|

विराटनगर : प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघसंगठनले आन्दोलन थालेको ३ महिना भएको छ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्। प्रदेशको राजधानी विराटनगरलाई लक्षित गर्दै भएको आन्दोलनले पूर्वी पहाडी जिल्लालाई पनि प्रभाव पारेको छ।

जिल्लाका सरकारी कार्यालयमा सहज ढंगले काम गर्ने वातावरण नभएको गुनासो सोही क्षेत्रमा कार्यरत कर्मचारीहरुको छ। पहाडी जिल्लामा कोशी नाम लेखिएको सरकारी बोर्ड भत्काउनुका साथै लेटरप्याडसमेत डढाउने जस्ता क्रियाकलापहरु भइरहेका छन् भने कोशी प्रदेशका प्रदेशसभा सदस्यहरु आफ्नो निर्वाचनक्षेत्र पुग्न सकेका छैनन्।

आइतबार बसेको प्रदेशसभाको बैठकमा समेत शून्य समयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफूहरु असुरक्षित भएको र सांसदको लोगो गोजीमा लुकाएर हिँड्नुपर्ने अवस्था आएको भन्दै आन्दोलनरत पक्षलाई यथाशिघ्र वार्तामा बोलाउन माग राखेका छन्।

यता, सत्तामा रहेको एमाले भने प्रदेशको नामको विषय केन्द्र सरकारको जिम्मामा रहेको भन्दै पन्छिन खोजेको छ। आइतबार बसेको एमाले संसदीय दलको बैठकको प्रतिक्रिया दिँदै एमालेका कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले नामको विषय प्रदेश सरकारको नरहेको बताए।

उनले  आन्दोलनरत पक्षले हामी संविधानलाई मान्छौं भनेर स्विकारे यसको ‘ल्यान्डिङ’ हुने जिकिर गरे।  उनले भने, ‘संवैधानिक कानुनको प्रक्रियाभित्र रहेर उपाय खोज्ने कुरा गर्दा वार्ता समिति बन्ला तर त्यो कुराको लागि उहाँहरु तयार हुनुपर्‍यो।’ 

आन्दोलन पक्षधरले लिखितपत्र सहित वार्तामा आउनुपर्ने उनले बताए। यता, ३ महिना सडकमा आन्दोलन गर्दा समेत प्रदेश सरकार मौन रहनु र वार्ताको विषयमा मुख्यमन्त्रीको धारणा उल्लेख नहुनुले आफूहरुको मुद्दाको विषय र आन्दोलनको विषयमा सरकारको ध्यान नगएको आन्दोलन पक्षधरको आरोप छ।

मन्त्रालय नै असुरक्षित

आइतबार दिनभर जस्तो विराटनगरस्थित देवकोटा चोक तनावग्रस्त बन्यो। आन्दोलनकारी र प्रहरीबीचको झडपमा दर्जनौं सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भए।

त्यसमा आन्दोलनको चेपुवामा मन्त्रालयसमेत  पर्न गयो। अझ भनौँ स्वास्थ्य मन्त्रालय सुरक्षित रहन सकेन। ​ढुंगा प्रहारले मन्त्रालयका झ्याल, ढोका तोडफोड भएको छ।

यता, प्रदेश सरकारका स्वास्थ्य मन्त्रीले नै सरकार पक्ष र आन्दोलनपक्षबाट असुरक्षित भएको भन्दै  सुरक्षाको माग गरेकी छिन्। प्रदेशसभाको बैठकमा मन्त्री लिम्बूले स्वास्थ्य मन्त्रालयमा आफ्नो कार्यकक्षमा सरकारपक्षबाट समेत गोली र अश्रुग्यास हानिएको आरोप लगाएकी थिइन्।

उनले पहिचान पक्षधरको शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भएको आरोप लगाउँदै भनिन्, ‘म बस्ने मेरो चेम्बरमा गोली हानिएको छ। सबैले हेर्न सक्नु हुन्छ। यसको न्याय कसले दिने ? त्यो गोली मलाई लाग्न सक्थ्यो। यस्तो अवस्थमा पनि प्रदेश सरकार कान बन्द गरेर बस्न सक्छ। यदि त्यस्तो हो भने भोलि ममा आउने समस्याको जिम्मेवारी कसले लिने ?’

उनले सरकारले गोली ठोक्ने आफैँलाई र पहिचान पक्षधरले ढुंगा हान्ने पनि आफैँलाई भन्दै उनले सदनबाट पनि जवाफ चाहिने बताएकी थिइन्। 

जनतालाई सास्ती

प्रदेशसभा भवनअगाडि ब्लड बैंक रहेकै छ भने रेडक्रस सोसाइटी पनि त्यहीँ छ। जहाँ दैनिक जस्तो बिरामीका लागि रगत लिन सेवाग्राहीहरु आउने गर्छन्‚ आन्दोलनका कारण पनि सेवामा समस्या परेको थियो।

यता, प्रदेशसभाभन्दा  उत्तरपट्टी कोशी अस्पताल छ जहाँ विराटनगर आसपास, पूर्वी पहाडी जिल्लादेखि उपचारका लागि बिरामीहरु आउने मुख्य केन्द्रको रुपमा लिइन्छ। त्यहीँ आसपास थुप्रै औषधी पसलहरु छन्। आन्दोलनलाई लक्षित गरेर गरिएको कडा सुरक्षा व्यवस्थाले अस्पतालमा आउने थुप्रै सेवाग्राही मारमा परेका थिए।

स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीदेखि ज्वरोले थलिएका नाबालक छोराछोरी च्यापेर आउने सेवाग्राहीसमेत चिकित्सकसम्म पुग्न सुरक्षाको घेरा नाघेर जाने अवस्था थिएन।

सरकार  र आन्दोलनकारी बीचको मारमा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको सुनसरी बिनिता ढकाल बताउँछिन्। अस्पतालको छेवैमा आन्दोलन गर्नु र कडा सुरक्षाका कारण जनता मारमा पर्नु गलत रहेको उनको भनाई थियो।

‘सुगर, प्रेसरको बिरामी बुवा लिएर आएको, फलोअपका लागि आएको डाक्टर अस्पताल पुग्नुभएछ‚’ उनले आक्रोशित हुँदै सुनाइन्, ‘अस्पतालमा बोलाउनुभएको छ, डाक्टर साबले अब कसरी जाने होला ? गोरुको जुधाईको बाछाको मिचाई जस्तै भयो।’

आक्रोशित आन्दोलन पक्षधर

आइतबार बिहानैदेखि प्रदेशसभा घेराउमा तैनाथ भएर बसेका आन्दोलन पक्षका करिब २३ जनालाई प्रहरीले बिहानै पक्राउ गरे।  त्यसपश्चात्  प्रहरी र शसस्त्र प्रहरीले चिया पसल, खाना खाने होटलबाट पुनः नामकरण संघर्ष समितिका नेतृत्व गरिरहेका किरात राई यायोक्खाका संघीय अध्यक्ष जीवन हाताछो समेतलाई  पक्राउ गरेका थिए।  

उनीहरुलाई करिब रातको १ बजे प्रहरीले रिहा गरिसकेको छ। नेतृत्व नै पक्राउ गरेपछि आन्दोलन केही कमजोर हुन्छ भन्ने आँकलन भए पनि  प्रदेशसभा बैठक सुरु नै नभई  सहिद रंगशाला हुँदै आन्दोलन पक्षधर नारा जुलुस लगाउँदै प्रदेशसभातर्फ लम्किन सुरु गरेको थियो।

प्रशासनले तोकेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारी  प्रदेशसभातर्फ जान खोज्दा  प्रहरी र आन्लोलनकारीबीच झडपको भएको थियो। उनीहरुले ग्याटीस, इँट्टा प्रहार गर्न सुरु गरेपछि केही समय देवकोटा चोक तनावग्रस्त नै बन्न पुगेको थियो।

लडाइँको मैदान र उपचारस्थल एउटै 

आन्दोलनमा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारी एउटै अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। कोही न्युरो अस्पतालमा त कोही कोशी अस्पतालमा उपचारका लागि  लगिएको थियो।

सामाजिक सञ्जाल फेसबुकमा विराटनगरका संचारकर्मी माहन मानन्धरले अस्पतालको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘आखिरमा एउटै बेडमा पुर्‍यायौ होइन ?’
तस्वीरमा आन्दोलन पक्षधर र सशस्त्र प्रहरी एउटै शय्यामा उपचाररत रहेको देखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.