काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव भएको बताउँदै सिला खोजे जस्तै स्वास्थ्यकर्मी खोज्नुपर्ने अवस्था आउने बताएका छन्।
एकजना स्वास्थ्यकर्मीले चारजना बराबरको काम गर्नुपरेको बताउँदै त्यसरी सधैं सम्भव नहुने पनि उनले स्पष्ट पारेका छन्।
मन्त्री बस्नेतले दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताएका हुन्। उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए।
मन्त्री बस्नेतले भने, ‘यही दरबन्दी रहिरहे समस्या समाधान गर्न सक्दैनौं। स्वास्थ्यकर्मीहरू निकै कम उत्पादन भयो। यही अवस्था रहे सिला खोजेझैँ खोज्नुपर्ने हुन्छ।’
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानून ल्याए पनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाइ छ। उनले स्वास्थ्यकर्मीहरूको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए। शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताए।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए।
मन्त्रीले अहिले चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियामा रहेको बताए। देशमा अहिलेकै अवस्थामा २९ हजार नर्स चाहिएको र त्यो नपुगेको उनले बताए। अहिले स्थानीय तहमा पनि स्वास्थ्यकर्मी चाहिएको पनि खुलासा गरे।
उनले भने, ‘दरबन्दी बढाउन सकिएन भने एउटा डाक्टरले चारजना बराबरको काम गर्न सक्दैन। शान्ति सुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्ने हामी सबैको दायित्व हो।’
पैसा नभएको कारणले कोही व्यक्ति मर्नु नपर्ने पनि उनले बताए। मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरिकाले व्यवस्थापन मिलाइएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।