|

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चार मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। 

सरकारले चालु आर्थिक वर्षको भन्दा मन्त्रालयको बजेट सामान्य बढाएको छ। अर्थमन्त्री महतले आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चार मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने बताए।

उनले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताए। उनले उच्च क्षमताको अप्टिकल फाइबरमार्फत इन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्‍याइने बताए। 

उनले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच पुर्‍याउन फोरजी सेवा विस्तार गरिने बताए। उनले डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने बताए। उनले डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग र पहुँच बिस्तार गरिने बताए।

अर्थमन्त्री महतले कोहलपुरमा डाटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेन्ज सेन्टरको निर्माणलाई तीव्रता दिन बजेट व्यवस्था गरेको बताए। उनले धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज निर्माणको संभाव्यता अध्ययनसमेत गरिने बताए।

उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याइ साइबर सुरक्षाजन्य जोखिमलाई न्यूनीकरण गरिने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.