पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रत्यक्ष भेटेर जेष्ठ नागरिकका समस्या बुझेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तानसेन नगरपालिका–१ भुसलडाँडास्थित निलसागर मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिकसँग प्रत्यक्ष भेटेर समस्या बुझेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले बताए।
जेष्ठ नागरिक दिवसको अवसरमा उनीहरूलाई भेटेर समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने अभियान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए।
‘जेष्ठ नागरिक अहिले घरमा एक्लै छन् । बेसहारा बनेर आश्रममा बस्न बाध्य छन्’, उनले भने, ‘जेष्ठ नागरिकप्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार हो। उनीहरूलाई साथ दिनु परिवार, समाज र सरोकारवाला निकायको दायित्व हो।’
तानसेन बजारमा एक्लै हिँडिरहेका जेष्ठ नागरिककको समस्या पहिचान गरी समाधान गर्ने प्रयास गरेको भट्टले सुनाए। उनीहरूलाई प्रहरीले खाद्य सामग्री र फलफूलसमेत वितरण गरेको छ।
सार्वजनिक यातायातमा जेष्ठ नागरिकले पाउने आरक्षित सिट र भाडामा पाउने छुटका बारेमा समेत अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले बताए।
सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ, दोभान लगायतका ठाउँमा सवारीसाधन चेक गरिएको थियो। ‘सिट सुरक्षित नभएको देखियो। भाडा पनि छुट दिएका रहेनछन्’, उनले भने, ‘लागू गर्न कडा निर्देशन दिएका छौँ। हामी यसको निरन्तर अनुगमन गरेर प्रभाकारी कार्यान्वयनका लागि कडाइ गर्ने छौँ।’
जेष्ठ नागरिक दिवस मात्रै नभई यो कार्यलाई निरन्तरता दिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक शर्माले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।