएको नेपाली सेनाले बताएको छ।

नेपालका बौद्धिक व्यक्तिहरूबीच प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा तथा रणनीति जस्ता राष्ट्रिय महत्त्वका सामरिक (समर वा युद्धसँग सम्बन्धित) विषयहरूमा छलफल र सोचको विकास गरी राष्ट्रिय सुरक्षालाई मजबुत बनाउँदै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्दै आइरहेको सेनाले बताएको छ। अहिले आयोजना भएको प्रतियोगिता ‘सामरिक लेख रचना प्रतियोगिता’ पाँचौँ संस्करणको हो।

राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्त्व, बदलिँदो सुरक्षाका आयामहरू, सैनिक कुटनीति, खेलकुद, प्रकृति संरक्षणमा नेपाली सेनाको योगदान, राष्ट्रिय सम्पदा तथा संस्कृति संरक्षण, सेनामा नयाँ प्रविधिहरूको प्रयोगको महत्त्व, विश्व शक्तिको नयाँ आयाम, विपद् व्यवस्थापनमा सेनाको भूमिका, विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदान लगायतका विषयवस्तुमा केन्द्रित रहेर रचना तयार हुनुपर्ने सर्त सेनाले राखेको छ।

लेखरचनाहरू विशुद्ध रूपमा अराजनैतिक हुनुपर्ने, ३५ सय देखि पाँच हजार शब्दभित्रको हुनुपर्ने, अंग्रेजी वा नेपाली दुवै भाषामा लेख्न सकिने, प्रचलित अनुसन्धान पद्धतिको पालना भएको हुनुपर्ने भनिएको छ। आउँदो असार २८ गतेभित्रमा लेख रचनाका कुनै तीन शीर्षक र लेखकको विवरणसहित आवेदन दिने, साउन चार गते शीर्षकहरूको मोडुलेसन गर्ने र मङ्सिर आठ गते लेख रचना सङ्कलन गर्ने समय तालिका रहेको छ।  लेख रचना unityjournal@nepalarmy.mil.np मा मेल गर्न भनिएको छ।

प्रतियोगितामा प्रथम हुनेले दुई द्धितिय हुनेले एक लाख ५० हजार, तृतीय हुनेले एक लाख र सान्त्वना हुने प्रतिव्यक्तिलाई दश हजार रुपैयाँका दरमा नगद पुरस्कार प्राप्त गर्ने छन्। महाशिवरात्रि तथा सेना दिवस, २०८० को अवसरमा लेखरचनाहरूको सँगालो ‘युनिटी जर्नल’ को पाँचौँ संस्करणको प्रकाशन, विमोचन र पुरस्कार वितरण कार्यक्रम हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.