|

रौतहट : १५ दिनमा पाउने भुक्तानी उखु किसाले ४ महिनामा पनि नपाउँदा रौतहट र बाराका किसान मारमा परेका छन्। १५ दिनभित्रै भुक्तानी दिने प्रतिबद्धता जनाएर रौतहटको कटहरिया डुमरियास्थित बाबा बैजुनाथ चिनी मिलले लिएको उखुको रकम ४ महिनामा पनि पाउन नसकेको किसानले गुनासो गरेका छन्।

बाबा बैजुनाथ सुगर मिलले ४ महिनाअघि लिएको उखुको भुक्तानी अहिलेसम्म नदिँदा किसानहरू आर्थिक संकटमा पर्न थालेका छन्।

कटहरिया–४ टोलापुरका उखु किसान धीरेन्द्र कुशवाहाले ४ महिनाअघि मिलमा ६ ट्याक्टर उखु दिएकोमा एउटा चलान पुर्जीको भुक्तानी १५ दिनभित्रै पाएको बताए। बाँकी ५ वटा पुर्जीको भुक्तानीका लागि पटक–पटक मिलमा दौडदा पनि हालसम्म पाउन नसकेको गुनासो गरेका छन्।

उखु काट्ने मजदुर तथा ढुवानी गर्ने ट्याक्टर धनीलाई कर्जा सापट लिएर दिएको र मिलले समयमा भुक्तानी नदिँदा थप आर्थिक समस्यामा परेको उनले जानकारी दिए।

उनले मिलका सञ्चालक बैजु बाबाराले किसानलाई झुक्याएर उखु दिएको र भुक्तानी नदिए आफू ऋणको चपेटामा समेत पर्न थालेको बताएका छन्।

बाबा बैजुनाथ चिनी मिल डुमरियामा उखु दिएर ४ महिनादेखि हैरान हुने किसान एकजना कुशवाहा मात्र नभई रौतहट र बाराका सयौं किसान छन्। मिलले १५ दिनमै भुक्तानी दिने प्रतिबद्धता जनाएका कारण सयौं किसानले मेहनत पसिनाले उब्जाएको उखु मिललाई उधारोमा दिएका थिए।

माघ महिनामा उखु चलान गरेर भुक्तानीका लागि कैयौं किसान दैनिक कटहरिया डुमरियामा रहेको बाबा बैजुनाथ चिनी मिलमा दौडिरहेका पीडित किसानहरूले गुनासो गरेका छन्।

बाबा बैजुनाथ चिनी मिल डुमरियाका जेनरल म्यानेजर सियाराम साहले माघ महिनासम्म चलेको उखुको भुक्तानी प्रक्रिया सुरु रहेको तथा त्यसपछि उखुको भुक्तानी केही दिनभित्रै सुरु हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.