काठमाडौं : गरिब तथा विपन्न परिवारमा जन्मेका रामजी राम अन्ततः डाक्टर भएका छन्। गत वर्ष एमबिबिएस उत्तीर्ण गरेका रामजी रामले मेडिकल काउन्सिलले शुक्रबार लिएको चिकित्सक लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि उनी अब आधिकारिक रुपमा बिरामी हेर्न पाउने डाक्टर भएका हुन्।
चिकित्सक लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि रामजी रामले सामाजिक सञ्जालबाट आफूलाई चिकित्सक बन्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
'आज नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास भएँ। विभिन्न व्यक्तिहरूको अनुरोधमा परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउनु हुने सम्पूर्ण दाताहरू, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरुहरू, बिरामीहरू, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु। आज देखि आधिकारिक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरूको अभ्यास गर्न पाउने अनुमति पाएँ। अब मेरा बिरामीका दु:खहरूले लिने परीक्षाहरूमा पास हुन पाउँ!', उनले सामाजिक सञ्जालमा लेखेका छन्।
रौतहटको अतिविपन्न परिवारमा जन्मेका रामजी रामले २०७२ सालमा नेशनल मेडिकल कलेजमा छात्रवृत्तिमा एमबीबीएस अध्ययन सुरु गरेका थिए। तर अध्ययनका क्रममा कलेज प्रशासनले अन्तिम वर्षको परीक्षाका समयमा कलेजले ७ लाख ५० हजार १३१ रूपैयाँ अतिरिक्त शुल्क मागेको थियो। पछि पैसा नतिरेको भन्दै उनलाई परीक्षामा सहभागी समेत हुन दिएको थिएन।
तर चिकित्सा शिक्षा आयोग र चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए पनि नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै निकालिदिएको थियो। त्यस पछि उनलाई त्यसपछि उनलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।