काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तरराष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको बताएका छन्।
शान्ति प्रक्रिया सुरु गर्दा साथ दिएका अन्तरराष्ट्रिय जगतले सम्बन्धित बाँकी कामलाई अन्तिम किनारा लगाउन पनि साथ दिनुपर्ने बताएका हुन्। चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यो विषयलाई आफूले संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाएको जानकारी दिए।
अब सत्य निरुपण र बेपत्तासँग सम्बन्धित केही कुरा मात्र बाँकी रहेको उनको दाबी छ।
प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वागत आयोजना गरेका थिए।
त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत छन सोङ‚ चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँहरू पनि सहभागी थिए। प्रधानमन्त्रीले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
एमालेद्वारा आलोचना
सत्य निरुपण तथा बेपत्तासम्बन्धी आयोगको म्याद पटक पटक थपेको सरकारले यो विषय टुंग्याउन पहल नगरेको भन्दै आलोचना हुने गरेको छ। आफू विरोधले नै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले विदेशी सहयोग मागेको प्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ।
प्रचण्ड अमेरिका हिँडेपछि थाहाखबरले सोधेको प्रश्नमा एमाले नेतासमेत रहेका परराष्ट्र मामिलाका जानकार राजन भट्टराईले यो विषयमा आपत्ति प्रकट गरेका थिए। यो विषय नेपाल आफैँले टुंग्याउनुपर्नेमा एमालेको जोड छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।