|

मुस्ताङ : जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो। 

जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो। अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले बताए।

“भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक आउनै नमान्ने र आएपछि छिट्टै सरुवा भएर अन्यत्र जाने समस्याले सेवा प्रभावित भएको छ,” उनले भने, “शल्यक्रिया सेवाको निरन्तरताका लागि जनशक्तिको स्थिरता आवश्यक छ।” 

स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सुरु गरेको मुस्ताङ अस्पतालले गत वर्ष छ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो। यसैगरी बिग्रिएको उपकरण मर्मत नहुँदा २५ शय्या क्षमताको मुस्ताङ अस्पतालको भिडियो एक्स–रे सेवा पनि बन्द भएको छ। 

जनशक्ति र पूर्वाधार भने १५ शय्या बराबरको रहेको छ। मुुस्ताङ अस्पतालमा नवौँ तहका एकजना चिकित्सकको नेतृत्वमा विभिन्न तहका १८ जना जनशक्तिको दरबन्दी छ। एक चिकित्सक, एक अनमी र ६ जना कार्यालय सहयोगीको पदपूर्ति भएको छैन। 

जनशक्ति अभावमा प्रयोगशाला, भिडियो एक्स–रे, आकस्मिक, फार्मेसी सेवा प्रभावित बनेको छ। सूचना अधिकारी बस्नेतका अनुसार सबै सेवालाई नियमित सञ्चालन गर्न न्यूनतम २० जना जनशक्ति आवश्यक छ। 

चिकित्सक र अन्य जनशक्ति जति सक्दो छिटो पठाउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा अनुुरोध गरिएको जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुख माया गुुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.