|

काठमाडौं : सर्लाहीको मलंगवामा चार दिनपछि दिउँसोको समयमा कर्फ्यु हटेको छ। मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपछि प्रशासनले लगाएको कर्फ्युको समय चार दिनपछि छोट्याइएको हो।

आजदेखि दिनको कर्फ्यु हटाएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

उनकै नेतृत्वमा आज बसेको समन्वय सहजीकरण बैठकले मलंगवामा लगाइएको कर्फ्युको समय घटाएको हो। अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको यादवले बताए। 

दिनको समयमा कर्फ्यु आदेश निष्कृय गरिएको भएता पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ।

सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। 

असोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएपछिको अवस्थालाई मध्यनजगर गर्दै प्रशासनले सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.