के गर्दै छ सरकार ?
के गर्दै छ सरकार ?
काठमाडौँ : जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ।
अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन्। कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ। भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो।
माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली काठमाडौँ उपत्यकामा ल्याउनका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे काठमाडौँ प्रसारण लाइन निर्माणमा पनि त्यस्तै समस्या छ।
प्रसारण लाइनको मार्गक्षेत्रमा पर्ने जग्गाको मुआब्जाका विषयमा सबैभन्दा बढी समस्या पर्ने गरेको छ।
यस्तै प्रसारण लाइनको टावर रहने जग्गामा पनि उत्तिकै समस्या छ। जताततै समस्यामा मात्रै फसेको प्रसारण आयोजनाका लागि सरकारले अब दीर्घकालीन हिसाबले निर्णय गर्ने तयारी गरेको छ।
उत्पादनलाई मात्रै जोड दिएर नहुने र प्रसारण लाइन निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखिएको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव संयोजकत्वको कार्यदलले तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’ मा प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधानको प्रस्ताव गरिएको छ।
नदी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने र त्यसैमार्फत हब स्टेसन निर्माण गरी प्रसारण गर्नुपर्ने सो कार्यदलको सुझाव छ। प्रतिवेदन आइतबार मात्रै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाइएको छ।
नदी किनारहरुमा माकुराका जाला जस्ता प्रसारण लाइन बनाउने कामलाई रोकेर उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने र एकपटक मात्रै आयोजना प्रभावितको माग सम्बोधन गर्ने गरी तयारी गरिएको छ।
आयोजना प्रभावितले आफ्नो् जमिनको भोगाधिकार समेत नपाउने, बैंक तथा वित्तीय संस्थाले प्रसारण लाइन मुनीका जग्गा धितोमा समेत नराख्ने भएपछि धेरै स्थानमा समस्या देखिएको छ। कतिपय त जग्गा भएर पनि सुकुम्बासी नै बन्नुपर्ने अवस्था सिर्जना भएको छ।
प्रसारण लाइनका लागि एउटा टावर निर्माण गर्नु एउटा आयोजना निर्माण गर्नु जस्तो हुने अवस्था बनेको छ। वातावरणीय दृष्टिले पनि नदी करिडोरमा प्रसारण लाइनको जालो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको छ।
हब स्टेसनहरु बनाएर उच्च क्षमताका प्रसारण लाइन बनाउने, स्थानीय प्रभावितलाई राज्यका तर्फबाट शेयर दिने वा अन्य उपयुक्त विकल्पको खोजी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेत पनि सहमत देखिन्छन्।
वन क्षेत्रको जग्गा प्रयोगमा उस्तै समस्या छ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीमा नै समस्या देखिएको छ। त्यसलाई वस्तुनिष्ठ बनाउने सरकारको योजना छ।
हचुवाका भरमा त्यस्ता प्रतिवेदन बनाउने गरिएको भन्दै आयोजना प्रभावितले सरकारी प्रस्ताव समेत अस्वीकार गर्ने गरेका छन्। काठमाडौँको नाङ्लेभारेको बोजिनीमा स्थानीयले सवस्टेशन निर्माणमा गरेको अवरोध त्यसैको अर्को उदाहरण हो।
मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि आवश्यक तयारी गर्न समेत मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।