|

पर्वत : ‘जनगणनाको बेलामा म गणकको रूपमा खटिएकी थिएँ। त्यो बेलामा अपांगता भएका बालबालिकाहरूको शैक्षिक अवस्थाको बारेमा जानकारी संकलन गर्दा धेरैले औपचारिक वा अनौपचारिक शिक्षामा नजोडिएको बताएका थिए’, जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाकी विपना सापकोटा भन्छिन्, ‘मलाई लाग्छ केही प्रतिनिधि पात्रले शिक्षा पाएका होलान्। सुविधा लिएका होलान्। तर गाउँमा बेखबर भएर बसिरहेकाहरूको समस्या जस्ताको तस्तै छ।’

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले प्रत्येक वर्ष मनाउँदै आएको विश्वव्यापी कार्य सप्ताह अन्तर्गत ‘अपांगता भएका बालबालिकाहरूको शिक्षा, नीतिगत व्यवस्था र लगानी’ विषयक छलफल कार्यक्रममा बोलेका वक्ताहरूले सापकोटाले जस्तै अपांगता भएका बालबालिकाहरूको शिक्षाका विषयमा चिन्ता व्यक्त गरे। राज्यले नीतिगत रूपमा धेरै सम्बोधन गरेको भए पनि सम्बोधनको व्यवहारिक कार्यान्वयन नहुँदा भोग्नुपरेका समस्याको बारेमा उनीहरूले सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका शिक्षक हरिदत्त शर्माले प्रविधिको प्रयोगबाट अध्ययन गर्ने समयमा ब्रेल लिपिका पुस्तक र अन्य पाठ्यसामग्रीहरू उपलब्ध हुन नसक्नु दुःखद भएको बताए।

राज्यले उपलब्ध गराउने शैक्षिक सामग्रीहरू समयमा नै उपलब्ध नहुँदा व्यक्तिगत महँगो मूल्य तिरेर विद्यार्थीले सामग्री खरिद गर्नुपरेको उनको गुनासो छ। ‘अब त ब्रेलका कुरा पनि फरक भइसके। दृष्टिविहीन वा अन्य कुनै पनि प्रकारका अपांगता भएका बालबालिकाहरूको अध्ययनमा प्रविधि अत्यावश्यक भएको छ’, शर्मा भन्छन्, ‘प्रविधिका त कुरै नगरौँ, यहाँ ब्रेलमा लेखिएका पुस्तक नै पाइँदैन। ब्रेलमा लेख्नका लागि पेपर पनि नपाएर बिद्यार्थीहरू अलमलमा हुने गरेका छन्।’

अन्तरक्रियामा सहभागी शिक्षा प्रेमी पृथ्वीनारायण शर्माले व्यक्तिमा सकारात्मक सोचको विकास हुनुपर्ने  बताउँदै राज्यको नीतिमा नै समस्या रहेको बताए। राज्यले बनाउने नीति अनि नीतिमा टेकेर बनाइने पाठ्यक्रममा नै समस्या रहँदा अपांगता भएका बालबालिकाहरूमा परिवर्तन ल्याउन नसकिएको उनको भनाई छ। राज्यले निभाउनुपर्ने सबै भूमिकाहरू पूरा गर्न सकेमा अपांगता भएका बालबालिकाहरूमा रहेको शक्ति बाहिर ल्याउन सम्भव हुने उनको भनाइ छ।

‘स्टेफन हकीङग्सले नबोलेरै अबको दुई सय वर्षमा पनि खोजेर नसकिने विषय दिएर जानुभएको छ। एक जना साहित्यकारले ओठमा लागेका चोटका कारण आधा किताब ओठबाट उच्चारण हुने अक्षरको प्रयोगबिनै लेखेर सक्नुभएको छ’, उनले भने, ‘हामी सपाङ्गता भएकाहरूमा धेरै ज्ञान छ। तर भएको ज्ञान पनि प्रयोग नगरेर हामी सबैभन्दा मूर्ख बनिरहेका छौँ। यतिसम्म की अपांगता भएका व्यक्तिलाई मानवीय व्यवहारअनुसार सद्भावपूर्ण वातावरण र व्यवहार पनि दिन सकेका छैनौँ।’

एनसीई पर्वतका सदस्य तथा अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आएका जगन्नाथ शर्माले नेपालको संविधानदेखि ऐन र कानुनमा पनि अपांगता भएका बालबालिका वा व्यक्तिहरूका लागि राम्रो व्यवस्था रहेको भए पनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको बताउँछन्। संविधानको मौलिक हक अन्तर्गत सामाजिक सुरक्षाको हक, समानताको हक, शिक्षा सम्बन्धी हक, बालबालिकाको हक लगायतले अपांगता भएका बालबालिकाहरूलाई सम्बोधन गरेको भए पनि व्यवहारिक रूपमा यो प्रयोगमा नरहेको उनको भनाई छ। अपांगतामैत्री पाठ्यपुस्तक समेत समयमा नपाइएको अवस्थामा अपांगतामैत्री भौतिक संरचनाको कुरा कटिन रहेको शर्मा बताउँछन्। आधुनिक भौतिक संरचनालाई अपांगतामैत्री बनाउने प्रयास भइरहेको भए पनि पुराना संरचनाका कारण समस्या भएको उनको भनाइ छ।

सामाजिक रूपमा सक्रिय रहँदै आएकी कविता विकले सडकमा गाउँदै हिँडेर पेट पालिरहेकाहरूको अवस्थाका बारेमा नसोच्नु गलत भएको बताइन्। उनीहरूभित्र रहेको केही न केही सीप वा केही न केही कलालाई पहिचान गरेर प्रयोगमा नल्याउँदै कोही घस्रिएर पैसा माग्दै हिँडिरहेको त कोही चोक चोकमा गीत गाएर बाँच्नका लागि सङ्घर्ष गरिरहेको उनको भनाइ छ। 

राज्यले नीतिगत निर्णयलाई पूर्ण कार्यान्वयनमा ल्याउँदासाथ अपांगता भएका बालबालिकाहरूको मूलप्रबाहीकरणमा आउने कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल बताउँछिन्। नेपालका नीतिगत व्यवस्था अरूका लागि उदाहरणीय रहेको भए पनि प्रयोगात्मक नबन्दा अपांगता भएका सहित अन्य समूहका नागरिकले पनि समस्या भोगिरहेको उनको भनाइ छ। 

शिक्षाका लागि राष्ट्रिय अभियानले बताए अनुसार सान २०२०-२१ को मा कुल भर्ना दर ९६.३ प्रतिशत रहेको थियो। भर्ना हुन बाँकी रहेका विद्यार्थीहरू ३.७ प्रतिशत रहेका थिए। भर्ना हुन बाँकी रहेका अधिकांश भने  अपांगता भएका, आर्थिकरुपले अति नै विपन्न तथा श्रम शोषणमा रहेका बालबालिका रहेका भनिएको छ। ती बालबालिकालाई शिक्षा प्रदान गर्न उनीहरूको घरमै पुग्नुपर्ने वा उनीहरूलाई विद्यालयसम्म ल्याउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने एनसिईको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.