|

मुगु : मुगाली जनताले संघीय सरकारको बजेट आफ्ना लागि ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’, जस्तै भएको बताएका छन्। अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको लामो आयव्ययको विवरणमा मुगु शब्द नै उल्लेख नभएको भन्दै उनीहरूले व्यंग्य गरेका हुन्।

नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल बजेटमा दुर्गम, पिछडिएको र पहुचमा नभएका जिल्लालाई वास्ता नगरेको बताउँछन्। ‘७७ जिल्लामध्ये सत्तामा शक्ति र पहुँच हुनेका जिल्लामा गौरवका योजनाका साथै अर्बौँ बजेट उल्लेख गरिएको छ। त्यही बजेटमा कुनै जिल्लाको नामै छैन।’ ​

मुगालीले संघीय सरकारबाट विशेषगरी कर्णाली राजमार्ग सडक मापदण्डमा निर्माण, गमगढी नाक्चेलाग्ना चीनसँग जोड्ने सडक निर्माण, रारा क्षेत्रको विकास, छायाँनाथ, खेस्मालिका, थार्प मष्टोको धार्मिक विकासका लागि बजेट छुट्याएको सुन्न चाहेका थिए। यस्तै जुम्लामा रहेका संघीय कार्यालय मुगुमै स्थापना गर्ने, कर्णालीबाट विद्युत् उत्पादन आयोजना, पर्यटकीय, जैविक विवधता, धार्मिक र जडिबुटी, फलफूल खेती तथा बजारीकरण लगायतबारे बजेट पर्ने अपेक्षा गरेका थिए।  

मुगु लगायत साविकको कर्णाली अञ्चल जोड्ने कालमार्गले परिचित कर्णाली राजमार्ग लगायत नाग्म–गमगढी सडक खण्ड, नाग्म–खलंगा सडकबारे पर्याप्त बजेट विनियोजन गरी एसियाली मापदण्डमा सडक बनाउने योजना आउनुपर्नेमा ‘वर्षाको पानीले पुर्‍याएको क्षतिमा स्तरोन्नति गरिनेछ’ मात्र भनिएको छ। मुगुका धार्मिक, पर्यटकीय क्षेत्रबारे बजेट मौन छ। 

मुगु जिल्ला सदरमुकामबाट चिनको सिमाना नाग्चे लाग्ना जोड्ने नाका खोल्न शुरु भएको १७ वर्ष भयो। प्रत्येक वर्ष एक किमी मात्र सडक खोलिँदै आएको छ। न्यून बजेट र सरकारको प्राथमिकतामा कहिल्यै नपर्दा सडक कहिले सम्पन्न हुने हो पत्तो छैन। सरकारले यो सडक राष्ट्रिय गौरवको योजनामा राखी बजेट विनियोज गर्दा सोचेका थियो तर सडकको ‘स’सम्म पनि उल्लेख गरेको देखिएन। कर्णाली प्रदेशका निवर्तमान सांसद दानसिङ परियार अन्य जिल्लामा करोडौँ, खर्बका योजना कार्यक्रम उल्लेख भइरहँदा मुगुबारे कतै उल्लेख नहुनु आश्चर्यजनक भएको बताउँछन्। 

मुगुमा देशकै ठुलो तथा गहिरो ताल रारा छ,हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र छायाँक्षेत्र (छायाँनाथ) छ। सयौँ बहुमुल्य जडिबुटी पाइन्छ। दर्जनौँ गुमनाम ताल तलैया तथा पाटन, मठ, मन्दिर, गुम्वाको प्रचार प्रसार र विकासबारे बोलिएको छैन। ‘गमगढी—रारा, गमगढी—रारा विमान स्थल, गमगढी—रारा—खत्याड, गमगढी—दोमुख सडक बनाउन सरकारले बजेट ल्याउनुपर्थ्यो। तर बजेटमा समेटिएन’, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले भने, ‘यहाँ पाइने जडिबुटी, स्याउ, कागती, आलु, सिमी, कोदो, फापर, कागुनो र मार्सी धानबारे बजेटले समेटेर कार्यक्रम आएको भए मुगुको अर्थतन्त्र मात्र नभएर देशकै अर्थतन्त्रमा सहयोग पुग्थ्यो तर त्यसो भएन।’

बजेट भाषणमा मुगुको विकास बारे कुनै योजना, आयोजना र कार्यक्रम बजेट र मुगु जिल्लासम्म उल्लेख नभएको देख्दा उदेक लागेको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए। ‘देशमा माओवादी नेतृत्वको सरकार छ। गणतन्त्र, समावेशी र संघीय व्यवस्था आफूहरूको आन्दोलनको बलमा आएको भनेर माओवादी नेताले जिकिर गरिरहँदा उसकै नेतृत्वको सरकारले ल्याएको बजेटमा सौतनी व्यवहार भएको दुर्गमका नागरिकले महशुस गरिरहेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.