|

काठमाडौं : आफूले गर्न लागेको काममा काठमाडौं महानगरका मेयर बालेन्द्र साहले हस्तक्षेप गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आरोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले आफू भित्रभित्रै गर्न लागेको काममा मेयर साहले हस्तक्षेप गरेको बताएका छन्। मन्त्री बस्नेतले भने‚ ‘मन्त्रालयमा आएदेखि मैले भित्रभित्र स्वास्थ्य संस्थाहरूले १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण अस्पतालमा छ कि छैन भनेर अनुगमन गर्ने योजना बनाएको थिएँ। त्याको लागि मैले अनुगमनमा बालेनलाई पनि बोलाएको थिएँ‚ आउनुभएन तर उहाँ मसँग भेटेर बाहिर निस्किएपछि सामाजिक सञ्जालमा हल्ला गर्नुभएछ’‚ मन्त्री बस्नेतले भने।

मंगलबार मेयर बालेनले विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण नबुझाउने अस्पताललाई कारबाही गर्न स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गरेका थिए। त्यस क्रममा उनले महानगरलाई १० प्रशित विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएका थिए।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार नगरेको भन्दै उनले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर कानुन बमोजिम नगरेको भन्दै ती संस्थाको नाम दिँदै ७ दिनभित्र कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन्।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने व्यवस्थाअनुसार गर्न परिपत्र गरेको छ।

सरकारले २०७३ पुस १ गतेबाट सबै निजी अस्पतालमा गरिब, अपाङ्ग, एकल महिला, असहाय, ज्येष्ठ नागरिक, विपन्नका लागि १० प्रतिशत छुट दिने भन्दै अनिवार्य रूपमा कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो। निःशुल्क उपलब्ध गराउने सेवामा चिकित्सक परामर्श सेवा, नर्सिङ सेवा, अक्सिजन, सबै प्रकारका डाइग्नोष्टिक सेवा (रेडियोलोजी सेवा, प्याथोलोजी सेवा) सबै प्रकारको शय्या सेवा अस्पतालको निर्णयानुसार दिन सकिने अन्य थप सेवा रहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.