|

काठमाडौँ : केही दिन यता काठमाडौँमा आँखामा लाग्ने ‘शापु’ (मौसमी इन्डोफ्थालमिटिस्)का बिरामी बढ्दै  गएको पाइएको छ।
भदौको तेस्रो हप्तादेखि यो रोगबाट संक्रमित बिरामीहरू बढ्दै गएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार अहिलेसम्म १६ जना बालबालिकाहरू तथा १० जना वयष्क संक्रमित भएर उपचारार्थ छन्। 

प्राय बालबालिकामा लाग्ने शापु डरलाग्दो हो। यो किटाणु कुन माध्यमबाट आँखाभित्र संक्रमण हुन्छ भन्ने कुराको यकिन नभए तापनि रातको समयमा बत्तीमा आउने एक किसिमको सेतो पुतली (मथ) बाट संक्रमण हुने पुष्टि भएको छ।

चिकित्सकका अनुसार एक वर्षको अन्तरमा देखिने शापु संक्रमण प्रायजसो भदौदेखि मंसिर महिनासम्म महामारीका रूपमा देखा पर्ने गरेको छ। यस वर्ष भदौको तेस्रो सातादेखि अहिलेसम्म १६ जना बालबालिका तथा १० जना वयष्क संक्रमित भई उपचारका क्रममा रहेका प्रतिष्ठानले जनाएको छ। 

प्रतिष्ठानकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार अहिले लगभग ४० प्रतिशतको आँखामा किटाणुको संक्रमण पाइएको छ।

उनी भन्छिन्–‘शापु संक्रमण भएको आँखाको भित्री भागहरूमा पाक्ने तथा आँखाभित्र पीप भरिन्छ। यो रोगको निदान छिटोभन्दा छिटो भई शल्यक्रिया गरिएमा आँखाको ज्योति पूर्ण अथवा आंशिक रूपमा फर्किन्छ। तर निदान तथा उपचार ढिलो भएमा ज्योति गुम्नुका साथै आँखा नै सुकेर जान सक्छ।’

यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टा भित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्यांकले पुष्टि गरेको छ। आँखामा शापु संक्रमणको लक्षण देखिए छिटोभन्दा छिटो आँखा उपचार केन्द्रमा जान र आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी प्रयोग नगर्न डा. मानन्धरले आग्रह गरेकी छिन्। 

शाँपु बनाउने  किटाणुले कुन माध्यमबाट आँखाभित्र संक्रमण गर्छ भन्ने कुराको यकिन छैन । बत्तीमा आउने एक किसिमको सेतो पुतली  जोखिम कारकतत्व मानिन्छ। 

त्यसैले यस्ता पुतलीको सम्पर्कबाट बालबालिकालाई टाढा राख्ने, घर वरिपरि सेतो बत्तीको प्रयोग कम गर्ने, साँझ र राति झ्याल ढोका बन्द  गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर भित्र मात्र सुत्नुपर्दछ।

यदि कुनै लक्षणहरू तपाईंका बालबालिका अथवा तपाईं आफैँमा पनि देखिए छिटोभन्दा छिटो नजिकैको आँखा उपचार केन्द्रमा जानुपर्ने तर आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी राख्नन नहुने डा मानन्धरले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.