|

काठमाडौं : नेपाल वायु सेवा निगमले चिनियाँ जहाजहरू चलाउनै नसक्ने अवस्थामा पुगेपछि बिक्री गर्न लागिएको प्रष्टीकरण दिएको छ। 

निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ जहाजहरू ग्राउण्डेड भएको विषयमा संसदमासमेत कुरा उठेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

निगमसँग रहेका दुई वटा एमए ६० र तीन वटा वाई १२ ई चिनियाँ जहाजहरू बिक्री प्रक्रिया अगाडि बढाउनका लागि मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ। 

यी जहाजबाट २०७१/०७२ देखि २०७५/७६ सम्म संचालन घाटा ७७ करोड ७४ लाख र कूल घाटा १ अर्ब ९० करोड पुगेको थियो। अझै संचालनमा राखिरहँदा निगमलाई आर्थिक बोझको रुपमा दायित्व थप हुँदै गएको र विभिन्न प्राविधिक कठिनाइसमेत झेल्नुपरेका कारण जनाउँदै २०७७ असार १६ गते निगम संचालक समितिको बैठकले सोही वर्ष साउन १५ देखि संचालन नगर्ने निर्णय गरेको निगमले स्पष्ट पारेको छ। 

त्यसपछि जहाजहरूलाई व्यवस्थापन गर्नका लागि तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले गरेको पत्राचार अनुसार अर्थ मन्त्रालयको निर्णय बमोजिम लिजमा दिन वा बिक्री प्रक्रिया अघि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् निर्देशन भएको विज्ञप्तिमा उल्लेख छ । 

मर्मत गरी संचालन गर्न सकिन्छ कि भनेर २०७८ कात्तिक २२ गते उपसमिति गठन गरी अध्ययन पनि गरिएको थियो। तर पाइलट र पार्टपुर्जाको समेत अभाव भएका कारणले संचालन प्रक्रिया अघि बढाउन नसकिएको निगमको प्रष्टीकरण छ।

त्यसपछि लिजमा दिन सार्वजनिक सूचना आह्वान गर्दा दुई पटकसम्म कुनै पनि आवेदन नपरेको निगमको दाबी छ। त्यसपछि विक्रीका लागि मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको विज्ञप्तिमा प्रष्ट पारिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.