|

काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेलले आर्मीलाई २-० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो। बलियो आर्मीविरुद्ध सुखद नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गरे। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेका थिए।

दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो। त्यस क्रममा जावालखेलले ५६ औं मिनेटमा एनकोटोको गोलमार्फत अग्रता निकाल्न सफल भयो। समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो।

त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो। मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए।

यसअघि  ६६ औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन। दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो। दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्कीको हेडर पनि बाहिरिन पुग्यो। हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन्।

७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए। बाँकी समयमा आर्मीले थप प्रयास गरे पनि गोल हुन सकेन र आर्मीले अंक सुम्पिन बाध्य बन्यो। जितसँगै जावलाखेलले २३ खेलमा ३७ अकं जोड्न सफल भयो। जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ।

पराजय व्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ। यस्तै जावलाखेलले लिगमा आर्मीविरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ। पहिलो भेटमा आर्मीले जावलाखेलले ३-१ को सहज जित निकालेको थियो।

लिगमा बुधवार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब तथा दोस्रो खेल थ्री स्टार र संकटा क्लबबीच च्यासल मैदानमा भेट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.