काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले लेखेको अर्को पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ।
डा ओममूर्तिले शुक्रबार उक्त पुस्तक सार्वजनिक गरेका हुन्। २०८० असोज ५ गते शुक्रबारबाट बजारमा आउने पुस्तकको आजैदेखि अनलाइन बुकिङ खुला गरिएको उनले जनाएका छन्।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमा पुस्तक लेखिएको लेखक डा ओममूर्तिले जनाएका छन्।
'जीवनमा सम्बन्धको अर्थ कति हुन्छ भन्ने विषयलाई मैले पुस्तकमा समावेश गरेको छु। खासमा जब मैले मेरो बुवालाई गुमाए त्यसपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने बुझ्ने मौका पाएको थिएँ। मेरा यस्तै अनुभवहरुलाई पुस्तकमा उतार्ने प्रयास गरेको छु‚' लेखक डा ओममूर्तिले भने।
मुटुरोग विशेषज्ञका रुपमा धेरै बिरामीको मुटु छामेका ओममूर्तिले उपचारका क्रममा मुटुमात्र नभएर मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका मिल्ने हुँदा उनीहरुलाई सही सल्लाह र सुझाव दिन पनि डाक्टरकाे भूमिका महत्वपूर्ण हुने समेत बताए। उनले चिकित्सक भएर मात्रै नभएर समाजको एक जना व्यक्ति भएर यो पुस्तक लेखेको पनि बताए।
उनले एक जना व्यक्तिले आफ्नो घरमा श्रीमती वा श्रीमानलाई समेत भन्न नसकेका कुरा डाक्टरलाई भन्ने गरेको अनुभव सुनाउँदै यस्ता प्रत्यक्ष रुपमा व्यक्ति र परिवारसँग जोडिएका समस्याबाट बाहिर ल्याउन आफूले पुस्तकमा धेरै यस्ता समाधानसहितका विषयलाई पुस्तकमा उल्लेख गरेको बताए।
कुनै व्यक्तिलाई दीर्घरोग लागेको छ एक वर्ष बाँच्न सक्छ भने खुशीसाथ बिताउन सक्ने विषय पुस्तकमा उल्लेख गरिएको छ। उनले कोही व्यक्ति ८० वर्ष बाँचेर पनि खुशी भएर बाँच्न नसकेको बताए। किताबमा म सबै हुँ- कसैको श्रीमान्, कसैको बाबा, कसैको छोरा हो भन्ने सन्देश दिइएको छ।
उनले कति बिरामीको ज्यान जोगाए तर आफ्नै पितालाई बचाउन नसकेकोमा भावुक हुँदै वास्तविक जीवन के हो आफूले बुझेको बताए। जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्ध परिचालन गर्न सक्नुपर्ने उनको भनाइ छ। मानिस बेचैन भएर किन मर्छ, जति बूढो हुन्छ त्यति बाँच्न मन लाग्छ, किनकि जीवनमा केही गर्न सकेको हुँदैन भन्ने उनको भनाइ छ।
पुस्तकको मूल्य एक हजार तोकिएको छ तर कभरबिना पुस्तक किन्न चाहनेहरुले ६०० रुपैयाँमा समेत पुस्तक किनेर पढ्न सकिने जनाइएको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा ओम फाउन्डेशनमार्फत् खर्च गरिने लेखक डा ओममूर्तिले जानकारी दिए।
डा ओम फाउन्डेसनले प्रकाशन गरेको पुस्तक दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमा अर्डर गर्न सकिनेछ।
यसअघि डा मूर्तिको पनि 'म पनि डाक्टर' पुस्तक प्रकाशित भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।