|

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधिसभाको चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो।

उक्त घटनामा दोषी ठहर भई उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका अन्य बन्दीहरूलाई उनले बुधबार भेट गरेका हुन्।

भेटपछि पत्रकारसँग प्रतिक्रिया दिँदै रेशमले भने, ‘अब २०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो। बन्देज भएको छैन।केही कहीँ छैन’‚ चौधरीले थपे, ‘रेशम दाजु चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षककी पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन्। सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुनसुकै फैसलाको सम्मान गर्ने बताए।

‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु। हिजो पनि कानुनको पूर्ण सम्मान गरेर कारावास जीवन व्यतित गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ। चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ। त्यहीअनुसार उहाँहरू पनि जानुभएको होला। न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु।’

चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने बताएका छन्। यद्यपि टीकापुर घटनाको वास्तविकता अर्कै भए पनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.