|

काठमाडौं : एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरूलाई बिदाइ गरेका हुन्। नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए। उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए। 
उनले भने, ‘राम्रो अभ्यास गरेका छौँ। हामी सबैको लक्ष्य मेडल जित्ने छ। त्यसको लागि सम्पूर्ण खेलाडीहरू रेडि छौँ। आउने दिनमा एकदमै राम्रो गर्नेछौँ।’

खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरू लाग्ने बताए। उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए। उनले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए।

अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै जितको शुभकामना दिए। 

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए। उनले कुनै पनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए। देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने बताए। उनले अहिलेको नेपालको लक्ष्य मेडल जित्ने रहेको बताए। 

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.