|

काठमाडौं : जापान पठाइदिने भनेर ४६ लाख रुपैयाँ ठगेर बेपत्ता भएका मेनपावर सञ्चालक पक्राउ परेका छन्। काठमाडौं धुम्बाराहीस्थित जेन्युन प्यालेसमेन्ट प्रा लि मेनपावरका सञ्चालक मोरङ लेटाङका ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्।

उनले १२ जनालाई ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार खतिवडाले रोजगारीका लागि जापान जान प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सनको काममा लगाइदिने प्रलोभनमा पारेका थिए।

उक्त कामबाट मासिक १ लाख ८० हजार रुपैयाँ तलब हुने विश्वासमा पारी १२ जनाबाट पटकपटक गरी ४६ लाख रकम लिइ खतिवडा सम्पर्कविहीन भएका थिए।

उनीबाट पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि विभागको अनुरोधमा प्रहरीले खतिवडालाई कोटेश्वरबाट पक्राउ गरेको हो। शुक्रबार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले बताए।

पछिल्लो समय वैदेशिक रोजगारीमा पठाइदिने क्रममा ठगीका घटना बढ्दै गएको छ। वैदेशिक रोजगार विभागमा दर्ता भएका कम्पनी वा संस्थाबाट पीडित भएकाले विभागमै उजुरी दिन सकिन्छ भने कुनै व्यक्ति वा दर्ता नभएका कम्पनीबाट ठगीमा परे प्रहरीमा उजुरी दिन सक्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.